PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सुजीव शाक्यको नेपाली अर्थतन्त्र बुझाउने ‘अर्थात् अर्थतन्त्र’



पहिलोपोस्ट

सुजीव शाक्यको नेपाली अर्थतन्त्र बुझाउने ‘अर्थात् अर्थतन्त्र’

काठमाडौं: नेपाली अर्थतन्त्रका विश्लेषण गर्दै सुजीव शाक्यले लेखेको किताब ‘अर्थात् अर्थतन्त्र’ तयार भएको छ। नेपाल एकिकरणदेखि अहिलेसम्मको देशको अर्थशास्त्रको कुरा पुस्तकमा समेटिएको छ।

जतिबेला नेपालमा पृथ्वीनारायण शाहको उदय भएको थियो त्यतिबेलै विश्वले आदमस्मिथ जस्ता अर्थशास्त्री पनि जन्माएको थियो। दुवैले राष्ट्रको धनप्रति रुची राखे। यी दुइले के कस्ता बाटो समाते, त्यसबाट विश्व अर्थतन्त्र कता गयो, अनि नेपालमा इलम र उद्यमको यात्राले के कस्तो मार्ग समात्यो भन्ने तथ्यहरुको उल्लेख र विश्लेषणबाटै शाक्यको यो पुस्तक सुरु हुने प्रकाशक नेपालयले जनाएको छ। 'त्यसपछि उनले विस्तारमा नेपाली अर्थतन्त्रका फराकिला फाँटहरुको विवेचना गरेका छन्।'

शाक्य अर्थ मामिलाका लेखक तथा टिप्पणीकार हुन्। वैचारिक अभ्यास गर्ने निजी क्षेत्रको एउटा प्रमुख संस्था ‘नेपाल आर्थिक मञ्च’ का उनी अध्यक्ष हुन्। शाक्यले यसअघि अंग्रेजीमा ‘अनलिशिंग नेपाल’ लेखेका थिए। उनको त्यस पुस्तकलाई अन्तर्राष्ट्रिय प्रकाशनगृह पेन्गुइनले छापेको थियो।

शाक्यले मैना धितालसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् ।

हाम्रा वरपरकै समसामयिक विषयहरुलाई उभ्याएर आफ्ना कुराहरु राख्ने शैलीका कारण पुस्तक रोचक छ। जस्तो कि एक ठाउँमा शाक्य भन्छन्, ‘मापसे जस्तै अब मुलुकलाई अर्को अभियान चाहिएको छ– कृजपसे। अर्थात्, कृषि, जलविद्युत, पर्यटन र सेवा।’ 

आख्यान, गैरआख्यान र दैनिक उपयोगीताका विविध विधामा उभिएका पुस्तकहरु पाठकसामु प्रस्तुत गर्दैआएको पब्लिकेशन्स नेपालयले आर्थिक मामलामा पहिलोपटक यस पुस्तकलाई पाठक समक्ष ल्याउनलागेको हो ।

‘सुजीव शाक्य मुलुककै परिचित आर्थिक विश्लेषक हुन्,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘नेपाली अर्थतन्त्रलाई सबैले बुझ्ने भाषामा परिभाषित गरेको यो पुस्तक पाठकका निम्ति रोचक र ज्ञानवर्धक हुने विश्वास लिएका छौं।’

मास्केका अनुसार पुस्तक यसै बैशाख २९ गते औपचारिक रुपमा सार्वजनिक हुनेछ। पुस्तकको मूल्य ४७५ रुपैयाँ राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell