PahiloPost

May 25, 2018 | ११ जेठ २०७५

३३ किलो सुन प्रकरण : प्रहरीदेखि र तस्करसम्म समातिँदा भन्सार र अध्यागमनका कर्मचारी चाहिँ चोखै?


सविन ढकाल/पहिलोपोस्ट

३३ किलो सुन प्रकरण : प्रहरीदेखि र तस्करसम्म समातिँदा भन्सार र अध्यागमनका कर्मचारी चाहिँ चोखै?
फाइल फोटो
काठमाडौं : २०७३ पुस २१ गते अवैध रूपमा विमानस्थल हुँदै ३३ केजी सुन भित्रियो। विमानस्थलबाट सुन निकाल्न सहयोग गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीलाई पक्राउ पनि गरियो।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले विमानस्थलका भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरी अनुसन्धान थालेको थियो। त्यतिखेर गठित छानबिन समितिले भन्सारमा कार्यरत २९ कर्मचारीलाई समेत हटाएको थियो।

गत माघ ९ गते विमानस्थल हुँदै भित्रिएको तर बीच बाटोमा गायव ३३ केजी सुनमा भन्सार जोडिने विषय थिएन, तर अध्यागमन पनि चोखो नै ठहरियो। गाडी चालकदेखि प्रहरीको उच्चतहका अधिकृत समेत तस्करीमा सहयोगी भएको खुलासा हुँदा भन्सार र अध्यागमनका कर्मचारी भने परेनन्। धेरैको प्रश्न: यति ठूलो परिमाणमा सुन तस्करी हुँदा आखिर ‘गोरे’ले भन्सार र अध्यागमनका कर्मचारीलाई चाहिँ सेटिङ मिलाएका थिएनन् त?

भन्सार कर्मचारी श्रीनाराय यादवले त्यतिखेर बयानमा भनेका थिए- ‘हाम्रो सुन साहुले माथिका हाकिमलाई ५० हजारका दरले पैसा दिएर मिलाएका छन्, डराउनु पर्दैन भनेका थिए।‘ 

त्यतिखेर सुन ल्याउने र अहिले हराएको ३३ केजी सुन प्रकरणमा जोडिएका पात्रहरु धेरैजसो जोडिएका छन्। समूह एउटै भए पनि यस पटक भन्सार र अध्यागमनका कर्मचारी भने चोखिए। या उनीहरुलाई बचाइयो? प्रश्न अनुत्तरित छ।

सुन प्रकरणमा सरकारले गठन गरेको विशेष छानविन समितिले ६३ जना विरुद्ध अदालतमा अभियोगपत्र दायर गरिसेको छ। घटनाको अनुसन्धान जारी नै छ। 

छानविन समितिका संयोजक ईश्वरीराज पौडेल गोरेको कनेक्सन भन्सार कर्मचारीसँग नदेखिएको बताउँछन्। उनले भन्सार लक्षित अनुसन्धान गरिए पनि प्रमाण नभेटिएको खुलासा गरे। पहिलोपोस्टसँगको कुराकानीमा सहसचिव पौडेलले भने, ’अहिलेसम्मको अनुसन्धानमा भन्सारका कर्मचारीको कनेक्सन ‘गोर’सँग देखिँदैन। प्रमाण नै नभई शङ्काको भरमा कसैलाई अनुसन्धानको दायरमा ल्याउन पनि मिलेन।‘ छानबिन अझै जारी भएकाले भोलिका दिनमा कनेक्सन देखिए कारबाहीको दायरमा आउने पौडेलको बताए।
 
मोरङ जिल्ला अदालतमा ३३ केजी सुन प्रकरणमा अभियुक्त रहेका ३० जनासँग बहस सकिएको छ। मंगलवारबाट थुन्छेक बहस सुरु भएको छ। ३३ केजी प्रकरणमा अभियोग लगाएका सबैको तथ्य प्रमाण भएको सहसचिव पौडेलले बताए। उनले भने, ’बयानको आधारमा मात्र होइन भरपर्दो प्रमाण भएर नै उनीहरू विरुद्ध अभियोग पत्र दर्ता गराएका हौं।‘


३३ किलो सुन प्रकरण : प्रहरीदेखि र तस्करसम्म समातिँदा भन्सार र अध्यागमनका कर्मचारी चाहिँ चोखै? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

ट्रेन्डिङ पोस्ट