PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चिनियाँ लगानीकर्तालाई नेपाल आउन प्रचण्डको आग्रह



पहिलोपोस्ट

चिनियाँ लगानीकर्तालाई नेपाल आउन प्रचण्डको आग्रह

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी बेइजिङका सेक्रेटरी लिजियाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग बुधवार बिहान आफ्नो निवास खुमलटारमा भेट गर्दै उनले भने, ‘ हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो। त्यसका लागि ‘कनेक्टिभिटी’ नै मुख्य हो। सडकको ‘कनेक्टिभिटी’, रेलको ‘कनेक्टिभिटी’ र संचारको ‘कनेक्टिभिटी’ बाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ।’

उनले पर्यटन क्षेत्रको विकासका लागि चिनियाँ जनता र सरकारका चासोबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास दिलाए। उनले भने, ‘हाम्रो आर्थिक विकासको अभियानमा तपाईँ चिनियाँ लागनीकर्ताहरुलाई हार्दिक स्वागत छ।’

उनले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग यही कनेक्टिभिटीका विषयमा छलफल गरेको स्मरण गर्दै भने, ‘म दोस्रो पटक प्रधानमन्त्री बनेपछि पनि यही विषयमा राष्ट्रपति सि जिङपिङसँग छलफल गरेको छु।’

त्यसैगरी चिनियाँ प्रतिनिधिमण्डलले प्रचण्डलाई नेपालको व्यवहारिक नेतृत्व भन्दै उच्च प्रशंसा गरेको थियो। उनीहरुले चिनियाँ जनताहरुको आकर्षक गन्तव्य नेपाल भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा चिनियाँ लगानीकर्ता लोभिएको बताएका थिए। दुई देशको आपसी सम्बन्धबाट नेपालको आर्थिक विकासमा सहयोग पुग्ने प्रतिनिधिमण्डलको नेतृत्व गरेर आएका सेक्रेटरी लिजियाङले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell