PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मोदी भ्रमण : राष्ट्रवादमा नयाँ जलप



बीपी साह

मोदी भ्रमण : राष्ट्रवादमा नयाँ जलप
फाइल फोटो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो कार्यकालमै तेस्रो पटक नेपाल भ्रमण गर्दैछन्। उनले तीन पटक भ्रमण गर्ने देशहरुमा फ्रान्स र रसिया अहिलेसम्म छ। अब नेपाल थपिँदैछ।

मोदी प्रधानमन्त्री भएपछि भ्रमण गर्ने तेस्रो मुलुक नेपाल नै थियो। तीन र चार अगस्ट २०१४ मा नेपालको पहिलो राजकीय भ्रमण गरेका मोदीले सोही वर्ष सार्क सम्मेलनमा सहभागी हुन २५ देखि २७ नोभेम्बरमा नेपाल भ्रमण गरेका थिए।

पहिलो भ्रमणका क्रममा संसदलाई सम्बोधन गर्दा मोदीले नेपाली माझ ठूलै चर्चा र अपनत्व पाएका थिए। तर, दोस्रो भ्रमण मोदीका लागि खासै उपलब्धीमूलक भएन।

तेस्रो भ्रमण भोलिदेखि सुरु हुँदैछ। 

संविधान जारी भएपछि ६ महिना लामो नाकाबन्दी मोदीकै कार्यकालमा भयो। 'तेस्रो मधेश आन्दोलन'को समर्थनमा मोदीले नाकाबन्दीमार्फत् मधेशी दललाई सहयोग गरेकोमा बाँकी समुदाय उनीप्रति रुष्ट छन्। त्यसको आक्रोस सामाजिक सञ्जालमा छरपस्ट भइरहेको छ। 

त्यही आक्रोसलाई क्यास गर्न सफल केपी ओली अहिले प्रधानमन्त्री छन्। मधेशी र मोदीलाई देखाएर विपक्षमा बलियो जमात खडा गर्न सफल ओली चुनावमा सफल हुनुका पछाडि नाकाबन्दी पनि एक हो। मधेशवादी दल र मोदीविरुद्ध ओलीले खडा गरेको ‘राष्ट्रवाद’ले ओलीलाई मधेशइतरमा बलियो बनायो। नाकाबन्दीले मधेशी दललाई नराम्ररी बदनाम पनि गर्योर।

मधेशका मुद्दा र भारत विरोधी पहिचान बनाएका ओलीको अनुहारमा पोतिएको 'राष्ट्रवाद'को लेप पखालिँदै गएको छ। भारतविरोधी छवि एकाएक मोदीप्रति मोहित बनेको छ। 
 
भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल भ्रमणको निम्तो गरेर होस् या पहिलो विदेश यात्रा भारतबाटै थालेर, ओलीले आफू भारतविरोधी नरहेको देखाउन भरमग्दुर प्रयास गरे। यतिखेर त ओलीको गेस्चर पूरै फेरिएको छ। 

भारतीय प्रधानमन्त्री मोदी तेस्रो पटक भ्रमणमा आउँदा ओलीले ठूलै खातिरदारी सुरु गरेका छन्। मोदीलाई तीन ठाउँमा नागरिक अभिनन्दन गरिँदैछ। र, मोदीबाट ठूलो सहयोगका प्याकेजको अपेक्षा गरेका छन् ओलीले।

यसअघिका दुईवटै भ्रमणका क्रममा मोदीले जनकपुरधाम जाने इच्छा जनाएका थिए। तर, सुरक्षाको अड्चन देखाइँदै जनकपुर यात्रा हुन सकेन।

मोदीको जनकपुर जाने इच्छालाई ओली सरकारले पूरा गरिदिएको छ। ओलीको अस्त्र कमजोर छैन अझै पनि।

मोदीलाई मुख्य द्वारबाट नभइ झ्यालबाट नेपाल ल्याउनु ओलीको कुटिल राजनीतिक सोचको परिणाम हो। हालसम्म प्रधानमन्त्रीस्तरका कुनै पनि विशिष्ट व्यक्ति मुख्य मार्ग नभई सहायक मार्गबाट नेपाल पसेको इतिहास छैन। 

संविधान निर्माणको प्रक्रिया सुरु भएपछि पुग्न नसकेका प्रधानमन्त्री ओली मोदी आउने भएपछि जनकपुरधाम जाँदैछन्। 

मोदीसँगै जनकपुरधाम पुग्ने ओलीले मधेशी जनताको मन जित्ने प्रयास गर्नेछन्। यो ओलीको ‘मधेश विरोधी’ छाप हटाउने अटेम्ट हुनेछ।

मधेश आन्दोलन र मधेशका एजेण्डालाई भारतसँग जोड्दै आएका ओलीले यसपटक पुनः त्यसलाई प्रमाणित गर्न खोज्दैछन्।

परराष्ट्र मन्त्रालयले मोदीलाई जनकुरधामबाट नेपाल प्रवेश गराउने तयारी गरेको छ। जसको सम्पूर्ण कार्य केन्द्र सरकारबाट भएको छ। दोष जति भने प्रदेश २ को मधेशी सरकार खेप्दैछ। 

भारतले तीनवटै मधेश आन्दोलनमा हस्ताक्षेप गरी आफू अनुकूल हुनेगरी आन्दोलन तुहाएको छ। आफ्नो राजनीतिक स्वार्थका लागि मधेश आन्दोलन र मधेशी नेतृत्वलाई रुखको टुप्पोमा पुर्यादइ फेद काट्ने गरेको छ भारतले। 

यस्तो वास्तविकतालाई छायाँमा राखेर अन्ततः मोदीलाई पुनः मधेशी निकट देखाई ओलीले आफ्नो ‘राष्ट्रवाद’को जलपलाई कायम राख्ने प्रयास गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell