PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मोदी नेपाल आएकै बेला जनकपुरलाई भारतमा गाभ्न माग



मोदी नेपाल आएकै बेला जनकपुरलाई भारतमा गाभ्न माग
मोदीसँगै कीर्ती, फाइल फोटो: jagaran.com

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर दर्शन गर्दैगर्दा भारतका एक सांसदले भने जनकपुर भारतीय भूमि भएको भन्दै फिर्ता लिन माग गरेका छन्। 

भारतको लोकसभाका सांसद कीर्ति आजादले जनकपुरधाम भारतको भन्दै फिर्ता लिन प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष माग गरेका हुन्। 

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आदरणीय नरेन्द्र मोदी जी, जनकपुरधाम मिथिलाको राजधानीमा यहाँलाई स्वागत छ, दुई सय साल पहिले अंग्रेज र नेपालका बीचमा भएको सन्धि जसले मिथिलाको भाग नेपालमा दिएको थियो समाप्त भएको छ। मिथिलाको यस भागलाई फिर्ता लिएर सीताआमाको आदर गर्दै मिथिला राज्य घोषणा होस्।’
 

उनले ट्वीटमा मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई समेत मेन्सन गरेका छन्। अहिले उनको ट्वीटलाई लिएर ट्वीटरमा नेपाली र भारतीयबीचको बहस सुरु भएको छ। भारतीयहरु जनकपुरलाई फिर्ता माग गर्न थालेका छन्। 

कीर्ति आजाद सन् २०१४ मा भारतीय जनता पार्टीका तर्फबाट विहारको दरभंगाबाट लोकसभा सदस्यमा निर्वाचित भएका थिए। यसअघि उनी दिल्लीबाट विधानसभा सदस्य समेत रहेका थिए। 

पूर्व क्रिकेटर समेत रहेका उनी विहारका पूर्वमुख्यमन्त्री भागवत झा आजादका छोरा हुन्। उनलाई भारतीय जनता पार्टीले २०१५ मा अरुण जेट्लीमाथि भ्रष्टाचारको अभियोग लगाएपछि निष्काशन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell