PahiloPost

Nov 14, 2018 | २८ कात्तिक २०७५


रक्षामन्त्रीसहितको टोली रनवेमा पुगेपछि विमानको ढोका बन्द, चार मिनेटसम्म झरेनन् मोदी


रक्षामन्त्रीसहितको टोली रनवेमा पुगेपछि विमानको ढोका बन्द, चार मिनेटसम्म झरेनन् मोदी

जनकपुर : जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट सैनिक हेलिकप्टरमा ल्यान्ड हुने भनिएको थियो। तर उनी एयर इन्डियाको क्षेत्रीय उडानका लागि प्रयोग हुने एटिआर विमान चढेर दिल्लीबाट सीधै जनकपुर आए। निर्धारित समयभन्दा झण्डै आधा घण्टा ढिलो उनी चढेको विमान जनकपुर विमानस्थलमा ल्यान्ड भयो। 

भारतको राजधानीबाट प्रदेश २ को राजधानीमा पहिलो पटक एउटा अन्तर्राष्ट्रिय विमान ल्यान्ड भएको थियो। 

विमान ल्यान्ड हुने बित्तिकै रनवेमै रातो कार्पेट बिछ्याइयो। त्यसलगत्तै एयर होस्टेसले यो सानो विमानको चार वटा खुड्किला भएको भर्‍याङसहितको ढोका खोल्छिन्।

त्यही भर्‍याङबाट मोदीको प्रतिनिधि मण्डलमा रहेका सादा पोशाकका सुरक्षाकर्मी र सञ्चारकर्मीहरुसमेत उत्रिन्छन्। यतिन्जेल सरकारका वरिष्ठ मन्त्री रक्षामन्त्री ईश्वर पोखरेलसहित प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश मन्त्रीहरुसहित जनकपुरका मेयर मोदीको स्वागतका लागि रनवेमा हातमा पुष्पगुच्छा बोकेर लाइन लागिसकेका हुन्छन्।  
 
भारतीय प्रतिनिधि मण्डलका सदस्यहरु विमानबाट ओर्लने क्रम सकिएपछि मोदीलाई स्वागत गर्न तम्तयार नेपाली प्रतिनिधिहरुलाई जिल्याउँदै एयरहोस्टेसले पुनः विमानको भर्‍याङसहितको ढोका बन्द गर्छिन्। 

अहिले खुल्ला छैन, भरे खुल्ला छैन। चार मिनेटभन्दा बढी समय रनवे मै लाइन लागेर रक्षामन्त्रीसहितको नेपाली टोली कुरिसकेपछि बल्ल एयरहोस्टेसले फेरि विमानको ढोकासहितको भर्‍याङ खोल्छिन्। लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नमस्ते गर्दै विमानमा देखापर्छन्। 
 
उनलाई सबैभन्दा पहिले स्वागत नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी र परराष्ट्र मन्त्रालयका अधिकारीले गर्छन्। परराष्ट्र अधिकारीले परिचय गराइसकेपछि रक्षामन्त्रीले नेपाल सरकारका तर्फबाट उनलाई स्वागत गर्छन्। दोस्रो नम्बरमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत हुन्छन्। सबैको स्वागत र पुष्पगुच्छा स्वीकार गर्दै मोदी जनकपुर विमानस्थलबाट भारतबाटै ल्याइएको बुलेटप्रूफ गाडी चढेर जानकी मन्दिर पुग्छन्। 

हेर्नुस् भिडियो
 

 



रक्षामन्त्रीसहितको टोली रनवेमा पुगेपछि विमानको ढोका बन्द, चार मिनेटसम्म झरेनन् मोदी को लागी १ प्रतिक्रिया(हरु)

Kaustuv Raj Neupane [ 2018-05-11 18:42:02 ]
I think foreign minister is Ishwor pokharel not Gyawali

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट