PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मोदीको २ दिने भ्रमणका ४ इम्प्याक्ट 



विधुर ढकाल

मोदीको २ दिने भ्रमणका ४ इम्प्याक्ट 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा दुई दिने नेपाल भ्रमण सम्पन्न गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार स्वदेश फर्किएका छन्। मोदी स्वदेश फर्किँदा फर्किँदै नेपालीमै ट्वीट गरेर फर्किए। 

‘मेरो नेपाल भ्रमण ऐतिहासिक रह्यो। यस भ्रमणले मलाई नेपाली जनतासँग आत्मीय हुने ठूलो अवसर प्रदान गर्‍यो। प्रधानमन्त्री केपी ओलीसँगको छफल धेरै फलदायी भयो,’ उनले अर्को ट्वीटमा लेखेका छन्, ‘यस भ्रमण मार्फत् भारत–नेपाल सम्बन्धमा नयाँ उर्जा थपिएको छ। म नेपाली जनता तथा नेपाल सरकारले देखाउनुभएको न्यानोपनको लागि आभार प्रकट गर्दछु।’

नाकाबन्दीपछि मोदीको विरुद्धमा नेपालमा बढेको सेन्टिमेन्टलाई मथ्थर पार्न मोदीले तेस्रो नेपाल भ्रमणमा भरमग्दुर प्रयास गरे। 
 

सत्ता गठबन्धनमा असन्तुष्टि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा अरुण तेस्रोको शिलान्यास भयो। यद्यपि, यस शिलान्यासले सत्ता गठबन्धनबीच नै असन्तुष्टि बढाएको छ। 

मोदीको नेपाल भ्रमणका क्रममा दुई देशबीच प्रधानमन्त्रीस्तरमा द्वीपक्षीय छलफल भयो। छलफलमा नेपालको तर्फबाट प्रधानमन्त्री ओलीको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालसहित नेपाल सरकारका उच्च अधिकारी सहभागी थिए। 

मोदीको नेपाल भ्रमणको मुख्य एजेन्डा उर्जा साझेदारी, अरुण तेस्रोको शिलान्यास थियो। तर, यस छलफलमा विभागीय मन्त्रालय 'उर्जा'को कमान सम्हालेका मन्त्री वर्षमान पुन नै सहभागी भएनन्। अरुण तेस्रोको स्वीकृति लगानी बोर्डले दिएपछि मन्त्री पुनले असहमति जनाउँदै आएका थिए। त्यसैको असन्तुष्टि दुई देशबीचको द्वीपक्षीय छलफलमा समेत देखियो। 

यस अगाडि नै नेकपा माओवादी केन्द्रबाट मन्त्री भएकाले प्रधानमन्त्रीको कार्यशैली प्रति असन्तुष्टि जाहेर गर्दै आएका थिए। त्यसैको झलक यहाँ पनि देखियो। 

मधेशप्रति भारतको 'इन्ट्रेस्ट' यथावत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण उनकै भाषामा भन्ने हो भने - तीर्थयात्रीका रुपमा थियो। तर, उनी तीर्थयात्री कम राजनीतिक यात्री बढी देखिए। जनकपुरबाट सुरु भएको उनको यात्रा मुस्ताङ हुँदै काठमाडौँमा टुंगियो। यसमा उनी नेपालका तीन धामहरुको दर्शन गरे। दर्शनसँगै त्यहाँ उनले राजनीतिक वक्तव्यवाजी गरे। 

जनकपुरको नागरिक अभिनन्दन कार्यक्रममा उनले प्रदेश २ लाई एक अर्बको सहयोगको घोषणा गरे। प्रदेश २ का मुख्यमन्त्रीले मोदी नेपालकै प्रधानमन्त्री भएजस्तै गरी गुनासा र मागहरु प्रस्तुत गरे। उनले संविधानलाई नै विभेदकारी भएकोसमेत भन्न पछि परेनन्

मुख्यमन्त्रीको यस भनाईले नेपालमा भारतले लगाएको नाकाबन्दी संविधान संशोधनमा भारतको अडानलाई समेत बल दियो। उनको भ्रमणले प्रदेश २ मा भारतीय चासो कायम रहेकोसमेत देखाएको छ। भारतले संविधान जारी हुँदै गर्दा गरेको नाकाबन्दी बेठीक थियो भन्ने कुनै संकेत दिएनन्। अझ उनको यस भ्रमणले भारतको पुरानै अडानलाई यथावत रहेको संकेत जनकपुरको अभिनन्दनको क्रममा दिए। 

मुख्यमन्त्रीको मागलाई सम्बोधन गर्दै उनले प्रदेश २ लाई नेपालको नभई भारतको कुनै प्रान्तको जस्तै रुपमा सहयोगको घोषणा गरे। 
त्यहाँ उनको सम्बोधन कुनै निर्वाचनमा गरिएको आमसभामा उम्मेदवारले गर्ने भाषणभन्दा अलग थिएन। सोझो अर्थमा 'मौन अवधिमा' कर्नाटकको चुनाव प्रचार नेपालको प्रदेश नम्बर २ बाट गरे। नेपाल सरकारलाई यस घोषणाबारे पूर्व जानकारी थिएन। नेपालको संविधानमा वैदेशिक सहायता र परराष्ट्र नीति संघीय सरकारले हेर्ने उल्लेख छ। त्यस्तोमा मोदीले संघीय सरकारलाई जानकारी नदिइ गरिएको घोषणाले कुटनीतिक मर्यादा उल्लंघन भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रदेश २ मा कुटनीतिक मर्यादा समेत उल्लंघन भएको बताइसकेका छन्। 


काठमाडौंमा भएको अभिनन्दनमा काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले आफ्ना विकासे योजना सुनाए।  उनले पेश गरेको अभिनन्दनपत्र हो या मागपत्र ठम्याउन मुस्किल थियो। किनकि अभिनन्दनसँगै काठमाडौंको विकासमा भारतको मुख ताक्दै सहयोगको याचना पनि गरिएको थियो।

छिमेक नीति सुधार्ने प्रयास

भारतभित्रै मोदीको छिमेक नीतिको आलोचना भइरहेको छ। उनको ‘छिमेक पहिलो’ नीतिको असफलता र नेपालमाथि लगाइएको नाकाबन्दी समेत भारतको कुटनीतिमा घातक भएको भन्दै भारतभित्रै आलोचना भइरहँदा मोदीले नेपालसँगको सम्बन्ध सुधारको प्रयास गरे। 

नेपालमा निर्वाचन सम्पन्न भएसँगै उनले नेपालमा ओली (हालका प्रधानमन्त्री)लाई दुई पटक टेलिफोन गरे। विदेशमन्त्री सुस्मा स्वराजलाई नेपाल पठाएर ओलीसँगको सम्बन्ध सुधारको प्रयास गरेका उनले ओली प्रधानमन्त्री हुनासाथ टेलिफोन गरी भारत भ्रमणको निम्तो दिए। सोही अनुरुप प्रधानमन्त्री ओली प्रधानमन्त्री भएको एक महिनाको अन्तरालमै भारत भ्रमण गरेर फर्किए। 

त्यसैको कडी स्वरुप मोदी नेपाल भ्रमणमा आएर फर्किए। उनले नेपालको राजनीतिक नेतृत्वसँग सम्बन्ध सुधारको कुनै कडी छाडेका छैनन्। यो भ्रमण पनि सम्बन्ध सुधारको एउटा कडी हो। 

चीनलाई रोक्ने कडी

दक्षिण एसियामा चीनको प्रभाव बढ्दै गएकोमा भारत चिन्तित छ। भारतीय प्रधानमन्त्री मोदी नेपालमा भारतीय प्रभुत्व कायम राख्दै चीनलाई रोक्ने प्रयासमा छन्। उनको यो भ्रमण पति त्यसैमा केन्द्रित थियो। ओलीलाई इंगेज गराइराख्ने गर्ने मोदी अस्त्र झै हो यस भ्रमण। 


यसअघि बोआओ फोरममा नेपालको सहभागितालाई रोक्न सफल भएका मोदीले प्रधानमन्त्री ओलीको चीन भ्रमण अगाडि नेपाल भ्रमण गरी आफ्नो दवदवालाई जनाइराख्न खोजेका छन्। 

उनी नेपाल आउनुअगाडि चीनसँग सम्बन्ध सुधारको प्रयास समेत गरेका छन्। चीनका लागि दक्षिण एसियामा ठूलो बजार भनेको भारत हो। यदि चीन र भारतबीच व्यापारिक साझेदारी भए नेपाल चीनका लागि समेत व्यापारिक दृष्टिमा गौण बन्ने निश्चित छ। त्यसको उदाहरण हो लिपु लेकको प्रकरण। नेपालको दार्चुलासँग जोडिएको त्रिदेशीय सीमा लिपुलेकमा भारत र चीनको इन्ट्रेस्ट मिल्दा नेपाललाई पूरै 'वाइपास' गरेका थिए। 

यसलाई बुझेका मोदीले चीनसँग सम्बन्ध सुधार गर्दै नेपाललाई इंगेज गराइरहेका छन्। उनले जाँदाजाँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः भारत भ्रमणको निम्तो दिएर फर्किएका छन्। यो अस्त्र पनि नेपाल र प्रधानमन्त्री ओलीलाई भारतकै वरिपरि घुमाइरहने रणनीति हो। 

सेन्टिमेन्ट जित्ने प्रयास

यसैबीच भारतीय प्रधानमन्त्रीले काठमाडौँ महानगरको अभिनन्दन कार्यक्रममा नेपाल र नेपालीको सेन्टिमेन्ट जित्ने प्रयास गरे। राष्ट्रिय सभा गृहमा भएको उनको सम्बोधन सन् २०१४ को नेपाल भ्रमणमा आँउदा संविधानसभामा बैठकमा गरेको सम्बोधनकै झल्को दिन्थ्यो। 
उनले भारत नेपालको विकासमा साझेदार बन्ने प्रतिवद्धता जनाए। संविधानसभामा जस्तै उनले गरेका प्रतिवद्धताहरु अझै पूरा भएका छैनन्। तर, उनले नेपालको विकासका लागि ‘शेर्पा’ बन्ने उद्घोष गरे। सगरमाथा आरोहणमा सघाउने शेर्पालाई 'मेटाफोर' बनाउँदै उनले मन जित्ने प्रयास गरेका थिए।

त्यस्तै मोदी विरुद्ध सामाजिक सञ्जालमा उर्लिएको आवाजलाई मथ्थर पार्नका लागि पनि उनले क्रिकेटको अस्त्र प्रयोग गरे। उनले नेपालको एउटा नौजवान सन्दिप लामिछाने आइपीएल खेल्न लागेको भन्दै नेपाल र भारत आईपीएलबाट समेत जोडिएको बताए। संयोग हो या रणनीति, मोदीले भाषण गरेकै साँझ सन्दीपले दिल्ली डेयरडेभिल्सबाट खेल्न पाए। उत्कृष्ट खेल देखाएका सन्दीपको तारिफममा कमेन्टेटरहरुले धेरै समय पनि खर्चेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell