PahiloPost

Sep 20, 2018 | ४ असोज २०७५

यार्सागुम्बा संकलन सुरु, विद्यालय तीन महिनाका लागि बन्द


पहिलोपोस्ट

यार्सागुम्बा संकलन सुरु, विद्यालय तीन महिनाका लागि बन्द
फाइल फोटो

  • ललित सिंह

बझाङः सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो। तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीय खुसी भएका छन्। यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनौँ विद्यालय बन्द भएका छन्।

यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताए।

उनले भने, “यो हाम्रो यार्सा टिप्ने समयमा तीन महिनासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता हुन्छ किनकी यस क्षेत्रका बासिन्दाको वर्षभरिको कमाइ भनेको तीन महिनाको यार्सागुम्बा संकलन मात्र हो।'

यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाएपछि वैशाख मसान्तसम्मका लागि यार्सा संकलनमा समितिले रोक लगाएको थियो। उक्त लगाइएको रोक आइतबारदेखि खुला भएपछि यहाँका स्थानीय बासिन्दा फेरि पोकापन्तरा बोकेर यार्सा संकलन गर्न लेकतर्फ लागेका छन्।

यस क्षेत्रमा यार्सा संकलन गर्नका लागि सुर्मा गाउँपालिकाका साथै जिल्लाभरिका स्थानीय बासिन्दा यार्सा संकलनमा गर्न जाने गर्दछन्। यहाँका ग्रामीण बस्तीका स्थानीयकै आम्दानीको मुख्य स्रोत भनेको नै हिमालमा पाउने बहुमूल्य जडीबुटी र यार्सा गुम्बा नै हो। विगतका दिनभन्दा अहिले केही कम मात्रामा यार्सागुम्बा पाइने भएपछि यहाँका स्थानीय चिन्तित भएका छन्।

स्थानीय रमेश बोहराले भने 'विगतका दिनमा एक सिजनको एकै परिवारले तीन महिनाको अवधिमा न्यूनतम एक केजीदेखि दुई/तीन केजीसम्म संकलन गर्दै आएका थियौँ र सोही यार्साकै कमाइबाट सदरमुकाम चैनपुरमा पनि घरघडेरी बनाएका थियौँ।'

विगतका दिनमा यार्सागुम्बा प्रशस्त मात्रामा पाइने भएपछि भेडापालन व्यवसाय हटाएर यार्सागुम्बाको भरमा बसेको तर अहिले एकदमै कम मात्रामा र बिक्री मूल्य पनि कम पाइने भएपछि यार्सागुम्बाकै भरमा जीविका चलाउने बासिन्दा मार्कामा परेका साइपाल गाउँपालिकाका स्थानीयवासी रामबहादुर बोहराले बताए।

यार्सागुम्बाको पहिलेपहिले सही उत्खनन गर्ने तरिका नअपनाएर जथाभावी वनमा आगजनी गरेकै कारणले बहुमूल्य जडीबुटी संकलनमा कमी आएको जानकार बताउँछन्।

यार्सागुम्बा संकलन समयभित्र सुर्मा, तल्कोट, र साइपाल गाउँपालिका तथा बुंगल नगरपालिकाका अधिकांश विद्यालय तीन महिनाका लागि बन्द हुने गरेका छन्। रासस



यार्सागुम्बा संकलन सुरु, विद्यालय तीन महिनाका लागि बन्द को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट