PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


मोदीको नेपाल भ्रमणमा उठेन भुटानी शरणार्थी समस्या, रिजाल भन्छन्- दुःख लाग्यो


मोदीको नेपाल भ्रमणमा उठेन भुटानी शरणार्थी समस्या, रिजाल भन्छन्- दुःख लाग्यो
फाइल फोटो : globalbhutanese.com

काठमाडौं : भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा आफूहरुको समस्याबारे कुरा उठ्ला कि भन्ने आशा गरेको भए पनि संसदमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको मन्तव्यमा कुनै कुरा नपरेको देखेर आफूलाई दुःख लागेको बताएका छन्।
 
मोदी आउनुभन्दा एक साताअघि नै काठमाडौं आएर दुवै देशका प्रधानमन्त्रीलाई खुलापत्र लेख्नुका साथै पत्रकार सम्मेलन गरेर झापा गएका रिजालले पहिलोपोस्टसँग कुरा गर्दै भने—‘हाम्रो बारेमा कुरा भयो भनेर कसैले नभनिदिएकाले कुनै कुरा नै उठेन कि जस्तो लागेको छ।’

मोदीको भ्रमणका क्रममा दुई पक्षीय वार्ता गर्नुअघि आफूले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि फोन गरेर आफूहरुको मुद्दा उठाइदिन आग्रह गरेका थिए। रिजालका अनुसार ज्ञवालीले सो अवसरमा भनेका थिए—‘हामी तपाईंहरुका मागका पक्षमा नै छौं। कस्तो परिस्थिति हुन्छ। अनुकूलता मिलेमा हामी त्यसबारेमा पनि कुरा राख्नेछौं।’

त्यसैगरी, उनले पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादवलाई पनि फोन गरेर आफूहरुको कुरा मोदी समक्ष राखिदिन आग्रह गरेका थिए। ‘उहाँले पनि सकारात्मक कुरा गर्नु भएको थियो। कुरा राखिदिनुभयो कि भएन थाहा पाउनै सकिएन’, रिजालले भने । 

रिजालले पूर्व राजदूत हिरण्यलाल श्रेष्ठलाई समेत फोन गरेर यसबारेमा वार्ता गर्ने व्यक्तिहरुलाई घच्घच्याइदिन आग्रह गरेका थिए।
 
यद्यपि भुटानी शरणार्थी मामिलाका बारेमा कसैले कुरा उठाएको जानकारी गराइएको छै । शरणार्थी नेताहरुले प्रदेश—२ का मुख्यमन्त्री समक्ष समेत यो मामिला उठाइदिन आग्रह गरेको भए पनि अभिनन्दन कार्यक्रममा विदेशी कार्यकारीसामु संविधानबारे टिप्पणी गरेर उनी स्वयं अहिले विवादमा आएका छन्।
 
करिब १ लाख १२ हजार भुटानी शरणार्थी तेस्रो मुलुकमा गइसकेपनि अहिले पनि नेपालमा करिब साढे ९ हजार भुटानी शरणार्थी रहेका छन्। रिजालसहित बाँकी रहेका शरणार्थी भुटानमा रहेको आफ्नै थातथलोमा जान इच्छुक भएपनि यसका लागि भारतको सहयोग अनिवार्य हुने उनीहरुले ठानेका छन्। ती शरणार्थीहरु भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका भए पनि उनीहरुलाई भारतको बाटो हुँदै भुटान जान दिइएको छैन।

त्यही भएर रिजालले दुवै देशका प्रधानमन्त्रीलाई खुलापत्र लेखेर यसबारेमा पहल गरिदिन आग्रह गरेको भएपनि ‘भारतले माइन्ड गर्ला भनेर’ गम्भीरतापूर्वक कसैले पनि वार्ताका क्रममा यो मामिला उठाएनन्।

सम्बन्धित समाचार
मोदीले केही गर्दिन्छन् कि भन्ने आश छ : भुटानी शरणार्थी नेता टेकनाथ रिजाल



मोदीको नेपाल भ्रमणमा उठेन भुटानी शरणार्थी समस्या, रिजाल भन्छन्- दुःख लाग्यो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट