PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

दरबारमार्ग सामूहिक बलात्कार प्रकरण : तीन महिनापछि बुझाइयो मिसिल, चार प्रतिवादीमा तीन फरार, प्रहरीलाई चोख्याइयो


सविन ढकाल

दरबारमार्ग सामूहिक बलात्कार प्रकरण : तीन महिनापछि बुझाइयो मिसिल, चार प्रतिवादीमा तीन फरार, प्रहरीलाई चोख्याइयो

काठमााडौँ :प्रहरीले दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा गएको माघ ७ गते एक युवतीको सामूहिक बलात्कार भएको विषयमा गरेको अनुसन्धानको प्रतिवेदनसहितको मिसिल सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंले करिब तीन महिनाको अनुसन्धानपछि सोमबार उक्त मिसिल काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले बताए। 

प्रहरीले घटनामा संलग्न मुख्य आरोपी शैलेस कार्कीसहित ४ जनालाई प्रतिवादी बनाएर मिसिल बुझाएको हो। यसैका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्नेछ।
 
मुख्य योजनाकार कार्कीलाई प्रहरीले पक्राउ गरी बुझाएको छ भने बाँकी तीन जना विकास गौतम, रवि पौडेल र दीपक श्रेष्ठलाई फरार प्रतिवादी बनाइएको डिएसपी थापाले जानकारी दिए।
 
बलात्कार घटनाका मुख्य योजनाकार कार्कीलाई प्रहरीले गएको चैत ६ गते काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको थियो। 

बलात्कारपछि युवती उजुरी दिन दरवारमार्ग वृत्त पुगेकी थिइन्। तर, वृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो। घटना लुकाएर मिल्न दबाब दिएको रहस्य खुलेपछि इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई नियन्त्रणमा लिइएको थियो वृत्तका प्रमुख डिएसपी तिलक भारतीलाई अनुसन्धानका लागि काठमाडौं परिसर तानिएको थियो। त्यसैगरी अभियुक्तलाई भगाएको आरोपमा सई चन्द भण्डारीलाई निलन्बन गरिएको थियो। 

उजुरी दिने पीडित युवती सुरुमा सम्पर्कमा नआएका कारण अनुसन्धान गर्न असहज भएको थियो। 

घटनापछि प्रहरीले घटना बारे अनुसन्धान गर्ने दुई छुट्टाछुट्टै छानविन टोली बनाएको थियो। टोलीले प्रहरी पनि दोषी रहेको प्रतिवेदन दिएको थियो। सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाएको प्रतिवेदनमा भने प्रहरीलाई प्रतिवादी बनाइएको छैन। 

घटनाको वास्तविकता पत्ता लगाउन  महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको नेतृत्वमा बनेको समितिले आर्थिक प्रलोभनमा परी घटना बाहिर नल्याउने गरी पीडित पक्ष र आरोपित पक्षसँग मिलापत्र गराउनेमा डिएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मण सिंह ठकुरी, प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारीको संलग्नता रहेको ठहर गरेको थियो।



दरबारमार्ग सामूहिक बलात्कार प्रकरण : तीन महिनापछि बुझाइयो मिसिल, चार प्रतिवादीमा तीन फरार, प्रहरीलाई चोख्याइयो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट