PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एमडीमा तोकेभन्दा १७ लाख रुपैयाँ बढी शुल्क मागेपछि डाक्टरहरु आन्दोलनमा

एमडीमा तोकेभन्दा १७ लाख रुपैयाँ बढी शुल्क मागेपछि डाक्टरहरु आन्दोलनमा

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौं : एमडी तहको भर्नामा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त निजी कलेजहरुले तोकेभन्दा १० देखि १७ लाख रुपैयाँसम्म बढी शुल्क मागेपछि विद्यार्थीहरु आन्दोलित बनेका छन्। 

चितवनको चितवन मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, भैरहवाको भैरहवा मेडिकल कलेज र वीरगंजको नेशनल मेडिकल कलेजहरुले चिकित्सा शास्त्र अध्यन संस्थान ‌(आइओएम)ले तोकेभन्दा बढी शुल्क मागेपछि विद्यार्थीहरु धर्ना दिन आइओएम पुगेका छन्।

कलेजले तोकेको भन्दा बढी शुल्क माग्दा समेत आइओएमले पहल नगरेको भन्दै उनीहरुले डिन कार्यलय अगाडि नाराबाजी गरेका छन्। 'तोकिएको शुल्क भन्दा बढी माग्ने कलेजलाई कारवाही गर, मेडिकल माफिया खबरदार, विद्यार्थी लुट्न पाइँदैन' भन्दै उनीहरुले नारा लगाए।

एमडी तहको भर्ना शुल्क आइओएमले २२ लाख तोकेको छ। सुरुमा ११ लाख र बाँकी शुल्क किस्तामा बुझाउने  आइओएमले काउन्सिलिङ गरेको थियो। एमडी तहमा भर्ना गर्न ओपन हाउस काउन्सिलबाट छनोट भएर चितवन मेडिकल गएका एक विद्यार्थीले कलेजले ३१ लाख भन्दा बढी मागेको बताए। भने, 'न केही कागज छ न कुनै शीर्षक त्यतिकैमा बढी शुल्क मागियो। उनीहरु आइओएमले तोकिएको शुल्कमा भर्ना नगर्ने बताउँछन्।'

त्यस्तै वीरगंज मेडिकल कलेज भर्ना हुन गएका अर्का विद्यार्थीले भने, 'हामीलाई त तोकिएको भन्दा १६ लाख बढी मागियो। क्वालिटी केही छैन, पैसा चाहिँ त्यति धेरै।'

वीरगंज मेडिकल कलेज त्यही कलेज हो जहाँबाट गत वर्ष एमडीमा एकजना मात्र विद्यार्थी पास भएका थिए।
वीरगंज मेडिकल कलेजकै अर्का विद्यार्थीले भने, 'यता आइओएमले २२ लाख भन्दा बढी शुल्क लिने कलेजलाई कारवाही गर्ने भनेर नियम बनायो। हामी ढुक्क भएर यता लाग्यौं अब त काठमाडौँ युनिभर्सिटीबाट पढ्न पनि मिल्दैन। हामी बिचल्लीमा पर्यौ।

डक्टर्स सोसाइटी नेपालका महासचिव तोसिमा कार्कीका अनुसार एमडी तहमा भर्ना हुने १ सय ७७ जना विद्यार्थी छन् जसबाट कलेजले १० देखि १७ लाखसम्म बढी माग गरेको छ। भन्छिन्, 'उनीहरुले विद्यार्थीको भविष्य अन्यौल पारेर करोडौं रुपैयाँको चलखेल गर्न लागेका छन्।'

आइओएमले २२ लाखमै पढ्न पाइने नियम बनाएको सुनाउँदा चितवन मेडिकल कलेज 'उतै गएर पढ्नु' भनेको एक विद्यार्थीले सुनाए। भने, '२२ लाखमै पढ्न पाउने नियम छ। कलेजले ३५ लाख भन्दा बढी माग्छ। पहिला नै बढी लाग्ने भनेको भए हामी त्यही अनुसार निर्णय गर्थ्यौ।'

अघिल्लो शैक्षिक सत्रमा त्रिवि कार्यकारी परिषद्ले विशेषज्ञ तह अध्ययनका लागि ३१ लाख रुपैयाँ शुल्क तोकेको थियो। संस्थानको चैत्र १२ गते बसेको बैठकले सो शुल्कबाट आठ लाख रुपैयाँ घटाएर २२ लाख लिने निर्णय गरेको थियो। त्रिवि अन्तर्गतका सात मेडिकल कलेजमा चिकित्साशास्त्रतर्फ विशेषज्ञ तहको पढाइ हुँदै आएको छ।

बढी भर्ना शुल्क माग गरेपछि विद्यार्थीहरुले आइओएम, नेपाल मेडिकल काउन्सिल, त्रिभुवन विश्वविद्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निवदेन दिएका छन्। 

आन्दोलित विद्यार्थीहरुले आजै शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय छलफलको लागि जाने तयारी गरेका छन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell