PahiloPost

Aug 19, 2018 | ३ भदौ २०७५

सत्ता जोगाउन कसैसँग एकान्तमा तमसुक लेखाउनु छैन : परराष्ट्रमन्त्री ज्ञवाली


पहिलोपोस्ट

सत्ता जोगाउन कसैसँग एकान्तमा तमसुक लेखाउनु छैन : परराष्ट्रमन्त्री ज्ञवाली
फोटो : नवीन पौडेल/रासस

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारलाई सत्ता टिकाउनका लागि कसैसँग तमसुक लेखाउन जरुरी नभएको बताएका छन्। 

प्रतिनिधिसभाको बैठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। 

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको एकान्त वार्तामा भएको छलफलको विषयमा सांसदले उठाएको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘एकान्त वार्ता अन्तर्राष्ट्रिय रुपमा चलेको आएको चलन हो। धेरै टाढा जानुपर्दैन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिङपिङ पनि एकान्त वार्तामा बसेको अस्तिभर्खर हो। यसलाई अन्यथा लिनुपर्दैन।’

उनले त्यस वार्तामा भएका छलफलको टिप्पणी उठाउन परराष्ट्र मन्त्रालयका अधिकारी खटाइएको समेत बताए। 

‘यो सरकारलाई कुनै एकान्तमा गएर सत्ता जोगाई पाउँ भन्ने तमसुक लेखाइ पाउनु छैन। यो सरकारलाई नेपाली जनताको साथ छ। नेपाली जनताको साथ रहुन्जेल कुनै अपारदर्शी ढंगले काम गर्नु छैन्,’ उनले अगाडि भने, ‘त्यस वार्तामा भएका छलफलको टिप्पणी उठाउनका लागि परराष्ट्र मन्त्रालयका अधिकारीहरु खटाइएको छ।’ 

परराष्ट्रमन्त्री ज्ञवालीले के गर्नुपर्छ भन्ने विषयमा जानकार रहेको बताउँदै उनले जनकपुरमा भएको भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनमा कुटनीतिक मर्यादा उल्लंघन भएकोसमेत बताए। अनुभवको कमीले त्यस्तो भएको भन्दै त्यसलाई सरकारले ध्यान दिएकोसमेत बताए। 

उनले नेपाल सरकारले आफ्ना हितलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढाउने समेत प्रतिवद्धता जनाए। उनले नेपालको आन्तरिक विषय कुनै पनि बाह्य फोरममा छलफल हुन नसक्ने भन्दै त्यसतर्फ सबै सजग हुनुपर्ने बताए।
 
‘नेपालका आन्तरिक समस्याहरु नेपालले समाधान गर्न सक्छ। नेपाल सक्षम छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालका आन्तरिक मामिलाहरुलाई ‘टोटल्ली’ अलग गर्ने गाइडलाइनका साथ अगाडि बढ्छौं। अगाडि बढेका छौं।’ 

परराष्ट्रमन्त्री ज्ञवालीले संविधानसभाबाट संविधान जारी गर्ने र नाकाबन्दीविरुद्ध बलियोसँग उभिने सन्दर्भमा आफूहरुले लिएको अडान सही भएको समेत पुष्टि भएको दाबी गरे। 

मन्त्री ज्ञवालीले भने, ‘हामीले नाकाबन्दीविरुद्ध अडान लिँदा नाकाबन्दी नै भन्न नसक्नेहरु पनि आज त्यही ठाउँमा आइपुगेका छन्। हामीले त्यतिबेला उठाएका मुद्दा हाम्रो संविधान हामी आफैंले बनाउने कुरा गर्दा, नेपालले संघीयताको मोडल आफैं तय गर्न पाउनुपर्छ भन्दा खोक्रो राष्ट्रवाद भनिएको थियो। तर, आज आएर हाम्रो अडान पुष्टि भएको छ, यसमा हामीलाई गर्व छ।’

भारतीय सांसदको अभिव्यक्ति खेदजनक
यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय सांसद कृति आजादको अभिव्यक्ति दुई देशबीचको सम्बन्धलाई विगार्ने कुत्सित मनसायले आएको बताए। 
भारतीय जनता पार्टीका सांसद कृर्ति आजादले भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आएकै दिन जनकपुर भारतको भएको भन्दै फिर्ता लिएर मिथिला राज्य बनाउन माग गरेका थिए। 

‘उनको यो नेपाल भारत सम्बन्ध बिगार्ने कुत्सित मनासयले आएको छ। नेपाल सरकार यसलाई भत्सना गर्दछ,’ उनले भने।
 



सत्ता जोगाउन कसैसँग एकान्तमा तमसुक लेखाउनु छैन : परराष्ट्रमन्त्री ज्ञवाली को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट