PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


ओलीलाई ‘महालम्पसारवादी’ भन्दै सरकारमाथि प्रतिपक्ष आक्रामक, सत्ता साझेदारले समेत गरे विरोध 


ओलीलाई ‘महालम्पसारवादी’ भन्दै सरकारमाथि प्रतिपक्ष आक्रामक, सत्ता साझेदारले समेत गरे विरोध 

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा सत्ता सांझेदार दल नै विभाजित भएको छ। सदनमा सत्ता साझेदार माओवादी केन्द्रले नै सरकारमाथि प्रश्न तेर्स्याएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रस आक्रमक रुपमा प्रस्तुत भएको छ।

माओवादी सांसद एवं प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा भारतीय सेना आएकोप्रति आपत्ति जनाएकी छिन्। उनले मोदीलाई सरकारले सुरक्षा दिन असक्षम भन्ने आरोपसमेत लगाइन्।

‘कुनै राष्ट्र प्रमुखलाई हामीले हाम्रो देश भ्रमणमा बोलाउँदा हामीसुरक्षा दिन सक्षम छौं। तर मोदीको सुरक्षामा तीन सय जति संख्यामा भारतीय सुरक्षाकर्मी ल्याउने काम भयो।’ भुसालको भनाई थियो,‘हाम्रो सुरक्षा व्यवस्थामाथि प्रश्न खडा गर्न खोजिएको हो कि? नेपाली सेनाको भूमिकालाई न्यूनिकरण गरिएको हो। हाम्रै देशका मन्त्रीहरु जान नसक्ने सुरक्षा व्यवस्थाको अहिले जनस्तरबाट विरोध भइरहेको छ।’

उनले आफनै  पार्टी सहभागी रहेको सरकारको परराष्ट्र मन्त्रालयको आलोचना गरिन्। परराष्ट्र मन्त्रालय चुकेको बताउँदै भारतबाट घोषणा हुने र भारतीय मिडियाले प्रसारण गर्ने कुरा कार्यन्वयन हुने गरेको आरोप लगाइन्।

प्रतिपक्षी झनै आक्रमक

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका सवालहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस झनै आक्रमक भएर प्रस्तुत भएको छ। कांग्रेसका सांसदहरु डा.अमरेश कुमार सिंह, गगन थापा, मिनेन्द्र रिजाल र भीमसेन दास प्रधानलगायतले सरकारको आलोचना गरे।

सिंहले मोदीको नेपाल भ्रमणमा राष्ट्रियता र स्वाभिमान विपरितका काम भएको आरोप लगाउँदै नेपालको संस्थालाई कमजोर पार्ने काम भएको बताए। परराष्ट्र मन्त्रालयलाई उपेक्षा गर्दै प्रधानमन्त्रीले एक्लाएक्लै भेटेकोमा सिंहले आपत्ति जनाए। परराष्ट्र मन्त्रालयका प्रतिनिधि नराखिनु आपत्तिको विषय भएको बताए। 

प्रधानमन्त्री ओलीले आफ्नै क्याबिनेटका मन्त्रीहरुलाई विश्वास नगरेकोसमेत आरोप लगाए।

मोदीको भ्रमणअघि प्रधानमन्त्रीले ओलीले थाइल्याण्डमा कस्लाई भेटेको भन्दै उनले प्रश्न गरे। 

यसै गरी पूर्व रक्षामन्त्री एवं कांग्रेसकै सांसद भीमसेनदास प्रधानले दलबल सहित भारतीय सुरक्षाकर्मीलाई नेपालमा निमन्त्रणा गर्दा नेपाली सुरक्षाकर्मीको मनोबल गिरेको आरोप लगाए। 

नेपाली सेना शान्ति सेनामा छैटौँ स्थानमा रहेपनि भारतीय सेनालाई बोलाएर नेपाली सेनाको अपमान भएको दाबी उनले गरे। 

भारतीय जनता पार्टीका नेता कीर्ति आजादले जनकपुरको विषयमा दिएको अभिव्यक्तिले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएकोले माफी माग्न लगाउनु पर्ने धारणा प्रधानले राखे। 

कांग्रेसका अर्का सांसद गगन थापा पनि सरकारभन्दा प्रधानन्त्री केपी ओलीप्रति आक्रमक भए। ‘हिजो अरुलाई लम्पसारवादी भन्ने केपी ओलीलाई आज महालम्पसारवादी भन्न पाइने कि नपाउने’ उनले प्रश्न गरे। 

थापाले राजा महेन्द्रको शैलीमा ओलीले समर्पण गरेको दाबी गर्दै उनले भने,‘भारतको सेना नेपाल आएर कतै त्यही कालापानी दोहोराउन खोजिएको त होइन?’

‘हिजो भारतसँग कुराकानी गर्नुपर्छ भन्दै गर्दा सत्तामा बस्नेहरुले घुँडा टेक्दा घुँडामा घाउ भयो भन्नुभएको थियो,’ थापाले भने, ‘नाकाबन्दी लगाउँदैन भन्दै हिजो भारतको जिम्मा लिएर रोष्ट्रममा उभिएका प्रधानमन्त्रीलाई मैले तपाईँको घुँडामा भ्वाङ परो कि परेन सोध्न पाउने कि नपाउने? आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ?’ 


सोही पार्टीका सांसद डा. मीनेन्द्र रिजालले नेपाली जनताले नाकाबन्दीको पीडालाई बिर्सेर भारतीय प्रधानमन्त्रीको स्वागत गरेको चर्चा गर्दै सरकारमा सहभागी दलले विगतका अभिव्यक्तिलाई अहिले नै बिर्सेकामा चिन्ता व्यक्त गरे।

प्रदेश २ का मुख्यमन्त्रीले बोलेको कुरामा भएको विरोधका विषयमा उनले प्रदेश २ को सरकार एमालेकै समर्थनमा बनेको कुरा स्मरण गराउँदै अहिले समर्थनको अवस्था के छ भन्ने प्रश्न गरे।

यसैगरी प्रमुख सत्ता साझेदार नेकपा एमालेका सांसद भीम रावलले नेपालको संविधान विश्वमा नै गर्व गर्न लायक रहेको बताए। संविधानको मर्म विपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश नं २ का मुख्य मन्त्रीको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेकोले सच्याउन माग गरे।
 



ओलीलाई ‘महालम्पसारवादी’ भन्दै सरकारमाथि प्रतिपक्ष आक्रामक, सत्ता साझेदारले समेत गरे विरोध  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट