PahiloPost

May 23, 2018 | ९ जेठ २०७५

भोलि बालुवाटार हेर्न आए हुन्छ, एकताको तयारी गर्दैैछौं : प्रम ओली


रासस/पहिलोपोस्ट

भोलि बालुवाटार हेर्न आए हुन्छ, एकताको तयारी गर्दैैछौं : प्रम ओली
फोटो : प्रदीपराज वन्त/रासस
काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिवद्धताअनुसार निकट भविष्यमा नेकपा माओवादी केन्द्रसँग एकता हुने बताएका छन्।

युवा संघ नेपालको २८ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आह्वान गरे। 

उनले भने, “दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बिर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई/तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ। पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ।”

एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका लागि देशव्यापी अभियान सञ्चालन गरेर दुनियाँलाई देखाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रअनुसार समृद्धि र न्यायपूर्ण समाजअनुकूल संयुक्त नीति कार्यक्रम र बजेटको तयारीमा सरकार रहेको स्पष्ट गरे। 

अबको तीन वर्षपछि नेपालले भारतलाई बिजुली बेच्ने स्थिति आउने ठोकुवा पनि उनले गरे। सरकारले सुन तस्करी र यातायातमा एकाधिकार तोडेको उल्लेख गर्दै उनले भ्रष्टाचार, कालोबजारी, तस्करीको विरुद्ध अभियान छेड्न युवालाई आह्वान गरे। 

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा आफूले नेपालको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको बरु विगतमा भएका राष्ट्रहित विरोधी व्यवहारलाई सच्याएको दाबी गरे। 

उनले भारतीय प्रधानमन्त्रीसँग विगतमा सरकार प्रमुखले ‘हजुर संविधान संशोधन गर्छु’ भनेर घुँडा टेकेको तर पछिल्लो समयमा मोदीले नेपालमा संविधान जारी भई निर्वाचन सम्पन्नपश्चात् नयाँ सरकार गठन भएकामा यसलाई स्वर्णिम समय भन्दै नेपालको प्राथमिकता र आवश्यकतामा सहयोग गर्छु भनेकाले नेपालको शिर झुक्यो कि भनेर भ्रममा नपर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले दिनुभएको अभिव्यक्ति गलत भएको र त्यो नेपाल सरकारको धारणा नभएको र हुन नसक्ने स्पष्ट पनि गरे।

नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले आन्दोलनको चरण समाप्त भएकाले पुनः निर्माणको अभियानमा लाग्न युवाहरुलाई आग्रह गरे।

अर्का वरिष्ठ नेता माधवकुमार नेपालले छिट्टै पार्टी एकता गरेर समृद्धि र स्थायित्वको अभियान दिशामा मुलुकलाई लगिने बताए।

पार्टीका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले युवाहरुमा सही विचार, विधि र नेतृत्वलाई मान्ने क्षमता हुनुपर्नेमा जोड दिए।

संघका अध्यक्ष रमेश पौडेलले समृद्धि र सुशासनका लागि युवा अभियानको घोषणा गरे।
 


भोलि बालुवाटार हेर्न आए हुन्छ, एकताको तयारी गर्दैैछौं : प्रम ओली को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट