PahiloPost

May 20, 2018 | ६ जेठ २०७५

दुर्गन्ध, फोहर अनि बिरामीको चाप : यो हो देशको केन्द्रीय मानसिक अस्पताल


स्वेच्छा राउत/पहिलोपोस्ट

दुर्गन्ध, फोहर अनि बिरामीको चाप : यो हो देशको केन्द्रीय मानसिक अस्पताल
भैरहवा
दीपक सुनारले एक्कासी अस्वभाविक व्यवहार देखाउन थाले। भैरहवामै कक्षा ११ पढ्दै गरेका उनी गत पुसदेखि शुरुमा कि त टोलाउँथे वा धेरै रिसाउँथे। केही पछि एकोहोरो बर्बराउन, बेहोसीमा हिँड्न, कपडा फुकालेर फाल्न थाले। उनलाई सुधार केन्द्रमा लगेर राखियो। तर, तीन महिना केन्द्रमा राखेर औषधी खुवाउँदा पनि ठीक भएन।
 
'डाक्टरले समयमा औषधी खुवाए ठीक हुन्छ भनेका थिए। पैसा खर्च भयो, मान्छे सञ्चो भएन,' छोरा अर्ध होसमा बर्बराई रहेको हेर्दै बोल्छन् रामलाल सुनार। निकै मलिन देखिएका उनले दीपककी आमालाई पनि मानसिक रोग भएको बताए।
 
'विवाह लगत्तै बिरामी भएकी थिइन्। उपचार गरेर केही ठीक बनाएँ, तर छोरा जन्मिएपछि फेरि उसमा पो बल्झियो,'  रामबहादुरले सुनाए।
डाक्टरी उपचारले नभएपछि रामलालकी पत्नीलाई धामी झाँक्रीकहाँ लगियो। तर ठीक भएन। कसैले सुनायो - धर्म परिवर्तन गरे ठीक हुन्छ। र उनी क्रिश्चियन बनिन्। 

मानसिक स्वास्थ्यमा समस्यासँगै पाप र धर्मको अन्यौलमा रहेकी रामलालकी श्रीमती १६ वर्ष अघिदेखि पूरै ठिक भएकी छैनन्। अब त समस्या श्रीमतीमा सीमित रहेन। छोरामा पनि देखियो। श्रीमतीलाई सुधार केन्द्र पुर्‍याए अनि छोरालाई आफूसँग च्यापे। घरमा ताल्चा ठोकेर हिँडे मानसिक अस्पताल।

कसैको खुट्टा बाँधिएका, कोही एकोहोरो कराइरहेका, कोही एउटा कुनामा चुपचाप एकोहोरिएका- अझ फरक फरक समस्या भएका बिरामीहरुलाई दुईवटा कोठामा एड्जस्‍ट गराउँदा त्यहाँको अवस्था दयनीय देखिन्छ।
***
 

राजधानी, मानसिक अस्पताल, पाटन

दीपक सुनार उपचारका लागि राजधानीमा छन्। मंगलबार मानसिक अस्पताल पाटन पुग्दा दीपकलाई शैय्यामा सुताइएको थियो। साँघुरो प्यासेजको छेउमा बेड, अर्कोतिर फलामे कुर्सी। बीचमा ओहरदोहर गर्ने बाटो। आइरहेको दुर्गन्धले नजिकै शौचालय रहेको प्रस्ट्याइरहेको छ।

दीपक पल्टिएको बेड शौचालयको ढोकामै टाँसिएको छ। दुर्गन्ध छल्न उनको सिरान उल्टो पट्टी राखिएको छ। तर सिरानितर पनि जोडिएको थियो -'डस्टबिन'।

फलामे कुर्सीमा बसेका रामलाललाई सोधें – 'किन यति फोहोरमा सुताउनु भएको?'

'पालो कुरेको। सुताएन भने बिगार गर्छ अरु ठाउँमा बेड छैन रे,' उनी दु:खी सुनिन्छन्।

रामलाल पहिलोपटक काठमाडौं आएका हुन्। उनलाई यहाँका ठाउँहरु थाहा छैन गाडीको रुट त टाढाको कुरो। सरकारी अस्पतालमा उपचार गराउन आएका उनीसँग पैसा पनि धेरै छैन। मानसिक अस्पतालमा 'बेड छैन' भनेर उनलाई किस्ट मेडिकल कलेज रिफर गरियो। 'छोराले कति खेर कसलाई झम्टिन्छ थाहा छैन। यसलाई लिएर म कता जाउँ?', रामलाल सहयोगको अपेक्षासहित सोध्छन्।

मानसिक अस्पतालका कन्सलट्यान्ट साइक्याट्रिस्ट डाक्टर प्रवीण भट्टराईले उनलाई सुझाएका थिए – उपचारका लागि बाहिर लैजानुस्। किन त्यसो भने त उनले। 'किस्टमा हाम्रै साथीहरु हुनुहुन्छ। यताबाट रिफर्ड भन्नुस् महङ्गो पर्दैन। बेड खाली भएपछि यतै ल्याउँला भनेर,' प्रवीणले जवाफ दिए।

रामलाल यो संवाद अलमल्ल परेर हेरिरहन्छन्।

***

देशको केन्द्रीय मानसिक अस्पतालमा जम्मा ५० वटा शैय्या छ। त्यसमध्ये पनि ४७ अन्तरङ्ग सेवाका लागि र ३ आकस्मिक कक्षमा। अस्पतालमा देशभरबाट बिरामीहरु ल्याइन्छन्। तर ठाउँ पाउन मुश्किल।

रामलालजस्ता धेरैले आफ्नो बिरामी च्यापेर प्रत्यक दिन अन्य अस्पतालको साइक्याट्रिस्ट वार्ड चहार्छन्। ओपीडीमा डाक्टर वा वार्डमा बिरामी कुरुन्जेल झेल्नु पर्ने दुर्गन्ध र फोहोरको समस्या बेग्लै छ यहाँ।

कसैको खुट्टा बाँधिएका, कोही एकोहोरो कराइरहेका, कोही एउटा कुनामा चुपचाप एकोहोरिएका- अझ फरक फरक समस्या भएका बिरामीहरुलाई दुईवटा कोठामा एड्जस्‍ट गराउँदा त्यहाँको अवस्था दयनीय देखिन्छ। व्यवस्थापकको नेतृत्वको क्षमता त्यहाँको हालतले बयान गरिरहेको थियो।

नेपालमा मानसिक बिरामीहरु उपचार हुने अस्पताल र राखिने सेल्टर यस्तै हुनुपर्छ भन्ने बारे कुनै पनि मापदण्ड तोकिएको छैन।  बिरामी बोकेर पुगेका रामलालजस्ता सबैले भोग्ने समस्या उस्तै छ – न गतिलो बेड, न शौचालय सफा अनि डाक्टरको रेफर – अर्कै अस्पताल।

मानसिक अस्पतालका सूचना अधिकारी डाक्टर वासुदेव कार्की अस्पतालमा विद्यमान समस्यालाई चुनौतीका रुपमा व्याख्या गर्छन्। 'चाप सम्हाल्न हामीलाई पनि गाह्रो छ। चाहेर पनि व्यवस्थापनलाई बलियो बनाउन सकेका छैनौं,' उनले स्वीकारे।

'अस्पतालमा पानी समस्या छ'- सफाइ नहुनुको कारण खुलाउँछन् अस्पताल प्रशासनका कर्मचारी। भौतिक संरचना कति कमजोर छ भन्ने त बेडको संख्याले नै बताउँछ। सरकारले दरबन्दी दिएकै छैन, कहाँबाट हुनु मनोविश्लेषक। डाक्टर कार्की भन्छन्,'हामीले अस्पताल विकास समितिको खर्चमा दुई जना मनोविश्लेषक राखेका थियौं। तर, अहिले हामीसँग एकजना मात्र हुनुहुन्छ।'
 
***

रामलाल यही अस्तव्यस्त अस्पतालमा आशाको दीयो जगाउँदै पुगेका थिए। तर, अस्पताल र त्यहाँभित्र भोग्ने परेको व्यवहारले उनी थकित देखिए, तनावग्रस्त उस्तै।

मनोविश्लेषक बासु आचार्य मानसिक अस्पतालमा भोग्नुपर्ने अस्तव्यस्‍तताले विरामीमा थप नकारात्मक असर पार्ने अनुभव सुनाउँछन्। भन्छन्, 'वातावरणले धेरै असर गर्छ।'

अस्पताल भनेको बिरामीलाई औषधीको मात्रा मिलाएर दिनेमात्र ठाउँ होइन, भावनात्मक साथ र सहयोग पनि दिने केन्द्र पनि हो। त्यस्तै सहयोगको अभाव रहेको सुनाउँदै उनी भन्छन्, 'बिरामी र उसका परिवार त तनावमा हुन्छन्। यस्तोमा अस्पताल छिर्दाको वातावरण र उनीहरुप्रति गरिने व्यवहारले सकारात्मक प्रभाव पार्न सक्नुपर्छ।'

फोहोर, दुर्गन्ध र फरक किसिमका मानसिक बिरामीहरुलाई एकै ठाउँमा राखिनु आदिले समस्यामा रहेकामा मात्र होइन कुरुवाहरुको मनोविज्ञान र स्वास्थ्यमा पनि असर गर्ने उनको तर्क छ। भन्छन्,'सरकारी अस्पतालमा सुधार चाँडै सम्भव छैन। सिस्टम नै ढिला छ।'

आचार्य हरेक मानसिक अस्पतालमा मनोचिकित्सकसँगै मनोविश्लेषक हुन आवश्यक रहेको बताउँछन् जसका कारण बिरामीको मनोवैज्ञानिक अवस्थाको उचित अध्ययन हुनसक्छ। भन्छन्, 'मानसिक बिरामीको हकमा मनोविश्लेषकले भावनात्मक रुपमा अवस्था नियन्त्रणमा लिन सक्छन् तर हाम्रोमा मनोविश्लेषकले दरबन्दी समेत पाउँदैनन्।'

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका निजी अस्पताल तथा संस्था र गैर सरकारी संस्थाहरुले भने आफ्नै मापदण्ड र नियम बनाएर काम गर्दै आएका छन्। ती मापदण्डमाथि कसैको निगरानी छैन। सबै राम भरोसे चलिरहेका छन्। 

नेपाल मेडिकल कलेजका मनोचिकित्सक पवन शर्मा भन्छन्, 'हामी अन्तर्राष्ट्रिय वा डब्लुएचओले तोकेको मापदण्डमा काम त गर्दैछौं। तर, तीमध्ये कति क्राइटेरिया चाहिँ हाम्रो सामाजिक, आर्थिक अवस्थासँग मेल खान्छ वा सम्भव छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ।'

***
सन् १९७५ मा प्रदर्शनमा आएको अमेरिकी फिल्म 'वान फ्ल्यु ओभर द कुकुज नेस्ट'ले त्यहाँको मानसिक स्वास्थ्य क्षेत्रलाई खुब व्यङ्ग्य गर्‍यो। जसले राज्यस्तरको ध्यानाकर्षण गर्‍यो र सुधारको प्रयास भयो जुन प्रयास सफल ठहरियो। यसअर्थमा कि त्यहाँका मानसिक बिरामीहरुलाई इलेक्ट्रोकन्भल्सिभ थेरापी (करेन्ट)को प्रयोग कम गरियो। मानसिक स्वास्थ्य उपचार केन्द्रहरुमा नर्सहरुलाई उपचार साथै बोली व्यवहारमा पनि ध्यान दिन लगाइयो, अस्पताल र पुनर्स्थापना केन्द्रहरुको वातावरण र सरसफाईमा राज्यको चासो बन्यो।

अमेरिकी साइक्याट्रिस्ट डाक्टर फ्र्याङ्क पिटम्यानले आफ्नो क्षेत्रमा उक्त फिल्मले उल्लेखनीय प्रभाव पारेको आफ्नो पुस्तकमा लेखेका छन्। 'अमेरिकामा पहिले मानसिक स्वास्थ्य सेवा समाज केन्द्रित थियो, अहिले व्यक्ति केन्द्रित भएको छ।’

झण्डै ४५ वर्षअघि फिल्मको प्रभावले अमेरिकाको मानसिक स्वाथ्यको क्षेत्रमा तारिफ योग्य सुधार भयो।

नेपालमा राष्ट्रिय मानसिक स्वास्थ्य नीति २०५३ को आधारमा काम हुँदै आएको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्था कोशिश नेपालका कार्यक्रम व्यवस्थापक युवराज चन्द बताउँछन्। उनले दिएको जानकारी अनुसार हाल नेपाल सरकारले नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना अनुमोदन गरेको छ। त्यसमा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्षेत्रहरु तोकिएको छ। तर व्यवहारमा लागू भइसकेको छैन।

'मानसिक स्वास्थ्यको क्षेत्रमा राज्य केही सकारात्मक त भएको छ तर कार्यान्वयनमा नउत्रेसम्म हामी प्रयास गरिरहन्छौं,' उनले भने। उनका अनुसार नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७२/२०७७ ले पनि मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अङ्गको रुपमा समावेश गरेको छ।

सरकारले मानसिक स्वास्थ्य र यसको अवस्था सुधारको विषयलाई महत्वको रुपमा लिएको बताउँछन् स्वास्थ्य मन्त्रालयका अधिकृत रामकृष्ण लामिछानेले। भने, 'नेपाल स्वास्थ्य सेवा ऐन थियो। अब चाहिं समग्र स्वास्थ्य क्षेत्र समेट्ने राष्ट्रिय ऐन बनाउँदै छौं। त्यसमा एउटा परिच्छेद मानसिक स्वास्थ्यको लागि रहने छ।'

उनले मानसिक स्वास्थ्य सम्बन्धी गुनासोहरु सुन्ने फोकल युनिट बनेको समेत जानकारी दिए।

पाटन अस्पताल पुग्ने बाटो समेत कसैको सहारा नलिइ पुग्न नसक्ने रामलालका लागि यस्ता नीतिका विषय भद्दा मजाकमात्र हुन्। छोराको उपचारबाहेक अरु कुनै कुराले उनलाई छुँदैन। भैरहवाबाट छोराको उपचारका लागि काठमाडौं आएका रामलाललाई ऐन र कानुन मतलबको विषय पनि होइन। उनी चाहन्छन्, छोरा ठीक होस्। भैरहवा फर्केर पढाई पूरा गरोस्।


दुर्गन्ध, फोहर अनि बिरामीको चाप : यो हो देशको केन्द्रीय मानसिक अस्पताल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट