PahiloPost

May 20, 2018 | ६ जेठ २०७५

ताङतिङ गाउँका अन्तिम मह शिकारी : श्रीमती भन्छिन् 'नजाऊ', तर शेरबहादुरले माने पो !


ताङतिङ गाउँका अन्तिम मह शिकारी : श्रीमती भन्छिन् 'नजाऊ', तर शेरबहादुरले माने पो !
  • राजु आचार्य - 
'नजाऊ न !'
 
श्रीमती खुमाया गुरुङले धेरै पल्ट आग्रह गरिन्l हुन पनि त्यो कहालीलाग्दो भीरबाट खसे चार छोराछोरीको भविष्य के होला, सोच्दा नै कहाली लागेर आउँछ। वर्षमा दुई समय यस्तै आउँछ  (चैत -जेष्ठ र असोज-मङ्सिर) जब उनी राम्रोसँग सुत्नै सक्दिनन्।  श्रीमान् मह काढेर घर फर्किसकेपछि मात्र लामो सास फेर्छिन्l
 
प्रत्येक वर्ष गाउँबाट भिर मौरीको सिकार गर्न निस्कँदा छरछिमेकी सबैले 'राम्रोसँग चढ्नु है', ' राम्रोसँग मह काढ्नु है' भनिरहन्छन्l ५९ वर्षीय शेरबहादुर गुरुङ भने नसुने झैँ गर्छन् l गाउँको बीचबाट कम्तिमा १५-२० जनाको लावालस्करसहित निस्कँदा उनको शाननै बेग्लैl

'भिर मौरी  शिकार गर्दाको आनन्द अरु कता बाट पाउनु,' उनी थोरै मानिससँग यो बताइरहन्छन्l
 

शेरबहादुर गुरुङ मह सिकार गर्दै

उनलाई घरका मानिस पढोस् भन्ने चाहन्थे l बुवा र दाइहरुले निकै प्रयास गरेl ठूलो उमेरमा ३ कक्षामा भर्ना पनि गरिदिए l तर मन भए पो ! उनको मनसँगै तन गोठ र वन चहार्न थालेl ब्रिटिस आर्मीमा समेत प्रयास गराइयो l त्यता पनि भएन l गोठतिरै रमाउन थाले l 

गाईगोठमा बसिरहँदा उनी पहिलो  पटक भिर माहुरी शिकारमा सहभागी हुन पाएl त्यतिखेर गाउँभरि करिब ७ जना मह सिकारीहरु थिएl तिनै मध्येका डम्बरबहादुर गुरुङले उनलाई सहयोगी बनाए l त्यतिखेर उनको उमेर भर्खर १६ वर्षको थियोl  ६ वर्ष जति सिकेपछि उनी निपुण बनेl एक्लै भर्‍याङ्ग चढेर शिकार खेल सक्ने भएl त्यतिबेलादेखि सुरु भएको 'मह शिकार' नियमित छ।  यद्यपि यो कामको लागि कम्तिमा पनि १० जनाको सहयोग नभई हुन्न। 
 

ताङतिङ गाउँ

प्रदेश ४ को राजधानी पोखराबाट करिब दुई घण्टा मोटरबाटोमा उनको ताङतिङ गाउँ पुगिन्छl यो मादी गाउँपालिका अन्तर्गत वडा नम्बर २ मा पर्छl  यसका लागि काँहुखोलाबाट नियमित बसहरु छुट्छन्l  लमजुङ हिमालको अगाडि अवस्थित यो गाउँ संस्कृतिका हिसाबले पनि धनी छl साँझ परेपछि घाटु र सोरठीले स्वागत गर्छl गाउँको छेवैमा रतुवा र घोरलको आवाजले मन्त्रमुग्ध बनाउँछl वरिपरिको हरियो वनले प्रकृतिप्रेमीहरुलाई गाउँ छोड्न मनै लाग्दैनl  यो  गाउँको वरिपरी १० वटा ठाउँबाट भिर मौरीको मह निकाल्न सकिन्छl  यिनै कारणले शेरबहादुर गाउँमानै रमाउने गर्छन्l

मैले सोधेँ 'भिरमा चढेर मह काढ्दा डर लाग्दैन दाइ?'

उनले भने 'कहिलेकाही‌ं बाधिएका भर्‍याङ हल्लिंदा मुटुनै सिरिङ सिरिङ त हुन्छ नि l  हात, खुट्टा र दिमाग सबै सक्रिय हुनु पर्छ।'  उनले थपे ' सबै भन्दा गाह्रो काम भनेको माहुरीलाई धपाउन बनाइने धूँवा होl'  
 

शेरबहादुर गुरुङ अफ्ठ्यारो भिरमा मह काट्दै 

यसपटक उनको  समूहसँग म पनि मह शिकार हेर्न गएको थिएँl हेर्दै डरलाग्ने यो शिकार शब्दमा बयान गर्न गाह्रो छl  तर स्थानीयहरु भने मह शिकारको रौनक घटेको बताउँछन् l पहिला पहिला मह शिकारसँगै अन्य वन्यजन्तुको शिकार पनि गरिन्थ्यो, हप्तौँ वनमा बसेर मह निकालिन्थ्यो l 'त्यसबेलाको रमाइलो अहिले कता हुनु  र ! एक्यापले सिकार गर्न  पनि दिन्न,' ८०  वर्षीय गंगाबहादुर गुरुङले पुराना दिनहरु सम्झिए l 
 

शेरबहादुर गुरुङ र उनकी श्रीमती 

यसपटक पनि चढने भर्‍याङ, डोरी, मह काट्ने टाङ्गो, मह थाप्ने कोर्को आदिसहित गाउँबाट २२  जनाको समूह भिर भएको ठाउँमा पुगेका थिए l माहुरीको मुनि हरियो पातहरु प्रयोग गरेर आगो बाल्दै धूँवा बनाइन्छl माथिबाट भर्‍याङ तल झुण्ड्याएपछि, मुख्य 'मह शिकारी' भर्‍याङ चढ्न थाल्छन् l

 'चढ्नुअघि भूमि देवता तथा मह सिकारको सुरुवात गर्ने 'कर्भा' लाई सम्झने प्रचलन रहेको छ ' स्थानीय संस्कृतिविद् जसबहादुर गुरुङले बताएl    
मौरीहरुको टोकाइ, घन्टौंसम्म डोरीमा झुण्डिएर बस्नु पर्ने, मह काढ्दाको मेहनत बयान गरी साध्य छैन l मुख्य शिकारीलाई अरुले उत्तिकै सहयोग गर्छन्l आवाजको आधारमा काटिएका चाकाहरु तल झरिन्छ l तल बस्ने समूहहरु चाका निचोरेर मह निकाल्छन्l
 
मह खाँदा सबैले सबै दुःख बिर्सन्छन् l कहिलेकाहीं मह असाध्यै लाग्छl धेरै खाएर मानिसहरु मरेको अभिलेख पनि  l मह किन्नेहरु गाउँमानै आउने गर्छन् l भिर मौरीको महले ताकत दिने र सबै रोग सन्चो हुने विश्वाश छ।  पछिल्लो समय मह शिकारी तथा सहयोगी नभएको कारणले मह काढ्ने काममा कमि आएको छl   

शेरबहादुर भन्छन् ' मह ननिकाल्ने हो भने मौरी पनि घट्छ l तर निकाल्न  धेरै सहयोगी आवश्यक पर्दछ l सबै विदेशतिर लागे l  यो मेरो पेशा होइन संस्कृति हो l म मरे पछि मसँगै यो संस्कृति पनि हराउनेछ l'

उनले लामो सुस्केरा हालेर भने 'केटाहरुलाई सिकाउन पाए हुन्थ्यो' l  

तर दुई सय घर रहेको यो गाउँका अधिकांश युवा बाहिर छन् l  ५० जति घर त खाली भैसकेl 
 

शेरबहादुर गुरुङ 

के उनी यो गाउँका अन्तिम मह सिकारी हुन् त? मैले यो प्रश्न स्थानीय समाजसेवी  एवम हिमालयन मिलन माविका प्रधान अध्यापक प्रकाश गुरुङलाई राखेँl  

उनले भने 'तपाईको कुरा सुनेपछि मलाई पनि नरमाइलो लागिरहेको छ l गुरुङ संस्कृतिसंग जोडिएको यो 'मह शिकार'  शेरबहादुर गुरुङ  पछि गर्ने कोही पनि छैनन् l 'मह शिकार' उत्सव गरेर स्थानीय युवाहरुलाई सिकाएर जीवन्त बनाई राख्छौंl'
 
समयले कसरी कोल्टो फेर्छ हेर्न बाँकी नै छl  तर अहिलेको अवस्था हेर्ने हो भने ताङतिङ गाउँमा   'शेरबहादुर गुरुङ' नै अन्तिम 'मह सिकारी' हुन् भन्ने कुरामा दुईमत छैनl  

शेरबहादुर गुरुङले मह काट्दै गरेको यो भिडियो पनि हेरौं 




  


ताङतिङ गाउँका अन्तिम मह शिकारी : श्रीमती भन्छिन् 'नजाऊ', तर शेरबहादुरले माने पो ! को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट