PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चीनसँगका यी तीन नाकामा बन्दैछ सुख्खा बन्दरगाह, सहयोग चीनकै



दिनेश खड्का

चीनसँगका यी तीन नाकामा बन्दैछ सुख्खा बन्दरगाह, सहयोग चीनकै

काठमाडौं : चीन जोड्ने नाकामा तीन वटा सुक्खा बन्दरगाह निर्माण हुने भएका छन्। चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा तीनवटै बन्दरगाह निर्माण गर्न लागिएको हो।

तातोपानी, रसुवागढी र कोरला जोड्ने नाकाको नजिकै सुक्खा बन्दरगाह बनाउन लागेको बताइएको छ। तातोपानी र रसुवागढी बन्दरगाहका लागि चीन सरकारसँग अनुदान सम्झौता भैसकेको छ भने कोरलाको सम्झौता हुन बाँकी रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।

तातोपानी नाका नजिकैको लार्चामा बन्दरगाह निर्माण भैरहेको थियो। २०७२ वैशाखमा भुकम्प गएपछि बन्दरगाहमा क्षति पुग्यो। त्यसपछि बन्दरगाहको निर्माणको रोकियो।

खण्डहर जस्तै बनेको बन्दरगाह तीन वर्षपछि सम्झौता भएर पुननिर्माण थालिएको छ। समितिका अनुसार अहिले चीनियाँ ४० प्राविधिक  र अन्य कामदारले काम गरिरहेका छन्।

भुकम्प अघि नै ८० प्रतिशत निर्माण कार्य पूरा भैसकेको थियो। समितिका अनुसार एक वर्षमा भित्रमा यो बन्दरगाह तयार हुने छ। नाका भने भूकम्पपछि पुर्ण रुपमा बन्द छ। चीनले बन्दरगाहको पुननिर्माण थालेसँगै नाका खुल्ने आशा पलाएको छ। यो ९० रोपनीमा रोपनीमा फैलने बताइएको छ।

दोस्रो ठूलो नाका रसुवागढीमा नजिकैको टिमुरेमा बन्न लागेको बन्दरगाहको डिजाइन फाइनल भैसकेको छ। गत चैतमा चिनियाँ परामर्शदाताले तयार पारेको डिजाइन दुर्इ देशका अधिकारीले फाइनल गरेको समितिका कार्यकारी निर्देशक लक्ष्मण बहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार बन्दरगाहको कन्स्ट्रक्सनको काम अघि बढाउने तयारी भैरहेको छ। एक महिना भित्रै टेण्डर निकाल्ने नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। अहिले चिनियाँ प्राविधिकहरुले डिजाइन स्वीकृतपछिको लागत अनुमान,समयावधि लगायतका प्राविधिक पक्षहरुमा काम गरिरहेको बस्नेतले जानकारी दिए।

सदरमुकाम धुन्चे देखि २६ किमीमा पर्ने टिमुरेमा बन्दरगाह निर्माण गर्न लागिएको हो। बन्दरगाहका ८ हेक्टर क्षेत्रफलमा बन्ने छ। आवश्यक पर्ने जग्गाको अधिग्रहण समेत भैसकेको छ समितिले जनाएको छ। चीनको अनुदान सहयोगमा यो बन्दरगाह निर्माण गर्न लागिएको  हो।

चीनले रसुवागढी नाकालार्इ अन्तराष्ट्रिय नाकाका रुपमा विकास गर्न चाहेको छ। तातोपानी नाका बन्द भएपछि अहिले यो नाका मात्रै सञ्चालनमा रहेको छ। केरुङ काठमाडौं रेलमार्ग पनि यहि नाका हुँदै नेपाल आउने छ।

उपल्लो मुस्ताङको चीनसँग जोडिने कोरला नाकामा पनि बन्दगाह निर्माण गर्न लागिएको छ। पहिलो चरणमा गरेको प्रारम्भिक अध्ययनले बन्दरगाह निर्माण सम्भव देखाएपछि दोस्रो चरणको अध्ययन गर्न लागिएको समितिका इलेक्ट्रिकल इन्जिनियर हरेकृष्ण मिश्रले जानकारी दिए।

उनका अनुसार दोस्रो चरणको अध्ययनको लागि आशयपत्र माग गरिएको छ। छनोट भएको कम्पनीले आगामी एक वर्षमा अध्ययन रिपोर्ट दिने छ। सोही रिपोर्टका आधारमा बन्दरगाह निर्माणको बाँकी प्रक्रिया अघि बढाइने इन्जिनियर मिश्रले जानकारी दिए।

सरकारले भन्सार बिन्दुलार्इ सहजीकरण गर्नका लागि बन्दरगाहको निर्माण तथा सञ्चालनमा रहेका बन्दरगाहमा पुर्वाधारको विकास गर्दै आधुनिकरण गर्ने लक्ष्य राखेर काम गरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell