PahiloPost

Nov 13, 2018 | २७ कात्तिक २०७५


तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा २०० भन्दा बढी धावक सहभागी हुने


पहिलोपोस्ट

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा २०० भन्दा बढी धावक सहभागी हुने

काठमाडौं : तेन्जिङ-हिलारी एभरेष्ट म्याराथनको १५औं संस्करणमा ३० देशका २०० भन्दा बढी धावक सहभागी हुने भएका छन्।

प्रथम पटक सगरमाथा आरोहण भएको दिन अर्थात मे २९ तारिखमा उक्त म्याराथन आयोजना हुँदैछ। त्यसका लागि धावकहरु भोली समगरमाथा आधारशिविरतर्फ जाने आयोजक हिमालय एक्सपिडिसन्सले जनाएको छ।

आयोजकका अनुसार आधार शिबिरबाट शुरु भइ नाम्चेबजारमा समापन हुने म्याराथनमा तीन मुख्य स्पर्धा हुनेछ। जसमा ओलम्पिक स्तरको ४२.१९५ किलोमिटरको फुल म्याराथन, ६० किलोमिटरको अल्ट्रा म्याराथन र २१ किलोमिटरको हाफ म्याराथन छन्। फुल म्याराथनमा खुल्ला, महिला र विदेशी गरी तीन छुट्टै विधा समावेश छ।

म्याराथनका इभेन्ट म्यानेजर शिखर पाँडेले तीन विधाका दौडका लागि पूर्वमा जापानदेखि पश्चिममा पेरुसम्मका ३० देशका झन्डै १५० बिदेशी धावक सहभागी हुने बताए। ‘म्याराथन प्रत्येक वर्ष बिस्तार भैराखेको हामीले अनुभव गरेकाछौं। बिगत १५ वर्षमा एभरेष्ट म्याराथन नेपालको मात्र नभई विश्वकै एक अग्रणी साहसिक खेलकुद गतिबिधिको रुपमा स्थापित भैसकेकोछ,’ पाँडेले भने।

एभरेष्ट म्याराथनमा सहभागी धावकहरु विश्वकै चर्चित ट्रेल रनिङ प्रतियोगिताहरुमा सहभागी भइ उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकाछन्।

आयोजका अनुसार ११९ विदेशी धावक फुल म्याराथनमा, ११ जना हाफ म्याराथनमा र ७ जना अल्ट्रा दौडमा सहभागी हुँदैछन। तिनै स्पर्धामा ५० भन्दा बढी नेपाली धावकहरुको सहभागिता रहने अनुमान रहेको पाँडेले बताए।

फुल म्याराथनको खुल्ला स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश नगद २ लाख, १ लाख र ७५ हजार पुरस्कार पाउनेछन्।

त्यस्तै महिला स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: १ लाख, ७५ हजार र ५० हजार पुरस्कार पाउनेछन् भने विदेशीतर्फ उत्कृष्ट तीन खेलाडीले क्रमश: ५० हजार, ३५ हजार र २५ हजार हात पार्नेछन्।

यस्तै अल्ट्रा दौडका उत्कृष्ट तीन खेलाडीले क्रमश: १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार पाउनेछन् भने हाफ म्याराथनका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ५० हजार, ३५ हजार र २५ हजार प्राप्त गर्नेछन्।

फुल म्याराथन र हाफ म्याराथन सगरमाथा आधार शिविरबाट शुरु भइ नाम्चेबजारमा समापन हुनेछ भने हाफ म्याराथन दिङ्गबोचेबाट शुरु भइ नाम्चेबजारमा समापन हुनेछ।

एभरेष्ट म्याराथनका परिकल्पनाकार बिक्रम पाँडे काजीले २००३ मा अत्यन्त थोरै धावकहरु जम्मा पारेर शुरु गरिएको एभरेष्ट म्याराथन हाल विश्वकै एक उत्कृष्ट साहसिक खेलकुद गतिबिधिका रुपमा विकास हुनु मुलुकको सिंगो पर्यटन र खेलकुद क्षेत्रलाई सुखद समाचार भएको बताए।



तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा २०० भन्दा बढी धावक सहभागी हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट