PahiloPost

Jul 17, 2018 | १ साउन २०७५

आजै एमाले-माओवादी एक हुने : माओवादीलाई ४५%, सूर्य चुनाव चिह्न बन्ने, 'जनयुद्ध' विधानमा, 'जबज' र माओवाद थाती रहने


विधुर ढकाल/पहिलोपोस्ट

आजै एमाले-माओवादी एक हुने : माओवादीलाई ४५%, सूर्य चुनाव चिह्न बन्ने, 'जनयुद्ध' विधानमा, 'जबज' र माओवाद थाती रहने
काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार नै पार्टी एकताको तयारी भइरहेको छ। यस विषयमा छलफल गर्न दुबै दलले आकस्मिक रुपमा पार्टीका बैठक बोलाएका थिए।
 
बुधबार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो। सोही छलफलपछि एमालेले आकस्मिक रुपमा स्थायी समितिको बैठक बोलाएको थियो।
 
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बिहीबार नै पार्टी एकता गर्ने निर्णय भएको जानकारी दिएका थिए।
 
एमाले उपाध्यक्ष वामदेव गौतमका अनुसार भोलि बिहान बस्ने एकता संयोजन समितिको बैठकले एकताको निर्णय गर्ने र सोही अनुरुप भोलि नै एकताको घोषणा गरिने छ।
 
उनले दिनभर एकताका सबै प्रक्रिया पूरा गर्ने, निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने र साँझ एकताको घोषणा गर्ने जानकारी दिए।

माओवादीलाई ४५ प्रतिशत 

यसैबीच एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ जसमा प्रतिशत नभने पनि ४५ प्रतिशत माओवादी केन्द्रले पाउने र बाँकी ५५ प्रतिशत एमालेले राख्नेसमेत सहमति भएको छ।

सहमति अनुसार २०० सदस्य माओवादीको भागमा र २४१ सदस्य एमालेको भागमा पर्ने छन्।

त्यस्तै पार्टीको स्थायी समितिमा ४३ सदस्य रहने सहमति जुटेको छ। सहमति अनुसार स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माओवादी केन्द्रबाट रहने बैठकमा अध्यक्ष ओलीले जानकारी गराएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए।

चुनाव चिह्न सूर्य, 'जनयुद्ध' विधानमा

त्यस्तै एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य कायम रहने सहमति भएको छ। 

त्यस्तै पार्टीको विधानमा 'जनयुद्ध' र विभिन्न कालखण्डमा भएका आन्दोलनलाई समेट्ने विषयमा समेत सहमति जुटेको छ। यस अगाडि एमालेले 'जनयुद्ध'लाई 'सशस्त्र द्वन्द्व' भन्दै आएको थियो। 

त्यस्तै पार्टीका सिद्धान्त मार्क्सवाद र लेनिनवाद हुनेछ भने जनताको बहुदलीय जनवाद (जबज) र माओवादलाई थाँती राखिएको छ। जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई एउटै विन्दुमा समेट्न जनताको जनवाद राख्ने गरी सहमति जुटेको छ।

बुधबार भएको दुई अध्यक्षबीचको बैठकका यी निर्णलाई बिहीबार बस्ने एकता संयोजन समितिको बैठकले अनुमोदन गर्नेछ। 

यसैबीच पार्टी एकताको विषयमा छलफल गर्नका लागि बिहीबार बिहान ११ बजे एमालेले आकस्मिक रुपमा केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। बैठकपछि एमालेले आफ्नो केन्द्रीय कमिटी विघटन गर्ने तयारी समेत गरेको छ।

माओवादी केन्द्रमा प्रचण्डको प्रस्ताव पारित 

माओवादी केन्द्र पनि एकताको अन्तिम निर्णय गर्न आन्तरिक रुपमा छलफलमा जुटेको छ। बुधबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई पारित गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। 

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकताबारे रिपोर्टिङ गरेका थिए।  बैठकबारे जानकारी दिँदै प्रवक्ता भुसालले भनिन्, “पार्टी एकता संयोजन समितिको बैठक बसेर बिहीबार पार्टी एकता गर्ने निर्णय भएको छ।” 


आजै एमाले-माओवादी एक हुने : माओवादीलाई ४५%, सूर्य चुनाव चिह्न बन्ने, 'जनयुद्ध' विधानमा, 'जबज' र माओवाद थाती रहने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट