PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'लुट' निर्माता फँसे कि फँसाइए : के फिल्मका लागि नक्कली नोट छाप्न पाइन्छ?



सविन ढकाल

'लुट' निर्माता फँसे कि फँसाइए : के फिल्मका लागि नक्कली नोट छाप्न पाइन्छ?

काठमाडौः बैंक लुटे पनि प्रहरीको फन्दामा नपर्ने कथा रहेको नेपाली फिल्म ‘लुट’निर्माण गरेर दर्शकको वाहवाही पाउन सफल निर्माता माधव वाग्ले यतिखेर प्रहरी हिरासतमा छन्।

नक्कली नोट छापेर बजारमा लगेको गम्भीर आरोपमा प्रहरीले निर्माता वाग्लेलाई बुधवार नियन्त्रणमा लिएको हो। निर्माता वाग्लेको कोठाबाट मात्रै हजार दरका नक्कली नोट २ करोड ५२ लाख रुपैयाँ बरामद भएको छ।

प्रहरी हिरासतमा रहेका निर्माता वाग्ले आफूले फिल्म प्रयोजनको लागि नक्कली नोट बनाएको र आफूसँग काम गर्ने केटाहरूले फँसाएको भन्दै आफ्नो बचाउ गरिरहेका छन्।

निर्माता वाग्लेको बचाउमा निर्माता संघसमेत थपिएको छ। निर्माता संघका महासचिव रोज राणाले बुधबार जारी गरेको विज्ञप्तिमा वाग्लेलाई फँसाइएको दावी गरिएको छ। विज्ञप्तिमा फिल्मको सुटिङका लागि यसअघि पनि नक्कली नोट छाप्ने प्रचलन रहेको बताइएको छ। 

के फिल्म प्रयोजनको लागि नक्कली नोट छाप्न पाइन्छ त? 

राष्ट्रबैंक भन्छ : नक्कली छाप्न  पाइँदैन

नक्कली नोट छाप्न कसैलाई पनि अधिकार नभएको राष्ट्र बैंक बताउँछ। ‘कानुन हेर्ने हो भने नक्कली नोट छाप्न कसैलाई स्वीकृति छैन’, राष्ट्र बैंकका नोट विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले पहिलोपोस्टलाई बताए। 

उनले भने, ‘नक्कली नोट छाप्नु भनेकै गैरकानुनी कुरा हो। फिल्मको लागि पनि स्वीकृति र छुटको व्यवस्था छैन।‘

प्रहरीले वाग्लेको कोठाबाट बरामद गरेको कुनै नोटको छेउमा ‘नक्कली चलचित्र प्रयोजनको लागि’ लेखिएको छ।  प्रमुख निरौला सानो अक्षरमा लेखेर झुक्याउने नियत भएको बताउँछन्।

ठ्याक्कै नोट जस्तै देखिने गरी छापिनु गैरकानुनी भएको सरकारी वकिल कार्यालयका प्रमुख तथा उपन्यायाधिवक्ता सूर्यराज दाहालको दाबी छ। उनले पहिलोपोस्टलाई भने, ‘कानुनले फिल्मको लागि भनेर पनि नक्कली नोट छाप्न अधिकार दिएको छैन।‘

पत्रकार सम्मेलन स्थगित

निर्माता वाग्लेको निर्माणमा ‘चङ्गा चेट’ फिल्म बनिरहेको छ जसलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन्। चलचित्र निर्माता संघद्वरा जारी विज्ञप्तिमा पनि वाग्लेले छायाँकनरत फिल्म 'चङ्गा चेट' लागि नक्कली नोट  बनाएको उल्लेख छ। 

छायाँकनका लागि नक्कली नोटको प्रयोग गरेको र त्यससम्बन्धी सत्यतथ्य जानकारी गराउन फिल्म युनिटले आज पत्रकार सम्मेलन गर्ने भनेका थिए। तर  विशेष कारण देखाउँदै कार्यक्रम स्थगित गरियो। 

'चङ्गा चेट'को निर्देशक दीपेन्द्र के खनालले बिहीबार दिउँसो पहिलोपोस्टसँग कुरा गर्दै आफूलाई ती नोटबारे थाहा नभएको बताए। 

निर्देशनका लागि चाहिने सामाग्री आर्ट डाइरेक्टर या त प्रडक्शनलाई भनिदिएपछि त्यो जिम्मेवारी उनीहरुको हुने उनले बताए। भने 'मैले निर्देशन गर्ने हो। सामाग्री यो-यो चाहिन्छ भनेर। तर सामाग्री  कसरी कहाँबाट कसरी ल्याइन्छ त्यो मलाई थाहा हुँदैन।‘

‘केस अदालतमा पुगिसक्यो। अपराध गरेको छ भने सजाय हुनुपर्छ। कानुन भन्दा कोही माथि छैन। अदालतको निर्णय पर्खनु सिवाय अरु विकल्प छैन,' उनले थपे।  

पत्रकार सम्मेलन स्थगन गरिएको विषयमा उनले भने, ‘छायाङ्कनको फुटेज देखाउन पत्रकार भेट गर्ने भनेका थियौं। तर यो माधव दाइको कुरा हो, हामीले बोलेको केही गलत भयो भने भोलि उहाँलाई गाह्रो हुन्छ।‘

स्वीकृति कहाँ लिने?

चलचित्र निर्माणको लागि नक्कली नोट प्रयोग गर्नुपर्ने भएमा के गर्नुपर्ने भन्नेबारे केही नियम नै छैन। निर्माता वाग्लेले कतै स्वीकृति लिएको पनि नदेखिएको निर्माता संघका महासचिव रोज राणाले नै स्वीकार गरेका छन्। 

उनले भने, स्वीकृति नलिएर एउटा गल्ती भएको छ। भूलबस भएको गल्ती हो। उहाँले भन्दा पनि उहाँका केटाहरूले फँसाएको देखियो।‘ 

निर्मातासमेत रहेका राणा आफूले निर्माण गरेको चलचित्रमा नक्कली नोट प्रयोग गर्नु नपरेको र यसका लागि स्वीकृति लिने ट्रेन्ड नहुँदा पनि समस्या आएको दाबी गर्छन्। 

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ को दफा ३ अनुसार फिल्म निर्माण गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा दरखास्त दिई इजाजत पत्र लिनुपर्छ।  
चलचित्र विकास बोर्डले हतियार तथा नोट प्रयोग गर्ने विषयमा स्वीकृति दिँदैन : नीकिता पौडेल

फिल्मको लागि प्रयोग हुने हतियार तथा संवेदनशील चिजवस्तु प्रयोग गर्न चलचित्र विकास बोर्डले कुनै स्वीकृत नदिने गरेको बोर्डकी अध्यक्ष नीकिता पौडेलले बताइन्। पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन्, बोर्डले हतियार तथा नोट प्रयोग गर्ने विषयमा स्वीकृति दिँदैन।‘

यसअघि कसरी हुन्थ्यो नक्कली नोटको सुटिङ?

यसअघि पनि नेपाली फिल्ममा ठूलो मात्रामा नोट भएको दृश्य देखाइएका छन्। त्यहाँ पनि नक्कली नोट नै प्रयोग भएका थिए त? 

निर्माता प्रदीप उदय यसअघि नेपाली चलचित्रमा नक्कली नोटको खासै प्रयोग नभएको बताउँछन्। भन्छन्, ‘ठूलो संख्यामा नोट देखाउनुपर्‌यो भने सक्कली नोट माथि र तल राखेर बीचमा कागजको बिटो राखेर रबरले बाँधेर देखाउने गरेका थियौँ।‘ 

प्रहरी तथा सेनाको दृश्य र हतियार सुटिङ गर्दा भने सम्बन्धित निकायबाट स्वीकृति लिएर मात्र काम गर्ने गरेको पाइएको छ। ‘संवेदनशील कुरा सुटिङ गर्दा सम्बन्धित निकायसँग स्वकृति लिने गरेका छौँ,’ निर्माता उदयले भने। प्रहरीको पोशाक र हतियार प्रयोग गर्दा पनि स्वीकृति लिने गरेको उनले बताए।

नेपाल प्रहरीले आफ्नो वेबसाइटमा नै प्रहरीको भवन, गाडी, पोशाक र हतियार प्रयोग गर्न घण्टा अनुसारको भाडा लाग्ने भनी शुल्क नै सार्वजनिक गरेको छ।  

निर्मात्रीसमेत रहेकी नीकिता आफ्नो चलचित्रमा नक्कली पैसा प्रयोग नभएको र ठूलो मात्रमा पैसा देखाउनु परे कुनै त्यस्तो व्यवस्था नभएको बताउँछिन्।

नेपाली फिल्म क्षेत्रका पाका निर्माता भनेर चिनिएका निर्माता छविराज ओझा आफ्ना फिल्ममा पनि नक्कली नोट प्रयोग भएको स्वीकार्छन्। २० वर्ष अगाडि छापाखानामा गएर उही साइजको सेतो कागज काटी अगाडि र पछाडि सक्कली नोट हालेर देखाउने गरेको उनले बताए। 

‘पछि पछि भने कलर फोटो गरेर पनि देखाउने गरेका थियौँ, निर्माता छवि ओझाले पहिलोपोस्टलाई बताए।

बहसको विषय 

अहिलेसम्म नेपाली फिल्ममा प्रयोग हुने नक्कली नोट प्रयोग गर्ने कुनै नियम नै छैन। निर्माता छवि ओझा यो घटनाले अब सबैलाई सचेत गराउने र नयाँ नियमको लागि तदारुकता देखाउने दाबी गर्छन्। 

चलचित्रमा रियालिटी देखाउन नोट आवश्यक छ, तर कानुन छैन। त्यसैले नयाँ नियमको खाँचो छ।
छापाखानामा गएर उही साइजको सेतो कागज काटी अगाडि र पछाडि सक्कली नोट हालेर देखाउने गरेका थियौँ : छवि ओझा

निर्माता प्रदिप उदय पनि चलचित्रको लागि स्पष्ट कानुनी व्यवस्था बनिनसक्दा समय-समयमा समस्या आउने गरेको बताउँछन्। 

अमेरिकामा पनि 'फर मोसन पिक्चर्स युज वन्ली' लेखी नक्कली डलरको नोट छाप्ने र फिल्म र म्युजिक भिडियोहरुको सुटिङमा प्रयोग गर्ने प्रचलन छ। अमेरिकामा नक्कली सामानहरुको व्यापार गर्ने 'प्रप' कम्पनीहरु पनि हुन्छन्। फिल्म प्रयोजनकै लागि लेखेर छापिएको नोट पनि बजारमा गएर प्रहरीलाई हैरान बनाएका उदाहरण पनि छन्। 

के सजाय हुन्छ? 

निर्माता वाग्लेसहित ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले मुलुकी ऐनको महल ६ मा रहेको खोटा चलन अनुसारको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थपेको छ। 

‘निर्माता वाग्लेले नियतवश नक्कली नोट छापेर आफूसँग राखेको देखिएकोले अनुसन्धान अगाडि बढाएका हौँ’, एसएसपी विश्वराज पोखरेलले बताए। 

‘बजारमा यस्ता नक्कली नोट कति गयो भन्ने खोजी गरिरहेका छौँ’, उनले भने। 

खाजाघरका सञ्चालकले ग्राहकले तिरेको नोट नक्कली भएको शंका लागेर प्रहरीलाई खबर गरेपछि भएको अनुसन्धानमा नक्कली नोटको जालो फेला परेको थियो। 

अदालतमा दोषी प्रमाणित भए ऐन अनुसार बिगो बमोजिमको जरिवानासहित बढीमा १० वर्ष सजाय हुनसक्छ। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell