PahiloPost

Dec 13, 2018 | २७ मंसिर २०७५


पारस खड्का वर्षको उत्कृष्ट खेलाडी घोषित, 'मेरो लागि सरप्राइज' - पारस


गोविन्दराज नेपाल

पारस खड्का वर्षको उत्कृष्ट खेलाडी घोषित, 'मेरो लागि सरप्राइज' - पारस

काठमाडौं: नेपाली क्रिकेटका कप्तान पारस खड्का यस वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन्। नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजना गरेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १५औँ संस्करण पल्सर स्पोर्ट्स अवार्ड-२०७४’मा उनी उत्कृष्ट घोषित भएका हुन्।

वर्षको उत्कृष्ट खेलाडी पारससँगै सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंक बहादुर कार्की मनोनयनमा परेका थिए।

आफू उत्कृष्ट घोषित भएपछि पारसले 'सरप्राइज' भएको प्रतिक्रिया दिए। 'सन्दिपले यो अवार्ड पाउनेमा म ढुक्क थिएँ, मैले पाउनु भनेको सरप्राइज हो', उनले भने। पारसले सबैलाई धन्यवाद दिए।

उत्कृष्ट युवा खेलाडी सन्दीप, उत्कृष्ट प्रशिक्षक टमाटा


युवा खेलाडी सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी घोषित भए। युवातर्फ सन्दीप लामिछानेसँगै क्रिकेटकै दीपेन्द्र सिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल मनोनयनमा परेका थिए।

नेपालबाहिर रहेकाले उनको अवार्ड विनोद दासले रिसिभ गरेका छन्।

यसैगरी उत्कृष्ट प्रशिक्षकमा क्रिकेटकै जगत टमाटा घोषित भए। उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका टमाटा र विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापामगर मनोनयनमा परेका थिए।

यस्तै वर्षको उत्कृष्ट महिला खेलाडीमा ब्याडमिन्टनकी शोभा गौचन घोषित भएकी छन्। मनोनयनमा शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ थिए।

कुन विधामा कसलाई अवार्ड

उत्कृष्ट वर्ष पुरुष खेलाडी - पारस खड्का, क्रिकेट
उत्कृष्ट वर्ष महिला खेलाडी - शोभा गौचन, ब्याटमिन्टन
उत्कृष्ट युवा वर्ष खेलाडी- सन्दीप लामिछाने, क्रिकेट
उत्कृष्ट प्रशिक्षक - जगत टमाटा, क्रिकेट
स्पेशल अवार्ड - करण केसी, क्रिकेट
लाइफटाइम एचिभमेन्ट अवार्ड - अशोक केसी, फुटबल
पल्सर पिपुल्स चोइस अवार्ड - स्यान्टु श्रेष्ठ, टेबलटेनिस
पारा एथलेट अवार्ड - हिमाल अर्याल, क्रिकेट

 



पारस खड्का वर्षको उत्कृष्ट खेलाडी घोषित, 'मेरो लागि सरप्राइज' - पारस को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट