PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

क्रिकेटमय स्पोर्टस् अवार्ड, फुटबलका अशोक केसीलाई लाइफटाइम अचिभमेन्ट



गोविन्दराज नेपाल

क्रिकेटमय स्पोर्टस् अवार्ड, फुटबलका अशोक केसीलाई लाइफटाइम अचिभमेन्ट

काठमाडौं : वर्ष २०७४ नेपाली क्रिकेटका लागि उपलब्धिमूलक रहेको थियो। नेपाली क्रिकेटले इतिहासमै पहिलो पटक आइसीसीको वान डे इन्टरनेशनल स्ट्याटस पायो। क्रिकेटकै युवा स्टार सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग र क्यारेवियन प्रिमियर लिग सिपिएलमा अनुबन्ध हुने पहिलो खेलाडी बने।

पछि उनै लामिछाने आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बने र दिल्लीको लागि खेलेको पहिलो खेलमै उत्कृष्ट बलिङ गर्दै विकेट लिन समेत सफल भए।

यिनै क्रिकेटका स्टारहरुले नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ)ले आयोजना गरेको 'बजाज पल्सर स्पोर्टस् अवार्ड-२०७४' बर्चस्व जमाए।

नेपाललाई ओडिआई स्ट्याटस दिलाउने कप्तानदेखि प्रशिक्षक र त्यसमा संलग्न अन्यले पनि अवार्ड हात पारे। कूल ८ विधामध्ये क्रिकेटले ४ अवार्ड पायो। जसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट युवा र स्पेशल अवार्ड समावेश थियो।

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का उत्कृष्ट खेलाडी चुनिँदा जगट टमाटा वर्षको उत्कृष्ट प्रशिक्षक र सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी घोषित भए।

यस्तै डिभिजन टू को महत्वपूर्ण खेलमा शानदार ब्याटिङ गर्दै नेपाललाई वर्ल्डकप क्वालिफायरसम्म पुर्‍याउन मद्दत गरेका क्रिकेटकै करण केसीले स्पेशल अवार्ड जिते।

यसबाहेक फुटबलका अशोक केसीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो।

जनताको भोटको आचारमा विजेता चयन हुने विधा पिपुल्स च्वाइस अवार्ड भने टेबलटेनिसका श्यान्टु श्रेष्ठले हात पारे। उनले क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ लगायतलाई पछि पारे।

यस्तै वर्षको उत्कृष्ट खेलाडी ब्याड्मिन्टनकी शोभा गौचन घोषित भइन्। क्रिकेट र बास्केटबल दुवै खेल्ने हिमाल अर्यालले पारा एथलिट अवार्ड प्राप्त गरे।

 

विधागत उत्कृष्टहरु

उत्कृष्ट वर्ष पुरुष खेलाडी : पारस खड्का, क्रिकेट

क्रिकेट टिमका कप्तान पारस खड्का नेपाललाई ओडिआई स्ट्याटस दिलाउने नेपालको पहिलो कप्तान हुन्। उनले वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा १ शतक र २ अर्धशतकसहित सर्वाधिक २४१ रन बनाएका थिए। यस्तै आइसीसी वर्ल्डकप क्वालिफाएरमा २ अर्धशतकसहित २३१ रन बनाएका थिए।

यिनै प्रदर्शनको आधारमा वर्षको उत्कृष्ट खेलाडी चयन भएका पारसले क्रिकेटकै सन्दीप लामिछाने, गल्फका टंक कार्की, जुडोका इन्द्रबहादुर श्रेष्ठ र ब्याड्मिन्टनका दीपेश धामीलाई पछि पारे। अवार्ड पाएपछि पारसले आफू सरप्राइज भएको र सन्दीपले अवार्ड पाउँछ जस्तो लागेको प्रतिक्रिया दिए।
पल्सर स्पोर्टस अवार्डमा पारसले वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेको यो चौथो र समग्रमा पाँचौ अवार्ड हो। उनले २०६६, २०६९ र २०७० मा वर्षको उत्कृष्ट खेलाडी पुरुष तथा २०६४ मा वर्षको उत्कृष्ट खेलाडी युवाको अवार्ड जितेका थिए।

उत्कृष्ट वर्ष महिला खेलाडी : शोभा गौचन, ब्याटमिन्टन

क्रिकेट बाहेक वर्ष २०७४ मा नेपालका ब्याड्मिन्टन खेलाडीले पनि अन्तर्राष्ट्रिय सफलता हात पारेका थिए। त्यसैको नतिजास्वरुप ब्याड्मिन्टन खेलाडी शोभा गौचन उत्कृष्ट महिला खेलाडी घोषित भइन्। गौचनले गतवर्ष योनेक्स सनराइज पाकिस्तान इन्टरनेशनल सिरिजमा दीपेश धामीसँगै मिक्स डबल्सको उपाधि जितेका थिए। यस्तै घरेलु कोर्टमा भएको नेपाल इन्टरनेशनल सिरिजमा पनि धामीसँगै मिक्स डबल्समा उपविजेता बनेका थिए। घरेलु प्रतियोगितामा उनले जेष्ठ ब्याड्मिन्टनको पनि मिक्स डबल्सको उपाधि जितेकी थिइन्।

उत्कृष्ट युवा वर्ष खेलाडी : सन्दीप लामिछाने, क्रिकेट

वर्ष २०७४ भरि नै नेपालका युवा क्रिकेट स्टार सन्दीप लामिछाने चर्चामा छाइरहे। नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुका साथै आइपीएल र सिपिएलमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले २०७५ सालमा आइपीएलमै डेब्यु गरिसके।

गत वर्ष नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका सन्दीपले वर्षभरी कूल ८४ विकेट लिए। जुनमा ३५ विकेट राष्ट्रिय टिमका लागि थियो। आइसीसी यू-१९ वर्ल्डकप छनोटमा २४ विकेट लिएका सन्दीपले वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा १७ विकेट लिएका थिए। साथै उनी उत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए। डिभिजन टू मै सन्दीपले केन्या विरुद्ध २० रन खर्चेर ५ विकेट लिएका थिए। जुन लिस्ट ए मा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन हो।

सन्दीपले युवा खेलाडीको अवार्ड जित्ने क्रममा क्रिकेटकै दीपेन्द्र सिंह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान, बक्सिङकमी पुनम रावल, फुटबलका दिनेश हेन्जनलाई पछि पारे।


उत्कृष्ट प्रशिक्षक - जगत टमाटा, क्रिकेट

नेपाललाई ओडिआई स्ट्याटस दिलाउने प्रशिक्षक। आइसीसी वर्ल्डकप क्वालिफाएरमा नेपाललाई आठौँ स्थान दिलाउन योगदान गरेका थिए। वर्ल्ड क्रिकेट लिगमा नेपाललाई शीर्ष दुईमा पुर्‍याउन योगदान गरेका प्रशिक्षक। उनको प्रशिक्षणमा नेपालले २०७४ मा १५ मध्ये ६ खेल जितेको थियो। नेपाली प्रशिक्षक भएर पनि नेपाललाई ऐतिहासिक उपलब्धी दिलाउन सफल प्रशिक्षक बनेका टमाटाले यसका लागि क्रिकेटकै विनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरु, ब्याड्मिन्टनका जयन्त के श्रेष्ठ र बक्सिङका प्रकाश थापा मगरलाई पछि पारे।


पिपुल्स च्वाइस अवार्ड - स्यान्टु श्रेष्ठ, टेबलटेनिस

पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक हुँदा टेबलटेनिसका श्यान्टु सम्भवत कम चर्चित खेलाडी थिए। तर उनै श्यान्टुले चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने, फुटबलकमा किरण चेम्जोङ, भलिबलका मान बहादुर श्रेष्ठ र गल्फकी प्रतिमा शेर्पालाई पछि पारिन्।

श्यान्टुले सर्वाधिक ४१.५१ प्रतिशत भोट प्राप्त गरे। यस अवार्डका लागि एक महिनाको अवधीमा कूल ३ लाख ४४ हजार ३८५ भोट प्राप्त भएको थियो। यस्तै दोस्रो भएका मानबहादुरले १५.०१ भोट पाए। सन्दीपले पनि मानबहादुर समान भोट नै पाए। यस्तै किरणले १३.३२ तथा प्रतिमाले ८.५२ भोट प्राप्त गरे।

पिपुल्स च्वाइस अवार्डका लागि एसएमएस भोटिङ र फेसबुक लाइकको ५० प्रतिशत तथा प्रशिक्षक र एनएसजेएफ सदस्यको समान २५ प्रतिशत भोट रहेको थियो।

अवार्ड पाएपछि श्यान्टुले आफू एकदमै खुशी भएको र बोल्नजे कुनै शब्द नभएको बताए। 'एकदमै खुशी छु। के बोल्ने नै थाहा छैन। यो अवार्ड म बुबालाई डेडिकेट गर्न चाहन्छु। सबैलाई धन्यवाद।'

स्पेशल अवार्ड - करण केसी, क्रिकेट

स्पेशल अवार्ड वर्षभरि कुनै त्यस्तो अनौठो काम गरेका खेलकर्मीलाई प्रदान गर्ने अवार्ड हो। वर्ष २०७४ मा पनि करण केसीले त्यस्तै अद्भुत प्रदर्शन गरे नेपाली क्रिकेट टोलीका लागि।

नामिबियामा भएको डिभिजन टू को मस्ट विन गेममा हार नजिक पुगेको नेपाललाई एकल प्रदर्शनमा जित दिलाएङ्का क्रिकेटर करणले २०७४ को स्पेशल अवार्ड पाए। उनले क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाल ४२.१ ओभरमा १४४ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो। त्यसबेला नेपाल लगभग हार नजिक थियो। तर, दशौँ नम्बरमा क्रिज पुगेका करणले चमत्कारिक खेल प्रदर्शन गर्दै दशौँ विकेटका लागि सन्दीप लिमछानेसँग नटआउट ५१ रनको साझेदारी गर्दै जित दिलाए। करणले ३१ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा नटआउट ४२ रन बनाएका थिए। उक्त जितपछि नेपाल शीर्ष दुईमा रहँदै वर्ल्डकप क्वालिफाएरका लागि छनोट भएको थियो। पछि गएर त्यही प्रदर्शन नेपाललाई ओडिआई स्ट्याटस दिलाउने आधार बन्यो।


लाइफटाइम एचिभमेन्ट अवार्ड - अशोक केसी, फुटबल

अशोक केसीलाई चिन्ने कमै भए पनि उनै आफ्नो जमानाका चर्चित फुटबल खेलाडी थिए। चाचाजी नामले चर्चित उनी नेपाली फुटबलको पहिलो पुस्ताका सुपर स्टार नै हुन्। टुकुचावारी र पारीबीचको प्रतिस्पर्धाले रंगशालालाई रणसंग्राम बनाउने बेलाका सेलेब्रेटी फुटबलर।

फुटबलसँगै केसीले क्रिकेट पनि खेले। काठमाडौं खेल मण्डलका लागि केसीले खेल्दा विपक्षी नै कायल हुन्थे। गोलकिपरबाहेक बाँकी १० पोजिसनमा उत्तिकै प्रदर्शन गर्ने चाचाजी गोल गर्नमा माहिर थिए। बाइसाइकल किकबाट गोल गर्न झनै माहिर थिए।

 

पारा एथलेट अवार्ड - हिमाल अर्याल, क्रिकेट/बास्केटबल

पारा एथ्लेट अवार्ड सबालांग भन्दा फरक भएर पनि नेपाली खेलकुदमा उत्कृष्ट प्रदर्नशन गर्ने खेलाडीलाई दिने अवार्ड हो। जसले बाँकी त्यस्ता खेलाडीलाई पनि प्ररित गरोस्।

नेपाली ह्विलचियर बास्केटबल टिम र ह्विलचियर क्रिकेट टिमका कप्तान समेत रहेका उनै हिमाल अर्यालले यो अवार्ड पाए। २०७४ सालमा नेपालले घरेलु मैदानमा दक्षिण एसियाली ह्विलचियर बास्केटबल र क्रिकेटको उपाधि जित्दा उनै हिमाल टोलीका कप्तान थिए।

मेरुदण्ड गुमाएर कम्मरमुनिको भाग नचल्ने भए पनि नेपाली सेनाको ह्विलचियर क्रिकेट र कास्बेटबल टोलीलाई उनले कप्तानी गर्दै राष्ट्रिय च्याम्पियन बनाए। २०६० सालमा कात्तिक २९ गते मकवानपुरको भिमफेदीमा तत्कालिन माओवादीको एम्बुस आक्रमणमा परेर उनले मेरुदण्ड गुमाएका थिए। तर त्यसपछि निरन्तर संघर्ष गर्दै अगाडी बढेका हिमाल अपांगत भएका क्यक्तिलाई जीवनप्रती उत्साह सञ्चार गराउन सफल भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell