PahiloPost

Sep 20, 2018 | ४ असोज २०७५

दुई अध्यक्ष किन? टेम्पो चलाए जस्तो हैन, जेटमा दुईजना पाइलट हुन्छ : ओली


दुई अध्यक्ष किन? टेम्पो चलाए जस्तो हैन, जेटमा दुईजना पाइलट हुन्छ : ओली

काठमाडौँ : नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई गठन भएको नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षमध्ये एक केपी शर्मा ओलीले दुई अध्यक्ष रहनुको औचित्य स्पष्ट गरेका छन्। 

'कतिपयलाई लाग्ला दुई दुई जना अध्यक्ष, के गर्‍या यस्तो', राष्ट्रिय सभामा आयोजित एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'टेम्पो चलाए जस्तो हैन, जेटमा दुई जना नै पाइलट हुन्छन्। आवश्यकताले यस्तो कुरा ल्याउँछ। महाअभियान चलाउन दुई जनाले सल्लाह र विश्लेषण गरी गरीकन अघि बढ्न यस्तो गरेका हौँ।'

'पुष्पलाल नाच्नुहुन्थ्यो'

जीवनमै सबैभन्दा खुसी अनुभूति गरेको बताउँदै ओलीले आजको कार्यक्रममा सम्बोधन गर्दा प्रचण्डको गलामात्र अवरुद्ध भएको, पुष्पलाल जीवित भएको भए मञ्चमै खुशीले नाच्ने बताए।

'कतिपयलाई यो कुरा ठट्टा लाग्ला, ६ महिनाअघि के के कुरा ठट्टा लाग्थे सोच्नुस् त', उनले स्मरण गराए।  

हिन्द महासागरमा कोशीको पानी खोजिँदैन

प्रधानमन्त्री ओलीले एकताको विरुद्धमा कोही पनि नभएको बताउँदै दुई पार्टी मिसिएको रुपमा हैन अन्तरघुलन भएको दावी गरे। 'हिन्द महासागरमा कोशीको पानी खोज्न थाल्नु हुन्न। बे अफ बंगालमा गएर हाम्रो कोशीको पानी, सेतीको पानी खोजेर हुन्न', उनले भने। 

ओलीले भने माओवादी सिद्धियो, प्रचण्डले भने एमाले सिद्धियो

दुई पार्टीको संयुक्त केन्द्रीय कमिटीको बैठकमा भएका कुरा ओलीले सुनाए- मैले प्रचण्डजीलाई भनेँ, अब तपाईँको माओवादी केन्द्र सिद्धियो। उहाँले पनि भन्नुभयो तपाईँको एमाले पनि सिद्धियो। त्यही जवाफ सुन्नका लागि भनेको थिएँ। दुईवटै सिद्धियो। 

'एमाले माओवादी केन्द्रमा विलिन भयो। माओवादी केन्द्र एमालेमा विलिन भयो', उनले भने। 

आफूहरुले नयाँ पार्टी स्थापना नगरेको स्मरण गराउँदै उनले २००६ सालमा पुष्पलालले गठन गरेको पार्टी समय क्रममा विभाजन भएकोमा अब एकीकृत भएको बताए। कम्युनिस्टहरु जुट्न जान्दैनन्, फुट्न मात्र जान्छन् भन्ने आरोप अब गलत हुने र फुट्न जान्दैनन् जुट्छन् मात्र भन्ने देखिने उनको उद्घोष थियो। 

नो विन्टर सिजन

स्याउको रुखबाट पात झर्न थालेपछि रुख मर्‍यो कि भन्ने मान्छेहरुलाई पर्ने तर स्याउ लटरम्म फल्न थालेपछि यथार्थ स्पष्ट हुने बताउँदै ‌प्रम ओलीले भने, 'अब कम्युनिस्ट आन्दोलनमा देयर इज नो विन्टर सिजन।'

सरकारसँग यसअघि एक्लै बहुुमत नभएकोमा अब पार्टीको एक्लै बहुमत भएको, ६ वटा प्रदेशमा मिलिजुली सरकार रहेकोमा अब एक्लै बहुमत रहेको, पपुलर भोटमा एक्लै बहुमत रहेको, स्थानीय तहहरुमा एक्लै बहुमत रहेको सम्झाउँदै उनले भने, अब कसैले हल्लाउन र ढाल्न नसक्ने गरी एकल बहुमत छ। 

उनले कम्युनिस्टहरुलाई ससाना पसल थापेर नबस्न र सबैलाई एकजुट हुन पनि आह्वान गरे।  
 



दुई अध्यक्ष किन? टेम्पो चलाए जस्तो हैन, जेटमा दुईजना पाइलट हुन्छ : ओली को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट