PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेकपा घोषणाको दिनभर : कहिले खुमलटार, कहिले बालुवाटार - जापानी विरुवादेखि रात्रीभोजसम्म



विधुर ढकाल

नेकपा घोषणाको दिनभर : कहिले खुमलटार, कहिले बालुवाटार - जापानी विरुवादेखि रात्रीभोजसम्म

काठमाडौं: गत वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘पार्टी एकता थाहै नदिइ ड्याम्मै हुने छ।’

जेठ १ गतेमात्र प्रधानमन्त्री एवं तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘एक दुई दिन पर्खनुस, बालुवाटारमा फोटो खिच्न आउनुहोला।’ 

पछिल्ला समय एमाले र माओवादी केन्द्रबीच असन्तुष्टि र दुरी बढ्दै गएका समाचारहरु बाहिर आएका थिए। यही सेरोफेरोमा बुधबार बिहान दुबै अध्यक्ष बालुवाटारमा गोप्य बैठकमा बसे। त्यही गोप्य बैठकले आज बिहीवार दुबैलाई एउटै पार्टीको अध्यक्षको रुपमा उभ्यायो।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भइ नेपाल कम्युनिष्ट पार्टी बनेको छ। नवगठित नेकपालाई बिहीवार नै निर्वाचन आयोगमा समेत दर्ता गरिएको छ। 

एटम बमले नमारेको  जिन्को बाइलोबा  वृक्षारोपणसँगै एकताको अन्तिम टुंगो


बुधबार बसेको दुई अध्यक्षबीचको बैठकले पार्टी एकतालाई टुंगोमा पुर्‍याएको थियो। सोही अनुरुप बिहीबार १० बजे पार्टी एकता संयोजन समितिको बैठक आह्वान गरिएको थियो। 

सोही अनुरुप बालुवाटारमा दुबै पार्टीका अध्यक्षसहितका शीर्ष नेताहरु विहान १० बजेसँगै पुगेका थिए। बालुवाटारमा नवनिर्मित पार्कमा वृक्षारोपणसँगै एकताको आजको सक्रियता सुरु भएको थियो।
 

विरुवा रोप्दै प्रचण्डः यो विरुवा हुर्किएला त?, उम्रिसक्यो फल्न बाँकी छ–जनार्दन


पार्टी एकता गर्दै एउटै पार्टी बन्दै बनाउँदै गरेका तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालुवाटारमा हिरोसिमा र नागासाकीमा आणविक बम आक्रमणमा समेत नमरेको जापानी विरुवा जिन्को बाइलोबा रोपे। त्यस भन्दा अगाडि सोही बगैचामा प्रधानमन्त्री ओलीले समेत सोही विरुवा रोपे। ओली पछि विरुवा रोप्दै गर्दा प्रचण्डले नजिक रहेका नेताहरुलाई सोधे, ‘यो विरुवा हुर्किएला त?’ नयाँ पार्टी बनाउँदै गर्दा उनको संकेत कता थियो अनुमान लगाउन गाह्रो होला यद्यपि नयाँ पार्टी एक भएर अगाडि बढ्न सक्ला की नसक्ला हेर्न भने बाँकी नै छ। 

यसैबीच विरुवा रोप्दै गर्दा दुवै पार्टीको एकताका सुत्रधार मध्येका एक जनादर्न शर्मा भने आशावादी देखिन्थे। ‘रुख उम्रिसक्यो अब फल्न बाँकी छ।’
 

बालुवाटारमा दिनभरीको रौनक 


बालुवाटारमा दिनभर नेता कार्यकर्ताहरुको रौनक थियो। एकातिर नेता कार्यकर्ताहरु एकापसमा गफिँदै थिए। खुसी साट्दै थिए। बधाईका अंकमाल गर्दै थिए भने अर्कोतिर साँझको रौनकको तयारीमा समेत कामदारहरु लागि परेका थिए।
 
आज साँझ नै बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य, स्थायी समिति सदस्य, सचिवालय, सांसदहरुलाई रात्री भोजको आयोजना गरिएको थियो। दिनभर बालुवाटारमा एकतिर दलको नेता कार्यकर्ताहरुको चहलपहल थियो। अर्का तिर नेपाली सेनाका जवानहरु रात्री भोजको लागि टेन्ट टाँग्दै थिए। 

दिउँसो एमालेका केन्द्रीय सदस्यहरु एकताको निर्णय गर्नका अन्तिम बैठकमा जुटेका थिए। अर्का तिर माओवादी केन्द्रको बैठक प्रचण्ड निवास खुमलटारमा बसेको थियो।

बैठक सकिएलगत्तै खुमलटारबाट बालुवाटारमा माओवादीका केन्द्रीय नेताहरु आइपुगे। त्यसपछि नेताहरुबीच अंकमाल, बधाई र खुसीयाली साटासाट भयो। 

त्यसपछि बसेको संयुक्त बैठकले एकतालाई अनुमोदन गर्दै नेपाल कम्युनिष्ट पार्टीको विधिवत निर्णय गर्‍यो। त्यही बैठकले ओली र प्रचण्डलाई नेकपाको अध्यक्ष बनायो। सोही बैठकले महासचिवमा विष्णु पौडल र प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दियो। 

त्यसपछि निर्वाचन आयोगमा पुगेर नेताहरुले दल दर्ता गराए। 

सभागृहमा नेता कार्यकर्ताको घुईँचो


साँझ ६ बजे तिर एकता घोषणासभा सुरु भयो। यसअगाडि ४ बजे घोषणासभा गर्ने बताइएको थियो। त्यसका लागि ३ बजे नै कार्यकर्ताहरुलाई सभागृहमा बोलाइएको थियो। 

सभागृहको कोचाकोच ६ सय अट्ने हल थियो। घोषणा गर्न कार्यकर्तालाई बोलाइयो। कार्यक्रम सुरु हुनु अगाडि नै हल कार्यकर्ताले भरियो। पछि पुगेका नेताहरु समेत हल बाहिरै देखिन्थे। त्यतिमात्र होइन हलमा पत्रकारहरुलाई समेत स्थान रहेन्। आयोजकले फोटोपत्रकारहरुलाई मात्र प्रवेश गर्न आग्रह गरे। अन्य पत्रकारहरु भने बाहिरै लाउडस्पिकरबाट सुनेर रिपोर्टिङ गरेका थिए।

सभागृह परिसर प्रदर्शनीमार्गमा समेत नेताकार्यकर्ताको भिड थियो। कुनै आमसभामा सहभागी हुन आएका जस्तै कार्यकर्ताहरु सभागृह परिसरको चौरमा बसेका थिए।  

कार्यक्रममा न शहीदलाई श्रद्धाञ्जिली, न त राष्ट्रियगान


कार्यक्रममा ढिलो सुरु भयो। कार्यक्रम छिट्टो सक्ने हतारोमा थिए कार्यक्रमका सञ्चालक तथा पार्टीका महासचिव विष्णु पौडेल। पौडले स्वागतका लागि जनार्दन शर्मालाई बोलाए। जनार्दनले स्वागत गरे गए। 

त्यसपछि वरिष्ठ नेता  माधव नेपाल आए। उनले मन्तव्यसहित घोषणापत्र वाचन गरेर सुनाए। प्रचण्ड र ओली पालै पालो आए। भाषण गरे गए। शहीदहरुलाई सम्मान भन्दै सबैले भाषणमा त जोडे तर कार्यक्रममा शहीदको सम्मानमा मौनधारण भने भएन्। 

यसअगाडिका हरेक जसो कार्यक्रमहरु आमसभा सम्मान शहीदको सम्मानमा मौन धारण गरेर कार्यक्रम सुरु हुन्थ्यो। ऐतिहासिक घोषणको दिन शहीद भने गौण भए। 

न त कार्यक्रममा राष्ट्रिय गान नै भयो। हुन त कार्यक्रमलाई सुरुमा पत्रकार सम्मेलन भनिएको थियो। यद्यपि अन्त्यमा कार्यक्रम घोषणा कार्यक्रमको रुपमा अगाडि बढ्यो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell