PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

किन सुटुक्क प्योङ्याङ पुगे भारतीय विदेश राज्यमन्त्री सिंह?



पहिलोपोस्ट

किन सुटुक्क प्योङ्याङ पुगे भारतीय विदेश राज्यमन्त्री सिंह?
Photo: KCNAWATCH

काठमाडौं :  भारतीय विदेश राज्यमन्त्री भीके सिंहले एक्कासी उत्तर कोरियाको राजधानी प्योङ्याङ पुगेका छन्। जुन १२ गते सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच वार्ता हुने तय भएको छ। 

अमेरिकाले उत्तर कोरियाली आणविक निः शस्त्रीकरणमा लिवियाली शैली अपनाउने बताउँदै आएको छ। उत्तरले यस्तो शैलीको विरोध गर्दै यस्तो वक्तव्यबाजी गरे वार्ता नै भंग गर्ने सम्मको चेतावनी दिएको छ। 

यस्तो अवस्थामा भारतीय विदेश राज्यमन्त्री सिंह गोप्यरुपमा उत्तर कोरिया पुगेका छन्। उनले त्यहाँ पुगेर उत्तर कोरियाली शीर्ष नेतृत्वसँग भेट गरेका छन्। 

२० वर्षपछि भारतीय कुनै मन्त्री उत्तर कोरिया पुगेको यो पहिलो पटक हो। उनले त्यहाँ उत्तर कोरियाली विदेश मन्त्री रि योङ होलगायतका नेतासँग भेवार्ता गरेका छन्। तर उनको भेट उत्तर कोरियाली नेता किमसँग भेट भए नभएको नखुलाइएको इकोनोमिक्स टाइम्सले जनाएको छ। 

भारतीय विदेश मन्त्रालयले कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वर्षमा उनी प्रजातान्त्रिक जनगणातन्त्र कोरिया सरकारको निमन्त्रणामा प्योङ्याङ पुगेको जनाएको छ। दुई देशबीच १० डिसेम्बर १९७३मा कुटनीतिक सम्बन्ध स्थापित भएको थियो।

भ्रमणका क्रममा उनले त्यहाँका सर्वोच्च जनसभाका उपाध्यक्ष किम योङ डेसँग शिष्टाचार भेट गरेका थिए। त्यस्तै उनले त्यहाँका परराष्ट्रमन्त्री रि योङ हो, संस्कृति मन्त्री पाक चुन नाम, परराष्ट्र राज्यमन्त्री चोइ हुइ चोलसँग भेट गरेका थिए। भेटमा दुई देशबीच आर्थिक, शैक्षिक तथा सांस्कृतिक साझेदारीका विषयमा छलफल भएको भारतीय विदेश मन्त्रलायले जनाएको छ। 

त्यस्तै त्यहाँको राजनीतिक स्थायित्व, क्षेत्रीय अर्थतन्त्रलगायतका विषयमा समेत छलफल भएको बताइएको छ। 

कोरियाली प्रायद्वीपमा भएको पछिल्लो राजनीतिक विकास क्रमका विषयमा समेत त्यहाँका अधिकारीहरुले जानकारी गराएका थिए। उत्तर कोरियाली पक्षले भारतीय सुरक्षामा असर पर्ने कुनै कार्य हुन नदिने समेत प्रतिवद्धता व्यक्त गरेको छ। 

साथै भेटमा दुवै पक्षले व्यवसायिक शिक्षा, कृषि, औषधि, योगाको प्रवर्द्धन र प्राकृतिक उपचारको विषयमा साझेदारीका क्षेत्रहरुको पहिचान गर्दै साझा स्वार्थमा आधारित रही साझेदारी अगाडि बढाउने निर्णय भएको भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। 

दुवै पक्ष जनसम्बन्ध बलियो बनाउनका लागि शैक्षिक तथा सांस्कृतिक आदानप्रदान गर्दै सम्बन्ध स्थापनाको ४५ औं वर्षगाँठ मनाउन समेत सहमत भएको वक्तव्यमा उल्लेख छ। 

उनको भ्रमण हालै मात्र नियुक्त भएका उत्तर कोरियाका लागि भारतीय राजदुत अतुल गोत्सर्भ ओहोदाको प्रमणपत्र पेश गर्ने कार्यक्रमसँगै तय भएको थियो। उनी भारतले उत्तर कोरियका लागि नियुक्त भएका उच्च अधिकारी हुन्। उनले सोमबार त्यहाँका नेता किमसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए। 


भ्रमणमा अमेरिकी प्रभाव

सिंहको यो भ्रमणले दुई देशबीचको पुरानो सम्बन्धलाई पुनस्थापित गर्ने भारतको अभियानको रुपमा हेरिएको छ।  यसअघि भारत अमेरिकी कोर्टमा पुगेर उत्तर कोरिया विरुद्ध कडा वक्तव्य दिँदै आएको थियो। 

सन् २०१७ को मार्चमा भारतले ग्याजेट नोटिफिकेशन जारी गर्दै उत्तर कोरियासँग सबै व्यापारिक सम्बन्धमा प्रतिबन्ध लगाएको थियो। साथै खाद्धान्न तथा औषधीको कारोबारमा समेत रोक लगाएको थियो। 

सो प्रतिबन्ध अमेरिकाको आग्रहमा लगाइएको थियो। नोटिफिकेशनले उत्तर कोरियाका भारतस्थित कुटनीतिज्ञहरुको बैंक खाता समेत रोक्का गरिएको थियो। भारतलाई त्यतिबेला अमेरिकी विदेश मन्त्री रेक्स ट्रिलसनले दिल्लीमा रहेको उत्तर कोरियाको दुतावास बन्द गर्न समेत आग्रह गरेका थिए। तर भारतले यसलाई अस्वीकार गरेको थियो। 

अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध सुधारको मुखमा रहेका बेला भारतले समेत उत्तर कोरिया प्रति राख्दै आएको नीतिलाई परिवर्तन गरेको छ। दि हिन्दुको समाचारमा उल्लेख छ। 

किन पुगे भिके सिंह प्योङ्याङ ?

उनको भ्रमण पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चिसो पस्दै गर्दा भएको छ। उत्तर कोरियाका सहायक परराष्ट्र मन्त्री किम काय गाओनले बुधवार मात्र अमेरिकालाई ट्रम्पसँगको वार्ता भंग गर्ने चेतावनी दिएका थिए। 

पछिल्लो समय इरानसँगको सम्बन्धमा गल्ली महसुस गर्दै भारतले विदेश राज्यमन्त्री भीके सिंहलाई प्योङ्याङ पठाएको डेली ओले जनाएको छ। 

यसअगाडि भारत उत्तर कोरियासँग सुमधुर सम्बन्ध कायम थियो। पछिल्ला वर्षहरुमा समय भारत संयुक्त राष्ट्र संघ र अमेरिकाको नाकाबन्दीमा समर्थन गर्दै टाढिएको थियो।  हाल भारतले अवसरको नयाँ सम्भावना देखेर सम्बन्ध सुधारको लागि आफ्ना मन्त्री त्यहाँ पठाएको हो। 

हालै उत्तर कोरिया आसपास वातावरणमा परिवर्तन भएको छ, भारतले यसलाई त्यहाँ पुग्ने उत्तम अवसरको रुपमा लिएको हुन् सक्छ,' अब्जर्वर रिसर्च फाउन्डेसनका स्ट्राटेजिक स्टडीका प्रमुख हर्स पन्तले सीएनवीसीलाई भनेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell