PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

जगद्‍गुरुको प्रम ओलीद्वारा आलोचना : 'राजतन्त्र पाखण्डी प्रणाली हो, भगवान राम र कृष्णकै सन्तान यहाँ राजा छैनन्'



जगद्‍गुरुको प्रम ओलीद्वारा आलोचना : 'राजतन्त्र पाखण्डी प्रणाली हो, भगवान राम र कृष्णकै सन्तान यहाँ राजा छैनन्'

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जगद्गुरु शंकराचार्यको राजतन्त्रसम्बन्धी धारणालाई कटाक्ष गर्दै  खोजी गरेर रामका सन्तानलाई अयोध्यामा लगेर राजा बनाए हुने बताएका छन्। 

गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै भने, 'जगद्गुरुले राजतन्त्रलाई धर्मसँग जोड्ने रसायन हाल्न आँट्नु भएको छ। महाभारतका कुरा, रामायणका कुरा ल्याएर जगद्गुरुलाई स्मरण गराउनु पर्‍यो। ए बाबा, भगवान रामकै सन्तान पनि यहाँ राजा छैनन्। कृष्णकै पनि छैनन् कोही।'
 

उनले थपे, 'भगवानकै सन्तानलाई राजा बनाएर राख्या भए पनि हुन्थ्यो नि। खोजी गरेर रामका सन्तानलाई अयोध्यामा लगेर राजा बनाए हुन्थ्यो। त्यता नगरेर भारततिरका साथीहरु यतातिर जोगीहरु आएर अनि नेपालमा यहाँ खोज्छन् फेरि।'

'यहाँ त कोही भगवानका सन्तान छैनन् त। यहाँ रामका सन्तान सन्तान कोही छैन,' प्रधानमन्त्री ओलीले भने, 'राजतन्त्रलाई सनातन धर्मसँग जोडेर धर्मको आडमा राजतन्त्रका कुरा गर्नेहरु पाखण्डहरु हुन्, मूर्खहरु हुन्। उनीहरुलाई धर्मशास्त्रको बारेमा थाहा छैन।'

सोधे, '२४० वर्ष भो सनातन धर्मको? नेपालमा राजतन्त्रको इतिहास र सनातन धर्मको इतिहास उस्तै हो? अनि शास्त्र भनेको कस्तो रङको वस्त्र र कस्तो ढाँचाको टीका लाउनेले मात्र पढ्या हुन्छ कि के हो?'

राजालाई विष्णुको अवतार मान्नेहरुलाई व्यङ्ग्य गर्दै प्रधानमन्त्रीले भने, 'मान्छेले उल्क्याको उल्क्यायै, उल्क्याको उल्क्यायै-  विष्णुका अवतार भन्दाभन्दा भ्रम पर्छ। हो कि क्या हो भनेर। होइन क्या, बेकारको कुरा हो। दान दक्षिणाका लागि' 

राजा द्रव्य शाहले प्रतिस्पर्धात्‍मक प्रणाली मासेर जन्मसिद्ध राजतन्त्र सुरु गराएको आरोप लगाउँदै उनले भने, 'जालझेलबाट सुरु भएको हो राजतन्त्र।

उनले राजतन्त्र भनेको पाखण्डी कुरा रहेछ भन्ने कुरा संयुक्त राष्ट्र संघको वडापत्र पढेर थाहा पाएको बताए। भने, 'बिस्तारै बुझ्दै जाँदा त विचार मात्र पाखण्डी हैन कि प्रणाली नै पाखण्डी रहेछ।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell