PahiloPost

Sep 19, 2018 | ३ असोज २०७५

ओली र प्रचण्डले पार्टीको नाम खोस्न सक्दैनन्, नेकपा हाम्रो होः ऋषि कट्टेल


पहिलोपोस्ट

ओली र प्रचण्डले पार्टीको नाम खोस्न सक्दैनन्, नेकपा हाम्रो होः ऋषि कट्टेल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि नेपाल कम्युनिस्ट पार्टीको गठन भएको छ। निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेल नेतृत्वमा दर्ता कायम छ। अर्कोतिर नेपालमा क्रान्तिकारी कम्युनिस्टबीच एकताको विषयमा समेत छलफल चलिरहेको छ। यही सेरोफेरोमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलसँग नवगठित नेपाल कम्युनिस्ट पार्टीको नाम, क्रान्तिकारी ध्रुव्रीकरण र नेपालको कम्युनिस्ट आन्दोलनका विषयमा विधुर ढकालले गरेको कुराकानी

 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी गठन गरेका छन्। तपाईँ अध्यक्ष रहेको पार्टी पनि नेपाल कम्युनिस्ट पार्टी नै छ। यसलाई कसरी हेर्नु भएको छ?

यो सार्वजनिक भएको छ। उनीहरूले निर्वाचन आयोगमा चिठ्ठी पनि दर्ता गरेका छन् भन्ने सुनेको छु। नेपाल कम्युनिस्ट पार्टी नेपालको संविधानको धारा २७१ र दल सम्बन्धी ऐनको दफा ४८ अनुसार निर्वाचन आयोगले विधिवत रूपमा निर्णय गरेर दर्ता गरी हामीलाई चिठ्ठी दिएको छ। निर्वाचनको ऐनमा एउटै नामका दुईवटा पार्टी दर्ता गर्न मिल्दैन भनेर प्रस्ट लेखेको छ। त्यो कुरा उनीहरू प्रधानमन्त्रीसम्म भइसकेकालाई थाहा नहुने कुरा होइन। त्यसकारणले उनीहरूले जे काम गरिरहेका त्यो काम असंवैधानिक गैर कानुनी, र अधिनायकवादी चिन्तनबाट प्रेरित छ। उनीहरूलाई थाहा छ पार्टी दर्ता भएको छ। थाहा हुँदाहुँदै बलजफ्ती गर्नु भनेकै अधिनायकवादी सोच हो भन्ने लागेको छ। र हामीले त्यसकै आधारमा विरोध गरिरहेका छौँ।

उनीहरूले दल दर्ता गर्दा अन्डरलाइन भनेर पत्र दर्ता गराए। अबको उपाय के त? उनीहरू संख्यामा ठूला छन्। शक्तिमा छन्। तपाईँहरूलाई पेलेरै पनि नाम लेलान्। तपाईँ के गर्नुहुन्छ?

हामी पहिला हेर्दैछौँ। यसका पनि आफ्नै प्रक्रिया छन्। निर्वाचन आयोगमा लगेर चिठ्ठी दर्ता गराएका न हुन्। दल दर्ता होइन। दल दर्ता गर्नका लागि आवेदन दर्ता गरेका छन्। आवेदन पनि निर्वाचन आयोगले लिन मानेन। उनीहरूले नेपाल कम्युनिस्ट पार्टी भनेर लगे। तर निर्वाचन आयोगको दर्ता गर्ने शाखाले दर्ता गर्न मानेन। नमानेपछि एउटा अन्डरलाइन गराएर चिठ्ठी दर्ता गरेका छन्। र त्यसका आधारमा दर्ता भएको छ। चिठ्ठीमात्र दर्ता भएको हो। पार्टीनै दर्ता भएको होइन। यसका आफ्नै प्रक्रिया छन् र त्यसको कानुन शाखाले कानुन हेर्ने आयुक्त हुन्छन्। आयुक्तले आयोगमा गएर निर्णय गरेपछि मात्र यसले अन्तिम रूप पाउँछ। त्यसकारणले अहिले दल दर्ता भयो भन्ने कुरा प्रचारात्मक मात्रै कुरा हो। भइसकेकै छैन। हामीलाई के विश्वास छ भने आयोगले त्यो गर्न मिल्दैन र गर्दैन पनि। कुनै छुट्टै पहिचान दिने कुरा नगरी आयोगले दर्ता गर्न सक्दैन। मैले हाम्रा पार्टीका साथीहरूलाई त्यहाँ पठाएको थिएँ। उहाँहरूको जवाफ यो हुनै सक्दैन भन्ने छ। आयोगमा छलफलको लागि चिठ्ठीसम्म दर्ता भएको हो। यो नेपालको कानुनले हुनै नसक्ने कुरा हुँदैन र एउटै नामको दुइटा पार्टी आयोगले दर्ता गर्दै गर्दैन।

गरिहाल्यो भने ?

हामी हेर्दैछौँ। यो काम उनीहरूले गर्न सक्दैनन्। यदि आयोगले गर्‍यो  भने पनि अदालतबाट सक्दैनन्। यो काम गर्नलाई नेपालको संविधानको संशोधन गर्नुपर्‍यो। संशोधन के गर्नुपर्‍यो भने –हामीले चाह्यौँ भने अरूको पार्टीको नाम लिन सक्छौँ। हामीले चाहेको मात्र पार्टीको नाम हुनुपर्छ भनेर संविधान संशोधन गर्नुपर्‍यो। के त्यस्तो दुई तिहाइले संशोधन गर्न सक्छ? उनीहरू आफैँसँग दुई तिहाइ छैन। त्यसकारणले यो जटिल छ। उनीहरूले जति सहज देखेका छन्, त्यो छैन। यसले धेरै ठूलो असर पुर्‍याउँछ उनीहरूलाई नै।

हिजो पनि दल मोटो मशाल, पातलो मसालको रूपमा दल थिए। त्यो कम्युनिस्टको ’स’ मा तल माथि गराउन सक्लान नि त?

छैन। हिजो मोटो मशाल, पातलो मसाल निर्वाचन आयोगमा दर्ता भएका होइनन्। त्यो सार्वजनिक भनिएका मात्रै हुन्। आफ्नो आफ्नो पार्टीमा भनिएका मात्र हुन्। कार्यकर्ताले चिन्ने गरी भनिएका हुन्। त्यो पनि गर्न सक्लान। तर नेपाल कम्युनिस्ट पार्टी राखेर मोटो मशाल राख्छन् कि पातलो मसाल राख्छन् कि एकता केन्द्र राख्छन कि एकीकृत राख्छन् त्यो राख्नै पर्छ। नेपाल कम्युनिस्ट पार्टीको पछाडि उनीहरूले केही राख्नै पर्‍यो। आफ्नो पहिचान छुट्टाउने गरी राख्नै पर्छ । तर नेपाल कम्युनिस्ट पार्टी मात्र राख्ने वा त्यसलाई भ्रमित गरेर राख्ने कुरा चाहिँ मिल्दैन। अहिलेको कानुनले मिल्दैन। हेरौँ उनीहरू के राख्छन्।

तपाईँहरू पनि कम्युनिस्टहरूको ध्रुवीकरण, अझ भनौँ क्रान्तिकारीहरूको ध्रुवीकरणको बहस चलाई रहनुभएको छ। यो एकताले पनि एउाटा ध्रुवीकरणको सङ्केत देखाएको छ। यसलाई कसरी लिनुभएको छ?

जुन दिन उनीहरूले हामी एकता गर्छौँ भने, त्यही बेला नै यो एकता अनिवार्य छ र हुन्छ भनेर पहिल्यै भन्या थिएँ। बीचमा उतारचढाव आउँदा पनि मैले यो पदीय समस्या हो एकता चाहिँ हुन्छ भनेकै थिएँ। किनभने उनीहरू एक ठाउँमा नउभिइ सुखै छैन। यो गठबन्धन बनेदेखि नै यसका दुईवटा पाटा छन्।

आन्तरिक,

स्थानीय चुनावमा जुन परिणाम आयो। एमाले, कांग्रेस र माओवादी केन्द्रको जुन पोजिसन भयो त्यसले के देखायो भने यदि माओवादी र एमाले मिलेनन् भने फेरि कांग्रेस नै पहिलो हुने देखियो। त्यो देखिएपछि, एमाले हच्क्यो। माओवादी केन्द्रको दुर्दशा हुने अवस्था देखा पर्‍यो,। त्यसपछि कांग्रेससँग गरेको सहकार्य भरतपुर देख्नुभयो फलदायी भएन। त्यसपछि उसलाई अफ्नो अस्तित्व जोगाउनका लागि पनि एमालेसँग मिल्नु पर्‍यो। यो आन्तरिक कारण हो एमालेलाई पहिलो पार्टी बन्नलाई साथी चाहिएको, माओवादी केन्द्रलाई आफ्नो अस्तित्व रक्षा गर्न साथी चाहिएको। त्यो बेलामा यी दुईवटाको स्वार्थ मिल्नु स्वभाविक हो। मिल्यो।

बाह्य,

बाह्य कारण के छ भने नेपालमा अहिले साम्राज्यवादी डिजाइन अन्तर्गत दुई दलीय संसदीय अधिनायकवाद लाद्नका लागि यो एकता गराइएको हो। यो साम्राज्यवादको गुरूयोजना हो। त्यही गुरूयोजना पूरा गर्नका लागि स्थानीय तहको निर्वाचनदेखि अरू पार्टीलाई निषेध गरेर आए। साना पार्टीलाई चुनाव चिन्ह दिएनन्।त्यो पूरै गैरसंवैधानिक काम छ।  त्यसपछि संसदीय चुनावमा थ्रेसहोल्ड लाए। त्यसपछि पनि नपुगेपछि यो गठबन्धन निर्माण गरे। यसको पछाडिको कारण साम्राज्यवादले दुई दलीय संसदीय अधिनायकवाद नेपालमा लाद्ने योजना छ।

त्यसका लागि यो एकता गराउन उनीहरूलाई जरुरी थियो?

माओवादी केन्द्र र एमालेलाई एक ठाउँमा नमिलाइकन दुई दलीय अधिनायकवाद हुँदैन। यी दुबै प्यारालल शक्ति हुन्। यी दुई एक नभई साम्राज्यवादीहरूको डिजाइन पूरा हुँदैन।

उनीहरूको आन्तरिक समस्याको दोहन गरेर साम्राज्यवादीहरूको डिजाइन अन्तर्गत यो गठबन्धन बनेको हो। र यसमा पश्चिमा र दिल्लीको दुइटैको हात छ। यिनलाई सञ्चालन गर्ने कुरामा दिल्ली र युरोपको अलिकति भिन्नता देखियो। उनीहरूले आफ्नो मेसिनरीमार्फत काम गर्न खोजे। एकता गर्ने शक्तिलाई आफ्नो मातहत चलोस् भन्ने चाहना राखे भारतले आफ्नै मातहत चलाउन खोज्यो। त्यस्तो अवस्थामा बीचमा अलिकति समस्या देखियो। अहिले मोदी भ्रमणपछि युरोप पश्चिमाहरूको नेपाललाई हेर्ने दृष्टिकोण भारतसँगकै दृष्टिकोणसँग मिलेपछि हातहुत एकता भइहाल्यो। ओलीले गएर भारतसँग आत्मसमर्पण गरे। र पश्चिमाहरूले पनि ओलीले हेर्ने दृष्टिकोणलाई ठीकै छ भन्ने मान्यो। त्यसकारण एकता भइहाल्यो। 

नेपाली कांग्रेस बदनाम भइसकेको छ। उसले अब नेपालको राजनीतिक नेतृत्व गर्न सक्ने, प्रतिक्रियादी केन्द्रको नेतृत्व गर्न सक्ने अवस्थामा छैन। केही सानासाना शक्तिहरूलाई नयाँ प्रतिक्रियावादी शक्ति निर्माण गर्ने योजना पनि उनीहरूले बनाएका छन्। तर त्यो तत्काल बन्दैन। त्यसका लागि कांग्रेसको एउटा नयाँ विकल्प पनि तयार गर्नुपर्ने अवस्था छ। अहिलेको यो अन्डरलाइनवाला पार्टी चाहिँ प्रतिक्रियावादीहरूको नयाँ विकल्प पनि खडा गर्ने हो। कम्युनिस्टको नामबाट नयाँ प्रतिक्रियावादी विकल्प खडा गर्ने हो। यो असफल भएपछि विवेकशील, के के तयार हुँदैछन्। यी दलहरू यसको विकल्पको रूपमा पछि तयार हुन्छन्। त्यस कारण यो प्रतिक्रियावादीको विकल्प तयार। साम्राज्यवादको डिजाइन अन्तर्गत दुई दलीय संसदीय अधिनायकवाद। वर्तमान सत्तालाई आफ्नो पकडमा लिने तीनवटा कोणबाट यो एकता भएको छ।

उनीहरूले त यसलाई कम्युनिस्टहरूको एकता भन्दै छन् त?

जहाँसम्म यसलाई कम्युनिस्ट एकता जे भनिँदै छ नि, नाम त छ। नामले मात्र भनेर भएन। उनीहरू मार्क्सवादका कम्युनिस्टका आधारभूत दर्शनबाट च्यूत भइसके। त्यसो भएको हुनाले यो एकता कम्युनिस्टहरूको एकता होइन।

यो एकता कम्युनिस्टहरूको एकता होइन भन्नुभयो। तपाईँकै भाषामा क्रान्तिकारी कम्युनिस्टहरूको एकता चाहिँ कहाँ पुग्यो?

हामी यसको तयारी गर्दै छौँ। यो स्वभाविकजन्य अवस्था पनि हो। नेपालको राजनीतिक आन्दोलन मात्रात्मक परिवर्तनको बाटोबाट गयो। चाहेर भएन। सात सालमा राणा फ्याँकियो, राजा फ्याँकिएन्। ४६ सालमा निर्दल फ्याँकियो राजा फ्याँकिएन। ६२-६३ सालमा आएर राजा फ्याँकियो प्रतिक्रियावाद फ्याँकिएन। नेपालको राजनीतिक आन्दोलन मात्रात्मक परिवर्तनको बाटोबाट गुज्रिरहेको छ। र यसलाई हामीले स्वभाविक रूपमा लिएका छौँ।

हामीले गणतन्त्रसम्म ल्यायौँ। नेपालको अहिलेको अवस्था चीनको १९२० तिरको अवस्था जस्तो हो। १९११ मा चीनमा सन यात्सेनको नेतृत्वमा गणतन्त्र स्थापना भयो। तर च्याङ काइसेक पैदा भयो। जसले अब देश र जनताको हितमा काम गर्न सक्दै भन्ने निष्कर्ष निस्किएपछि १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको जन्म भयो। नेपालमा कम्युनिस्ट कांग्रेस अरू सबै मिलेर गणतन्त्र ल्याए। एकथरी एमाले, माओवादी केन्द्र, कांग्रेसहरू नेपाली च्याङ काइसेक बने।

अब परिवर्तनको जिम्मा नेपालको कम्युनिस्ट आन्दोलनलाई अर्को शिराबाट पुनर्गठन गर्न आवश्यक छ। न हिजोको परम्परागत रूपमा मात्र यसले धान्छ। न हिजोको लिगेसीले मात्र अगाडि बढ्न सक्छ। अब नयाँ संघर्षको डायमेन्सन र कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट पुनर्गठन गर्नुपर्ने जरुरी छ। त्यहाँका लागि हामी छलफल गरिरहेका छौँ। हामीले वर्ष संघर्षबाट आधारभूत रूपमा नै जगबाट उठाएर वर्ग फ्याक्ने काम चाहिँ गरेका छैनौँ। अब राजनीतिक अन्दोलनलाई सुपरस्ट्रक्चर गरी आधार भत्काउनुपर्छ। नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने आम कार्यदिशामा किसान मजदुरहरूको वर्ग संघर्षलाई विकास गराएर वर्गसंघर्षको माध्यमबाट वर्गीय राज्यसत्ता ध्वस्त गर्ने गरी नयाँ संघर्षको जरुरी छ। हामी त्यस दिशातर्फ लागेका छौँ। हामी चारवटा पार्टी दुइटा कुरामा सहमत भएका छौँ।

एउटा एमाले र माओवादी केन्द्रले नेपालको कम्युनिस्ट आन्दोलनलाई गद्दारी गरे। अब उनीहरू वर्तमान राज्यसत्ता सामन्तवाद, दलाल पुँजीवादको प्रमुख सञ्चालक नै एमाले माओवादी केन्द्र भइसकेपछि अब यो व्यवस्था विरोधी संघर्षको मुख्य संघर्ष नै उनीहरूसँग हुने भयो।

दोस्रो त्यसका लागि हामी पार्टी एकताको तहसम्म जानुपर्छ भनेर हामी चार पार्टी सहमत भएका छौँ। अब पार्टी एकता नहुँदा सम्म एकतालाई ध्यानमा राखेर संयुक्त कार्यक्रम गर्‍यौँ । हामी छिट्टै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन छलफल गर्दै छौँ।


अहिलेसम्म कति चरणमा छलफल भए?

हामीहरू छलफलमै छौँ। फेरि हामी बैठक बस्दै छौँ। बैठक पनि हामीले भूमिगत रूपमै बस्नुपर्ने छ। विप्लवजीहरूलाई सरकारले जहाँ देख्यो त्यहीँ समात्ने। उहाँहरूको सुरक्षाका लागि पनि हामीले भूमिगत रूपमै बैठक चलाउनु पर्ने बाध्यता छ। प्रेसलाई भन्न नसकिने अवस्थामा छौँ। त्यसले एउटा निष्कर्ष निकाल्छ।

 

अबको तपाईँको संघर्ष को प्रति लक्षित हुने छ?

हाम्रो संघर्ष सिस्टमका विरुद्ध हो। यो वाम सरकार भन्नेले हाम्रो चासो राष्ट्रियताप्रति छ। अहिले दिन प्रतिदिन राष्ट्रियतामाथि प्रहार भइरहेको छ। यहाँ भन्दा अगाडि भारतीय विस्तारवाद मात्र हाम्रो मुख्य हस्तक्षेपकारी शक्ति थियो। अहिले पछिल्ला दिनमा नेपाल बिस्तारै शक्ति राष्ट्रहरूको रणनीतिक क्रिडास्थल बन्दै गएको छ। चीन पनि नजिक भएर आएको छ। उसले पनि नेपाललाई रणनीतिक महत्त्व दिएको छ। भारतले परम्परागत रूपमा लिएको छ। त्यस्तै पश्चिमाहरू पनि नेपालमा आइएनजिओमार्फत चलखेल गरिरहेका छन्। पश्चिमाहरू दुइटा विशाल उदयमान आर्थिक केन्द्रहरूसँग तर्सेका छन्। उनीहरूको गतिविधिलाई हेर्नका लागि नेपाललाई केन्द्रको रूपमा लिइरहेका छन्। यो बेलामा नेपालले आफ्नो स्वाधीनतालाई दरो रूपमा समात्न सकेन् भने यो मूलक द्वन्द्वमा फस्ने खतरा छ। त्यसलाई रोक्नका लागि संघर्ष जरुरी छ। नदीनाला भारतको अधीनमा गइसक्यो। अहिले अरुण थपियो। यही अवस्थामा हामीले राष्ट्रिय स्वाधीनताको लडाइ जरुरी छ। अहिले सरकारमा रहेकाहरू आँफूलाई वामपन्थी भन्छन्। एउटा वामपन्थीले स्वाधीनतालाई समर्थन गर्ने कि दमन गर्ने ? प्रश्न यही हो। यदि हाम्रो लडाइँलाई उनीहरूले विरोध गरे भने उनीहरूसँगै हुने हो।

एउटा जुलुस गर्न सीपी गजुरेल जस्तालाई पार्टी कार्यालयबाटै पक्राउ गरिन्छ। ब्यानर देखाउँदा ट्रकमा कोचेर लगिन्छ। विवेकशीलले आफ्नो कार्यालयमा ब्यानर राख्दा थुतेर लग्यो। यो ओली सरकार अधिनायकवाद फाँसीवादतर्फ उन्मुख छ। त्यस कारण अहिले संघर्षको खाँचो छ। यदि हामीलाई दमन गर्न आए उनीहरू विरुद्ध नै हो। अस्ति गजुरेललाई पक्राउ गर्ने शेरबहादुर होइन ओली हुन्। त्यस कारण हाम्रो सरकारसँग संघर्ष बढ्ने छ। हाम्रो संघर्ष पनि उनीहरूसँग हुनेछ।



ओली र प्रचण्डले पार्टीको नाम खोस्न सक्दैनन्, नेकपा हाम्रो होः ऋषि कट्टेल को लागी १ प्रतिक्रिया(हरु)

bikram [ 2018-05-21 12:27:10 ]
365 din nai katteldada ma basera 29 khelni buda ko kurai cherko.

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट