PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आइपीएलको अन्तिम लिग खेल आज : प्ले अफको १ स्थानका लागि ३ टिमको होड



पहिलोपोस्ट

आइपीएलको अन्तिम लिग खेल आज : प्ले अफको १ स्थानका लागि ३ टिमको होड

इन्डियन प्रिमियर लिग (आइपीएल) को ११ औं संस्करणको अन्तिम दुई लिग खेल आज हुँदैछ।

सहभागी ८ मध्ये ३ टिम यसअघि नै प्लेअफका लागि छनोट भइसकेका छन् भने दुई टिम प्लेअफबाट बाहिरिसकेका छन्।

अब बाँकी ३ टिम मध्ये १ टिममात्र प्ले अफमा पुग्नेछ। त्यसका लागि आइतवार हुने मुम्बई इन्डियन्स र दिल्ली डेयर डेभिल्स  तथा चेन्नई सुपर किंग्स र किंग्स एलेभेन पञ्जावबीचको खेल निर्णायक हुनेछ।

चेन्नाई प्लेअफ पुगिसकेको छ भने दिल्ली प्ले अफको दौडबाट बाहिरिसकेको छ।

मुम्बई र पञ्जावसँगै राजस्थान पनि प्ले अफ पुग्ने होडमा छ। सनराइजर्स हैदरावाद, चेन्नई र कोलकता नाइटराइडर्सले प्लेअफमा स्थान बनाइसकेको छ।

दिल्लीसँगै बैंगलोर भने बाहिरिएको छ।

अब चेन्नईले अन्तिम खेलमा जित हात पारे, शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्नेछ। पञ्जावसँग चेन्नाई पराजित भएमा कोलकाता रनरेटमा अगाडि रहँदै दोस्रो स्थानमा उक्लनेछ र हैदारवादसँग क्वालिफायर खेल्न पाउनेछ। प्ले अफ पुग्ने चौथो टोलीले पहिलो क्वालिफायर खेल्नेछ।
 

तीनवटै टिमको सम्भावना कायमै

लिग चरणको १४ वटै खेल खेलेको राजस्थान १४ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ। समान १३ खेल खेलेको मुम्बई र पञ्जाव १२-१२ अंक जोड्दै क्रमश: पाँचौ र छैटौं स्थानमा छ। मुम्बईको रनरेट राम्रो रहेका कारण मुम्बईले आज हुने दिल्ली विरुद्धको पहिलो खेल जितेमा सिधै प्ले अफ पुग्नेछ।

तर, मुम्बई दिल्लीसँग पराजित हुने र पञ्जाव पनि चेन्नाईसँग पराजित भएमा राजस्थान चौथो बन्दै प्लेअफ पुग्नेछ। 

यदि, पञ्जावले प्लेअफमा स्थान बनाउने हो भने, उसको लागि मुम्बई दिल्लीसँग पराजित हुनपर्नेछ, साथै राम्रो नतिजामा चेन्नईलाई पराजित गर्नुपर्नेछ। राजस्थानको भन्दा पञ्जावको रनरेट कम छ। त्यसैले पञ्जावले चेन्नईलाई जितेर मात्र पुग्दैन, फराकिलो अन्तरले हराउनुपर्नेछ।
त्यसका लागि पञ्जावले पहिले ब्याटिङ गरेमा चेन्नाईलाई ५३ भन्दा बढी रनअन्तरले पराजित गर्नुपर्नेछ। यदि, पञ्जावले चेज गर्ने अवस्था आए १३.२ ओभरमा लक्ष्य पूरा गर्नुपर्नेछ।
 

सन्दीपलाई अर्को अवसर

यस सिजन नेपाली खेलाडीले पनि आइपीएलमा डेब्यु गर्ने अवसर पाए। युवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्सबाट खेल्दै आइपीएलमा खेल्ने पहिलो नेपाली खेलाडी बने।

सुरुवातको ११ खेलमा बेन्चमा बसेका सन्दीपले १२ औँ खेलमा मात्र अवसर पाए। तर, उनले प्रशिक्षक र म्यानेजमेन्ट टिमको उक्त निर्णयलाई गलत सावित हुन दिएनन् र पहिलो खेलमै विराट कोहलीको बैंगलोर विरुद्ध १ विकेट लिन सफल भए। विश्वकै उत्कृष्ट ब्याट्सम्यानहरु कोहली, ए डि डे भिलियर्स, शेन वाट्सन जस्ता हस्तीसामु बलिङ गरेका सन्दीपले पार्थिव पटेललाई आउट गरे।

पहिलो खेलमा २५ रन खर्चेर १ विकेट लिएका सन्दीपले दोस्रो खेलमा पनि अवसर पाए।

आइपीएलको २ पटकको च्याम्पियन महेन्द्र सिंह धोनीको चेन्नईविरुद्ध सन्दीपले झनै गज्जबको प्रदर्शन गरे।

उनले आफ्नो ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए। सन्दीपले यस खेलमा आइपीएलका रन मेसिन चेन्नाईका सुरेश रैनाको विकेट लिए। दुई खेलमा उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका सन्दीप उत्कृष्ट इकोनोमी रेट हुने खेलाडीको सूचीमा शीर्ष स्थानमा समेत छन्। यस्तै चेन्नाई विरुद्ध उत्कृष्ट बलिङ गर्दै दिल्लीलाई जिताउन सहयोग गरेका सन्दीप खेलको स्टाइलिस प्लेअर समेत घोषित भए।

उक्त दुई खेलको प्रदर्शनका कारण सन्दीपले लगातार तेस्रो खेल खेल्ने सम्भावना बढी छ। यदि, त्यो अवसर पाए सन्दीपको तेस्रो खेल आइपीएलको सर्वाधिक सफल टोली मुम्बई विरुद्ध हुनेछ। साविक विजेता समेत रहेको मुम्बई ३ पटकको च्याम्पियन टिम हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell