PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

केन्द्रीय सदस्यमा को - को? आफ्नो भागको नाम टुंगो लगाउन प्रचण्डलाई सकस



विधुर ढकाल

केन्द्रीय सदस्यमा को - को? आफ्नो भागको नाम टुंगो लगाउन प्रचण्डलाई सकस

काठमाडौं: नवगठित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चयनमा सकस देखिएको छ। नेकपाको ४४१ सदस्य मध्ये २०० सदस्य पूर्व नेकपा माओवादी केन्द्रको भागमा परेको छ। अध्यक्ष प्रचण्डलाई आफ्नो समूहबाट २०० जना केन्द्रीय सदस्यको चयनमा सकस देखिएको छ। 

केन्द्रीय सदस्यका आकांक्षीहरुको संख्या बढी हुँदा प्रचण्डलाई नवगठित नेकपाको केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने सदस्यको टुंगो लगाउन सकस परेको हो। 

पूर्व माओवादी केन्द्र भित्रै प्रचण्ड, नारायणकाजी श्रेष्ठसँगै रामबहादुर थापा समूहबाट केन्द्रीय सदस्यका लागि तल्लो तह देखिनै ३०० को हाराहारीमा नाम सिफारिस आएपछि त्यो संख्यालाई २०० मा झार्न प्रचण्ड, श्रेष्ठ, बादलसहितका नेताहरु छलफलमा जुटे पनि टुंगो भने लाग्न सकेको छैन। 

शनिबार पनि प्रचण्ड बादल, श्रेष्ठ र बादलसँग छलफल गरेका थिए। आज पनि नाम टुंगो लगाउनका लागि प्रचण्डले आफू निकटका नेताहरुसँग छलफल गरिरहेका छन्। 

तत्कालिन माओवादी केन्द्रले आफ्नो भागमा परेको संख्यामा सदस्यहरुको चयनका लागि छलफल चलिरहेको माओवादी केन्द्रबाट नेकपामा केन्द्रीय सदस्य भएका एक नेताले पहिलोपोस्टलाई बताए। 

‘योग्यता क्षमता र योगदानका आधारमा केन्द्रीय सदस्य चयन गर्ने विषयमा छलफल भइरहेको छ। आज साँझ सम्म नाम टुंगो लाग्ने छ,’ ती नेताले भने। 

तत्कालिन एकीकृत नेकपा माओवादी र वादल नेतृत्वमा क्रान्तिकारी माओवादीबाट आएको समूहसहितका कम्युनिष्ट घटक बनेपछि माओवादी केन्द्रको केन्द्रीय कमिटि करिब ५ हजारको हाराहारीमा पुगेको थियो। 

ती सदस्यबाट नवगठित नेपाल कम्युनिष्ट पार्टीमा केन्द्रीय सदस्यको नामावली बुझाउनका लागि छलफल भइरहेको ती नेताले जानकारी दिए।
 
नेपाल कम्युनिष्ट पार्टीमा ४५ स्थायी कमिटी बन्ने छ। त्यसमा तत्कालिन नेकपा एमालेबाट २५ र माओवादी केन्द्रबाट १९ जनाको प्रतिनिधित्व हुने छ। माओवादी केन्द्रले पहिला २०० केन्द्रीय सदस्य टुंग्याउने र पछि १९ जना स्थायी कमिटिका सदस्यहरुको टुंगो लगाउने गरी छलफल गरिरहेको छ। 

माओवादी केन्द्रले हालसम्म ८४ जनाको टुंगो लगाएको जनाएको छ। जसमा हालका सचिवालय सदस्यहरु रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell