PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

समयमा काम नसके ठेकेदार कम्पनीबाटै असुल्ने कूलमानको योजना



पहिलोपोस्ट

समयमा काम नसके ठेकेदार कम्पनीबाटै असुल्ने कूलमानको योजना

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम तोकिएकै समयमा सक्न ठेकेदार कम्पनीलाई ताकेता गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले सोलुखुम्बुको तिंलामा निर्माणाधीन १३२/३३/११ केभी सव–स्टेसन र प्रसारण लाइनको शुक्रबार, शनिवार र आइतबार स्थलगत निरीक्षण गरी काम तोकिएकै समयमा सक्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिएका हुन्। 
 
प्राधिकरणले प्रसारण लाइन निर्माणमा ढिलाई गरिँदिँदा सोलु खोलामा निर्माणाधीन आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था आएको सार्वजनिक भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समस्या समाधन गर्न घिसिङलाई निर्देशन दिएका थिए। 
 
मन्त्रीको निर्देशनपछि घिसिङ, प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक बज्रभूषण चौधरी, ग्रिड विभागका निर्देशक रञ्जन चालिसे र विद्युत व्यापार प्रमुख प्रबल अधिकारीको टोली निजी प्रसारण लाइन तथा सव स्टेसन र त्यस क्षेत्रका जलविद्युत आयोजनाको निर्माण अवस्था बुझ्न स्थलगत निरीक्षणमा गएको हो। 
 
कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणको काम सबैतर्फबाट सुरु गर्न आयोजना, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिए।

‘प्रसारण लाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएको समस्या समाधान गरिदिन ऊर्जा र वन मन्त्रीलाई आग्रह गर्छु, तपाईँहरु साइटमा काम गर्नुहोस्’ उनले भने,‘निर्माण प्रगतिको नियमित अनुगमन हुन्छ, समयमै काम सकिएन भने यसको जिम्मेवारी आयोजना प्रमुख र ठेकेदार कम्पनी लिनु पर्छ।’ 
 
त्यही प्रसारण लाइन बन्ने भएपछि सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाटका ६ जलविद्युत आयोजना निर्माण भइरहेका छन्। त्यसमध्ये ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको माथिल्लो सोलु आयोजनाको निर्माण सम्पन्न भई प्रसारण लाइन अभावमा विद्युत जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जाना (पेनाल्टी) तिर्नु पर्ने व्यवस्था विद्युत खरिद सम्झौता (पीपीए) मा छ। 
 
कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनी प्रवन्धकलाई चेतावनी दिँदै भने,‘यदि प्रसारण लाइन तथा सव स्टेसन तोकिएको समयमा बनाउन नसकेर विद्युत खेर जाने अवस्था सिर्जना भएमा प्राधिकरणले निजी आयोजनालाई तिर्नु पर्ने पेनाल्टी ठेकेदारबाट असुल गर्ने छौं।’ 
 
नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण भइरहेको आयोजनाको काम सन् २०१९ को मार्चमा सक्ने लक्ष्य राखिएको छ। तिंला–ओखलढुंगा–उदयपुर–मिर्चैया (सिराहा) ९० किलोमिटर प्रसारण लाइन आयोजनाले ३०३ टार निर्माण गर्नुपर्छ। त्यसमध्ये हालसम्म ५० टावरको जग हालिएको छ भने पाँचवटा खडा गरिएको आयोजना प्रमुख जनार्दन प्रसाद गौतमले बताए। 
 
‘सिराहा र उदयपुरतर्फबाट काम सुरु गरेका छौं’, उनले भने,‘प्रसारण लाइन निर्माणको मुख्य समस्या वन क्षेत्रको जग्गा प्रयोगमा रहेको छ, यसको समाधान तत्काल गरिदिनु पर्छ।’ 
 
ठेकेदार कम्पनी मोहन इनर्जीले डिसेम्बर २०१८ भित्रमा तिंलामा सब स्टेसन बनाइसक्ने प्रतिबद्धता जनाएको छ। कार्यकारी निर्देशक घिसिङले कामलाई तिब्रता दिन श्रमिकको संख्या बढाउन निर्देशन दिए। अहिले सव स्टेसन निर्माणमा ४२ जना मात्रै श्रमिक खटिएका छन्। ठेकेदार कम्पनीले एक हप्ताभित्रमा श्रमिक संख्या थप गर्ने प्रतिबद्धता जनाएको छ। ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झण्डै दुई वर्ष ढिला सुरु भएको थियो। 
 
टोलीले  तल्लो सोलु र माथिल्लो सोलु आयोजनाको पनि स्थलगत निरीक्षण गरेको थियो। तल्लो सोलुको समग्र निर्माण प्रगति करिव ५० र ८५ प्रतिशत रहेको आयोजनाहरुले जनाएका छन्। 
 
प्राधिकरणले सोलु करिडोर निर्माणमा केही ढिलाई हुने देखेपछि माथिल्लो सोलुको विद्युत जोड्नका लागि अस्थायी वैकल्पिक व्यवस्थाकारुपमा ओखलढुंगाबाट ३३ केभी प्रसारण लाइन निर्माण र तिंलामा ३३/११ केभीको सव स्टेसन बनाइरहेको छ। यसको काम ६ महिनाभित्रमा सकिने प्राधिकरणका प्रवत्ता एवं व्यापार विभाग प्रमुख प्रवल अधिकारीले बताए। 
 
‘२३.५ मेगावाटको सोलु आयोजनाले डिसेम्बरभित्र विद्युत उत्पादन गर्ने बताइरहेको थियो, तर स्थलगत निरीक्षणबाट आयोजनालाई काम सक्न अझै झण्डै एक वर्ष लाग्ने देखिएको छ’,उनले भने,‘ठेकेदारले सव स्टेसननको काम डिसेम्बर २०१८भित्र सक्ने प्रतिबद्धता जनाइसकेको छ, त्यसैले माथिल्लो सोलुको विद्युत जोड्न समस्या हुँदैन।’
 
विद्युत गृह तयार भएको छ तर त्यसमा रहने इलेक्ट्रोमेकानिकल उपकरण अझै आयोजनास्थलमा पुर्‍याइएको छैन। उपकरण जडानमा समय लाग्छ। स्विजयार्ड र करिब ४ किलोमिटर प्रसारण लाइनको निर्माण आयोजनाले अझै सुरु गरेको छैन।  
 

६ महिनाभित्रमा सोलुमा राष्ट्रिय ग्रिड

प्राधिकरणले ६ महिनाभित्र सोलुमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने भएको छ। कार्यकारी निर्देशक घिसिङले भने, ‘सोलुमा अहिलेसम्म राष्ट्रिय प्रसारण लाइन जोडिएको छैन, ६ महिनाभित्र लाइन पुर्याउने गरी काम भइरहेको छ।’
 
अहिले ओखलढुंगासम्म राष्ट्रिय प्रसारण लाइन पुगेको छ। प्राधिकरणले ओखलढुंगाबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरीसम्म ३३ केभी प्रसारण लाइन तानिरहेको छ। अहिले सल्लेरी च्याल्सा माइक्रो हाइड्रोपावरमार्फत सल्लेरीमा विद्युत आपूर्ति गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell