PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

इन्धन चुहावट रोक्न वीरगंज नाकामा पनि लकिङ प्रणाली, ‘मास्टर कि’ नभई खोल्न नसकिने 



राधेश्याम पटेल

इन्धन चुहावट रोक्न वीरगंज नाकामा पनि लकिङ प्रणाली, ‘मास्टर कि’ नभई खोल्न नसकिने 

वीरगंजः पेट्रोलियम पदार्थको चुहावट नियन्त्रणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको सहकार्यमा एक महिनाअघिदेखि सुरु गरिएको ट्याङकर लकिङ प्रणाली रक्सौल–वीरगंज नाकामा पनि कार्यान्वयनमा आएको छ।

आयाल निगमको क्षेत्रीय डिपो अमलेखगन्जले औपचारिक कार्यक्रम गरी लकिङ प्रणाली प्रारम्भ भएको जानकारी गराएको हो। रक्सौलबाट लकिङ गरी वीरगंज भित्रिएको एउटा ट्याङ्करलाई अमलेखगन्जमा ‘रिसिभ’ गरी पोखरा विमानस्थल र थानकोट डिपोको लागि लकिङ प्रणालीमार्फत पठाएको छ।

आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले संयुक्त रूपमा ट्याङ्कर पठाएका हुन्। 

यो प्रणालीले निगमको चुहावट नियन्त्रण गरी घाटा कम गर्ने विश्वास लिइएको कार्यकारी निर्देशक भट्टराईले बताए। ‘निगमको मुख्य समस्याको रूपमा इन्धन चुहावट रहेको छ। यस्तो प्रविधिले चुहावट नियन्त्रण गर्छ। यसले निगमको घाटा कम गर्ने विश्वास छ,’ उनले भने।

रक्सौल–वीरगंज नाका भएर हाल १२ वटा ट्याङकरमा यो प्रणाली जडान गरी सकेको र बाँकीमा निगमको निर्देशन अनुसार जेठ मसान्तभित्रै लगाउने तयारी रहेको नेपाल आयाल निगम क्षेत्रीय कार्यालय अमलेखगन्ज डिपोका प्रबन्धक प्रदीपकुमार यादवले बताए। 

रक्सौल–वीरगंज नाकामा करिब साढे तीन सय इन्धन बोक्ने ट्याङ्कर सञ्चालनमा छन्। एक महिनाअघि काकडभित्ता र चारआली नाकाबाट सुरु भएको लकिङ प्रणाली हरेक भन्सार नाकामा लागू गर्ने लक्ष्य छ। त्यसै अनुरूप ६० प्रतिशत इन्धन भित्रिने नाका वीरगंजमा यो प्रणाली प्रयोगमा ल्याइएको हो। हाल ४० प्रतिशत ट्याङ्करमा लकिङ प्रणाली जडान भइसकेको बताइएको छ। 


कसरी हुन्छ चुहावट नियन्त्रण?

लकिङ प्रणाली अन्तर्गत रडले लक गरी ताल्चा लगाइन्छ। जुन खोल्न निगमले तोकेको ‘मास्टर कि’ले मात्र सक्छ। कुनै गाडीका चालक वा सहचालकले पहिलेको पुरानो प्रविधि जस्तो लिडको मेटालिक सिललाई भाँचेर इन्धन निकाल्न सक्दैनन्। 

‘भारतमा सन् २००२ देखि प्रयोगमा छ। यो प्रविधि हालसम्म दुरुपयोग भएको छैन, ‘नेपाल आयाल निगमका वीरगंज कार्यालय प्रमुख जगदीशचन्द्र यादवले भने, ‘अब कसैले बाटोमा लक तोडेर इन्धन चोर्न पाउँदैन।’ 

नेपाल आयाल निगमले मे २६ देखि आफ्ना मातहतको डिपो तथा बिक्री केन्द्रका लागि ‘मास्टर कि’ उपलब्ध गराउने तयारी गरेको छ। एउटा ‘मास्टर कि’ले ५० भन्दा बढी ट्याङ्करको लक खोल्न सकिने सुविधा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell