PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वेपत्ता परिवारको कार्यक्रममै प्रचण्ड नगएपछि निरास सावित्री भन्छिन : छोराको आँशु नलागोस्



विधुर ढकाल

वेपत्ता परिवारको कार्यक्रममै प्रचण्ड नगएपछि निरास सावित्री भन्छिन : छोराको आँशु नलागोस्

काठमाडौं : बनेपा ११ की ६४ वर्षीया सावित्री घिमिरे आज बिहानै काठमाडौँ आइपुगिन्। तत्कालीन नेकपा माओवादी केन्द्रको मुख्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आइपुगेकी उनी दिउँसो अवेर ३ बजे निराश हुँदै फर्किइन्। 

तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा राज्यद्वारा वेपत्ता पारिएका व्यक्तिको स्मृतिमा 'राज्यद्वारा वेपत्ता पारिएका योद्धा परिवार समाज'ले १२ बजे पेरिसडाँडामा स्मृति कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन माओवादीका सुप्रिम कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने बताइएको थियो। 
६४ वर्षीया घिमिरे प्रचण्डसँग भेट हुने आशाका साथ बिहान पेरिसडाँडा पुगेकी थिइन्। तर ३ बज्दा समेत दुवै अध्यक्ष कार्यक्रममा आइपुगेनन्। दुवै अध्यक्ष आइनपुगेपछि उनी ‘हाम्रा छोराको आँसु नलागोस्’ भन्दै फर्किइन्।

१५ वर्ष अगाडि भक्तपुरको कौशलटारबाट उनका २४ वर्षीय छोरा प्रकाश घिमिरेलाई नेपाली सेनाले वेपत्ता पारेको थियो। अझै पनि उनले ती छोरालाई सपनामा देख्छिन्। ‘छोरो मरिसक्यो, अझै हाँस्दै हिँड्छे ‘राँडी’ भन्छन् सबैले म कसैलाई आशु देखाउँदिन तर नेताहरूले हामीलाई हेला गरे दुःख लाग्छ बाबु,’ उनले भनिन्, ‘आज कार्यक्रममा हामीलाई कुराएर प्रचण्डले चित्त दुखाए।’

उनलाई अझै छोरो फर्केर आउने आशा भने जीवितै छ। ‘तेरो छोरो मरिसक्यो भन्छन्। मलाई अझै जिउँदै छ भन्ने आशा छ,’ आँसु पुछ्दै उनले भनिन्, ‘अझै सपनामा आमा भन्दै आउँछ। मैलो लुगा लगाएर फुत्त आउँछ फुत्त जान्छ। सपनामा देख्दा अझै केही भएको छैन जस्तो लाग्छ मर्‍यो भन्ने लाग्दैन।’ 

कुर्सीमा पुगेपछि पार्टी (तत्कालीन माओवादी)ले बिर्सिएको उनले गुनासो गरिन्। ‘सरकारमा पुगेपछि हाम्रा छोराहरूलाई बिर्सिए,’ सावित्रीले भनिन्, ‘उनीहरूलाई त के छ र कुर्सीमा पुगिहाले ठीक भो, हाम्रो आशामाथि अझै खेल्दै छन्। नेताहरूले कि लास दिनुपर्‍यो कि त सास दिनुपर्‍यो।’ 


‘न त तिम्रो साथ पाएँ न त लास चुम्न पाएँ’ 

न त तिम्रो लास साथ पाएँ
न त तिम्रो लास चुम्न पाएँ
न त विधवाको पहिचानमा ढल्न पाएँ
बार बार घोचिरहन्छ ‘वेपत्ता’ शब्दले’
कतै भेट होलाकी भन्दै टोलाइरहन्छु


सावित्री घिमिरे मात्र होइनन् सोमबार पेरिसडाँडामा भेटिएकाहरुको पीडा उस्तै थियो। १२ बजे नै पेरिस डाँडा पुगेकी रेनुका चौलागाईँ अबेर प्रचण्ड नआउने खबर सुनेपछि निराश भइन्। त्यही पनि कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ कार्यक्रममा पुगे। 

रेनुकाले आफ्ना जीवनसाथीको स्मृतिमा कविता वाचनको समय मागिन्। तर नेम्वाङलाई हतारो थियो संसद् बैठकमा सहभागी हुन्। उनी निराश भइन्। कार्यक्रमका प्रमुख अतिथ समेत रहेका नेम्वाङ फर्किएपछि उनले वेपत्ता परिवारका बीचमा कविता सुनाइन्। 


हामी सूर्यमा भोट हाल्छौँ, पूर्व एमालेहरूले शहीद र वेपत्तालाई सम्झिउन्

तत्कालीन द्वन्द्वको क्रममा राज्यले दुई वटा छोरा वेपत्ता पारेका भीमबहादुर बस्नेत दुई ठुला कम्युनिस्ट पार्टी एक भएकोमा खुशी थिए। तर, उनले आफ्ना छोराहरूको सपना पूरा गर्न भने खबरदारी गरे। 

‘अहिले दुई वटा ठुला कम्युनिस्ट पार्टी एक भएका छन्। नेपालमा शक्तिशाली कम्युनिस्ट पार्टी बनेको छ,’ उनले भने, ‘हिजो जे भयो जस्तो भयो। अब हाम्रा छोराका सपना पूरा हुन्।’ बस्नेतले शहीद र वेपत्तालाई सम्झिनपुर्ने बताए। 

‘हिजो हामीले सूर्यमा भोट हाल्न तयार भयौँ। अब पूर्व एमालेहरुले हाम्रा शहीद र वेपत्ता योद्धाहरुलाई सम्झिउन्,’ उनले भने, ‘हामीले अरू केही चाहिएको छैन। हामीले सन्तान गुमायौँ, अब हामीलाई दुई सन्तान चाहिएको छ। शान्ति र समृद्धि हामीबाहेक अरू केही माग्दैनौँ।’


पेरिसडाँडा पुगेर शहीदका सपना पूरा गर्ने नेम्वाङको प्रतिबद्धता

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष सहभागी हुने बताइएको थियो। तर, अन्तिम समयमा कार्यक्रममा सहभागी हुन पूर्व एमालेका नेता तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ पुगे। कार्यक्रममा उनले शहीद र वेपत्ताका सपनाहरूलाई पूरा गर्ने बताए। 

‘हिजो शहीदका सपना पूरा गर्ने अवस्था थिएन्। बोलेर पनि गर्न सकेनौँ। अब बाचा पूरा गर्ने आधार बनेको छ,’ उनले भने, ‘तपाईँहरूका सपना पूरा गर्न अगाडि बढेका छौँ।’ उनले तत्कालीन समयमा माओवादी कार्यकर्ताहरू वेपत्ता पारिएका व्यक्तिहरूको कानुनी लडाइ लडेको भन्दै उनले वेपत्ता पारिएकाहरुका परिवारलाई नेपाल कम्युनिस्ट पार्टीले न्याय दिलाउने प्रतिबद्धता समेत दिलाए। 

‘सीएम प्रचण्ड, प्रधानमन्त्री केपीजी पनि यस विषयमा गम्भीर हुनुहुन्छ। हामीले वेपत्ता आयोग र सत्यनिरुपण आयोगको कामलाई अगाडि बढाउने विषयमा काम गरिरहेका छौँ,’ उनले भने, ‘यो अन्योलको स्थितिलाई समाप्त पारेर अगाडि बढ्नुपर्छ। हामी सबै त्यसतर्फ लागेका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell