PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आफ्नै भोगाइका 'प्लट' उन्दै नाजिरको नाटक: कुरुप हाँस



स्वेच्छा राउत

आफ्नै भोगाइका 'प्लट' उन्दै नाजिरको नाटक: कुरुप हाँस
इन्सेटमा मीना बेगम

बकर इदको माहोल। कुरबानीका लागि राखिएको खसी भएको घरमा सबै भेला हुने चलन। दादीजीदेखि फुपूहरु, काका अनि सबै एकै ठाउँमा। बली दिन घरमा राखिएको ठूलो रातो रङको खसी अझै सम्झन्छन्, नाजिर हुसेन।

चहलपहल, मीठा परिकार र नयाँ लुगा पाउँदाको उत्साहित मन निराश भयो जब दादीले भनिन्, 'न भोजपुरी बोल्न जान्छ, न अनुहार मिल्छ। मुसलमनको बच्चा जस्तो छैन यो। सानो भाइ त पहाडीया नै हो।'

दादीको आवाज चर्कँदा सबै जना चुप हुन्छन्। त्यस्तोमा नाजिरकी आमा मीना बेगम चुप रहन सक्दिनन्। भन्छिन् - ‘अँ यसलाई त्यहीँ दुधौरा खोलामा भेट्टाएको त हो नि।‘

दादीले पटक-पटक नाजिरलाई आफ्नो सन्तान होइन भन्नुको कारण एउटै थियो - नाजिरकी आमा। उनी काठमाडौँकी रैथाने। त्यसमाथि हिन्दु। बिहे गरेर सिमरा पुगिन्। नाजिरमा स्वाभाविक रूपले आमाको भाषा र व्यवहारको प्रभाव बढी पर्‍यो । दादीलाई त्यही मन परिरहेको थिएन।

घर नजिकैको स्याउली चोकबाट भित्र रहेको दुधौरा खोलासँग नाजिरको बालापनको थुप्रै याद जोडिएको छ। तर, आफू त्यहीँ भेट्टिएको भने कसरी स्वीकारुन्? घोसेमुन्टो लगाएर बसेका उनी सरासर आफ्नो कोठामा गए। मच्छरदानी (झुल)को डोरी फन्फनी घाँटीमा बेरे- आत्महत्याका लागि। घाँटी कस्यो भने मरिन्छ भन्ने बुझेका थिए तर त्यसको पीडाको अन्दाज थिएन।

चाल पाउनसाथ आमा अत्तालिँदै कोठामा आइन्। भनिन् – ‘सानोभाइ तँ चित्त नदुखा। दादीजीसँग झगडा नहोस् भनेर मैले त्यसो भनेको। तँलाई खोलामा भेट्टाएको होइन मैले आफैँ पाएको हो।‘

नाजिरको 'सुसाइड अटेम्प्ट' असफल।

त्यसदिनको घटनाले उनको मनमा निकै गहिरो असर पार्‍यो। भन्छन्, ’मलाई त साथीहरूले मात्र होइन, दादीले पनि आफ्नो मान्नुहुन्न भन्ने पर्‍यो।‘

 

यताको न उताको

अल्पसङ्ख्यक मुस्लिम भएको गाउँमा धेरै साथी हिन्दु। तर, मुस्लिम साथीहरूले उनलाई कहिले पनि ‘शुद्ध मुस्लिम’ स्वीकारेनन् अनि हिन्दु साथीहरूले सधैँ मुसलमानमात्रै देखे। गम्भीर भएर पुराना घटना कोट्याए, ’खुब चित्त दुख्थ्यो नि। स्कुलमा सँगै बस्ने, खाजा खाने साथीहरू बाहिर चाहिँ - 'तँ मुस्लिम होस् हाम्रो घरभित्र नपस् है’ भन्थे।'

नाजिर नाजवाफ हुन्थे। किनकि उनलाई आफ्नै समाजले बनाएको थुप्रै नियमहरू सिकाइएको थियो। जुन नियम उनले परिवर्तन गर्न सक्दैनथे। ‘अझ धेरै त मुस्लिम समुदायकै साथीहरूको बचनले दुखाउँथ्यो नि। उनीहरू सधैँ भन्थे - तँ पहाडीया मुस्लिम होस्।'

एकपटक त मुस्लिम भएकै कारण नाजिर र उनका दाइलाई टिभी हेर्न जम्मा भएको ठाउँबाट निकालियो। ‘फुयाँल बाजेको घरमा टिभी हेर्न जान्थ्यौँ। झ्यालमा चढेर, ढोकामा उभिएर भए पनि हेर्थ्यौँ तर त्यो दिन टिभी हेर्न आएको अर्को केटाले मुसलमान भनेर बचन लगाएकै निहुँमा ठूलो झगडा पर्‍यो। त्यसपछि हामी टिभी हेर्न गएनौँ।’

यस्ता घटनापछि लामो समयसम्म प्रश्नले घोच्थ्यो - म किन हिन्दु साथीहरूको भिडमा फरक छु? म किन मुसलमान साथीहरूको भिडमा फरक छु? म किन परिवारमा पनि फरक छु?

 

सपना रूप र शरीर

पातलो शरीर। कालो वर्ण। बोलीमा भोजपुरी लवज। ‘प्लस टु’को पढाई सकेर काठमाडौँमा नृत्य प्रशिक्षणका लागि आएका नाजिरले सोचेको थिएनन् – कुनै दिन अभिनय गर्छु। राजन खतिवडालाई खोज्दै मण्डला पुगेका उनले नाटक सिके। राजनलाई भने कक्षा ६ मा पढ्दा नै चिनेका थिए- सडक नाटक प्रशिक्षकका रूपमा।

थिएटरको नयाँ माहोलमा रत्तिन थालेका थिए उनी। माथा पंचर, डिग्री माइला, चरणदास चोर, स्वप्न महल, सुनकेशरी, मितज्यू लगायत नाटकबाट नाजिर चिनिए। अभिनयको तारिफ बटुले। कतिले अब फिल्ममा काम गर्नुपर्छ पनि भने।

‘नाम लिन चाहन्न तर केही सिनियर दाइहरूले फिल्मका लागि कुरा फाइनलसमेत गर्नुभयो। तर, पछि त्यो रोल पाइनँ,’ व्याङ्ग्यात्मक हाँसोसँगै थप्छन्, ’म फरक देखिन्छु नि त।‘

एक/दुईपटकको रिजेक्सनले निराश पारे पनि उनी आत्तिएनन्। ‘रङ्मञ्च होस् या फिल्म, नामको खोजी र पहिचान फेर्ने पक्षमा म कहिले पनि रहिनँ। म मेरो शरीर वा अनुहारको रङका कारण होइन चरित्रका कारण चिनिनँ चाहन्थेँ। मलाई ग्लामर होइन, कलाकारिता गर्नुथियो।’

नाजिरले पुन्टे परेड, जंगेजस्ता फिल्म गरे पनि उनको हुटहुटी पूरा हुन भने ‘होस्टल रिटर्नस’मा रामेश्वर यादव बन्नुपर्‍यो। उक्त भूमिकाबाट नाजिरको फिल्मी पहिचान स्थापित भयो। ‘तर दर्शकका लागि त मुख्य कलाकार म थिइनँ। दर्शकलाई हिरो भनेको सुगठित शरीर भएको, गुड लुकिङ केटा हुन्छ भन्ने पारिएको छ,’ उनले भने, ’मैले दृष्टिकोणको कुरा गरेको। त्यो दृष्टकोण जसलाई ठूलो जमातले पच्छ्याएकाले हामी पनि त्यही ‘भ्रम’मै रह्यौँ। ‘

 

भेटे मित कथा

तीन वर्षअघि नाजिरले डेनिस लेखक हान्स क्रिश्चियन यान्डरसनको लोककथा 'द अग्ली डकलिङ' पढे। नाटक पढ्दै गर्दा नाजिरले आफ्नै बाल्यकाल त्यसभित्र पाउन थाले। थुप्रै कथा मेल खायो।

कथामा एउटा हाँसले चारवटा टिउरा कोरल्छे। तीमध्ये तीनवटा सेतो र एउटा कालो रङको। एउटा फरक भएकै कारण आमा हाँसलाई आफ्नै अण्डामाथि शङ्का लाग्यो। आमा हाँसलाई आफ्नै सन्तान स्वीकार्न गाह्रो भयो। कालो रङको हाँसलाई त्यसकै आमासँगै अरू टिउराले पनि आफ्नो मान्दैनन्। फरक हाँसले त्यो विभेद अनि आफूप्रतिको घृणा अनुभूत गर्‍यो र परिवार छोड्यो। आफ्नो अस्तित्व पहिचानका लागि अनिश्चित यात्रामा गयो। त्यो यात्रामा पनि त्यसलाई 'तँ फरक छस्। तँ कमजोर छस्' भन्ने महसुस गराउनेहरु भेटिइरहे। तर उसको यात्रा जारी रह्यो।

त्यही हाँस र उसको यात्रासँग नाजिरले आफ्नो अनुभव दाँजे। भोगाइहरू उस्तै लाग्यो। र, त्यही लोककथा माथि नाटक बनाउने निर्णय गरे।

भन्छन्, ’समाजले अनुभूति गराएको मेरो कुरुपतालाई सुन्दर ढङ्गबाट प्रस्तुत गर्नु थियो। त्यही प्रयास हो नाटक ‘कुरुप हाँस’।

 

रिडिफाइनिङ ब्युटी

सुन्दरता के हो? अनि कुरुपता के? यी प्रश्नहरूको सम्भावित जवाफ रेडिमेड छन्। समाजले बनाएको।

कुनै सौन्दर्य प्रतियोगितामा- कान, छाती, कम्मर, ओठ, उचाइ यस्तो भएमात्र सुन्दर हुन पाइने क्राइटेरिया तोकिन्छ र त्यसैलाई हामी सुन्दरताको मापक ठान्छौँ।

साथी साथीको भिडमा कोही एउटाले भन्छ - तेरो नाक त कस्तो ठूलो र नमिलेको है? अनि हामी नाक छाम्न थाल्छौँ।

कुनै आमाले छोरालाई भन्छिन्- बाबु बुहारी चाहिँ राम्री र आफ्नै जातको लिएर आइजो है। र, छोरा आफ्नो प्रेमिकामा आमाले भनेको गुण खोज्न थाल्छ।

रूपसँगै जात, धर्म, लिङ्ग, वर्णको आधारमा सुन्दरताको फरकफरक परिभाषाहरू बनाएको छ। नाजिर प्रश्न गर्न चाहन्छन् - के सुन्दरता वा कुरुपताका ती मापकहरू ठीक छ त? अनि त्यसको असर मान्छेले बनाउने दृष्टिकोणमा, सामाजिक संरचना र भावनात्मक पक्षमा कति पर्छ?

उनले नाटकमार्फत् त्यो कालो हाँसको कथा भन्न कलात्मक तरिका रोजे। उनले कन्टेम्पररीले नृत्यमार्फत् 'द अग्ली डकलिङ'को कथा भने। जहाँ संगीत, नृत्य, शारीरिक चाललाई माध्यम बनाएर कथा भनिन्छ। संवादको प्रयोग कम। यस्तोमा नाटक बुझाउन गाह्रो हुन्छ भन्ने उनलाई पनि नलागेको होइन। 'तर जब दर्शकको प्रतिक्रिया सुनेँ, लाग्यो- सयजना दर्शकले हेर्दा मेरो नाटकको सयवटा फरक आयामहरू बन्ने रहेछन्,' प्रफुल्लित सुनिए उनी।

झन्डै चार वर्षपछिको रङ्गमञ्च कमब्याक। एकल निर्देशनको पहिलो आँट। परिकल्पना र लगानी पनि आफ्नै। नाजिरले 'रिस्क' लिएका थिए।

'मैले मेरो टिमलाई भनेको थिएँ- तपाईँहरूको लागि यो नाटक मात्र होला तर मैले मेरो आत्मा दिएको छु। सम्मान गरिदिनु है। उहाँहरूले भरपूर साथ दिनु भयो,' नाजिर अझ उत्साहित हुँदै थप्छन्, 'जब सुनील पोखरेल सरले नाजिर तैँले एनएसडी (इन्डियन स्कुल अफ ड्रामा) मा लैजाने लेभलको ड्रामा बनाइस् भन्नुभयो। लाग्यो हामीले राम्रो प्रयास गर्‍यौँ।'

उनलाई लेखक राजन मुकारुङले पनि भनेका थिए – जुन कुरा बुझाउन हामी हजारौँ शब्द जुटाउँछौँ त्यो तिमीले आवाजविना नै भन्यौ। नाजिर बधाई।

 

हिन्दुबाट बेगम बनेकी मीनाको संघर्ष

नाजिरले कथाको 'कुरुप हाँस'लाई आफूसँग दाज्दै गर्दा मिल्ने र नमिल्ने कुराहरू टिपोट गरेका थिए। नाटकको कुरुप हाँस र नाजिरको जीवनमा त 'आमा' पात्रबीचमै सबैभन्दा ठूलो अन्तर रहेछ। एउटी आमा जसले आफ्नो सन्तान स्वीकार्न सकिनन् र अर्की आमा जो सन्तानका लागि सबैकुरा त्यागिन्।

'नाटक गर्दै गर्दा मेरी आमाले पनि एउटा अग्ली डकलिङ भएर जीवन बिताउनु भएको रहेछ भन्ने महसुस गरेँ, ' आमाको कुरा गर्दा निकै भावुक हुन्छन् उनी। आँखाभरि आँसु लिएर भने, 'उहाँले त कहिले पनि आफ्नो जिन्दगीको सुन्दर र कुरुपत पक्षलाई भेद गरेर नियाल्ने मौका नै पाउनुभएन।'

उनकी आमा काठमाडौँकी मीना। सिमराबाट सरुवा भएर आएका पुलिस जवान मोहम्मद इसाख हुसेनसँग प्रेममा परिन्। त्यो बेलाको समाज अनि हिन्दु- मुस्लिमबीचको प्रेम। मागी विवाह सम्भव थिएन। त्यस्तोमा मीना र इसाख भागेर सिमरा गए। सिमराको स्याउलीमा रहेको घरमा पुगेपछि थाहा पाइन्- उनी इसाखकी पहिली पत्नी होइनन्।

'आमा भावनात्मक रूपमा त टुट्नु भएको थियो नै सामाजिक दबाब पनि उत्तिकै, ' उनी अनकनाउँदै थप्छन्, 'सायद धर्म फरक हुनुले उहाँलाई परिवारबाट पनि केही फरक बनायो।'

मीनाले माइतीमा आफू फर्केर आउन चाहेको नबताएकी होइनन्। तर माइतीलाई पनि गाह्रो थियो - समाजले तोकेको मर्यादा विपरीत भागेकी छोरीलाई फर्काउन।

केही वर्षपछि मीना र इसाख हुसेन छुट्टिए। कारण बारे खुल्दैनन् नाजिर। आमासँग बसेका उनले आमाले भोगेको अवहेलना, दुर्वचन, दु:ख र अभावका कुराहरू भने उनको स्मरणमा अझै पनि ताजा छ।

स्वास्थ्य चौकीमा 'सुँडिनी'बनेर काम गर्ने मीनाको धर्म, वैवाहिक जीवनको मात्र होइन जागिरको पनि कुरा काटिन्थ्यो। 'हामी सुन्थ्यौँ। आँखाभरि आँसु लिएर सुनिराख्नु बाहेक केही गर्न सकिँदैन थियो। सधैँ लाग्थ्यो- आमा किन रातदिन नभनी काममा जानु हुन्छ होला?'

उनको प्रश्नको जवाफ एकरातको मुसलधारे पानीले दियो। नाजिर र परिवार बस्दै आएको घर भत्कियो। उनीहरूको बास भैँसीको गोठमा सर्‍यो। छाना चुहिएको गोठमा पानी थाप्न राखिएको भाडा बज्दाको आवाज आज पनि उनको कानमा घरिघरि बज्छ। 'त्यो रातभर रोयौँ आमा, म, दाइ र दिदीहरू,' तर भोलिपल्ट मीनाले जम्मा गरेको तलबबाट टायल किनेर ल्याइन्। नाजिर र उनका दाइ दिदीले माटो मुछे। छिमेकीले सघाए र एकहप्तामा भत्किएको घर तयार। नाजिर दङ्ग पर्दै सुनाउँछन्, 'हामी पहिलोपटक टायलले छाएको घरमा बस्यौँ।'

मीना बेगमले अभाव र दबाबबीच पनि कहिल्यै निराश नहुन र प्रश्न गर्न नरोक्नुले नाजिरलाई काठमाडौँ, रङ्गमञ्च हुँदै सिनेमाको पर्दासम्म पुर्‍यायो। त्यसैले नाजिर अहिले आफू हुनुको श्रेय आमालाई दिन्छन्। भन्छन्, 'बुबाप्रति पनि सम्मान छ। तर, बुबाले आफ्नो दायित्वबोध गर्नुभएको भए अझै राम्रो गर्न सक्थेँ कि?'

 

अनि क्लाइमेक्समा अनुत्तरित प्रश्न

नाटक 'द अग्ली डकलिङ' गरेर उनले ३ वर्षअघिदेखिको योजना पूरा गरे। नाजिरलाई लागेको थियो, नाटकमार्फत् उनले आफूजस्तै एउटा कुरुप पात्रको कथा भन्नेछन्। भने पनि। 'तर त्यति मात्र भएन। यो नाटक हरेक दिन मञ्चन गर्दा आँसुसँगै मभित्रको नकारात्मक कुराहरू बगेजस्तो लाग्छ,' उनले अनुभव साटे।

उनले कालो भएकै कारण कुरुप मानिएको हाँसलाई जात, धर्म, वर्ग, लिङ्ग, आर्थिक स्तरका कारण पछाडि छोडिएकाहरु प्रतीक बनाएका छन्। तर, नाजिर मञ्चमा पुग्दा उनलाई लाग्छ त्यो कालो हाँस नाजिर हो। जुन हाँसले अन्त्यमा आफ्नै छायाँ हेरेर थाहा पाउँछ आफू कति सुन्दर छु भन्ने। र खुसीले नाच्छ।

हरेक साँझ नाटक सकिएपछि भने नाजिरको मनमा एउटै कुरा खेल्छ - म त्यो कालो, चिल्लो हाँस त बनेँ। तर, आफ्नो छायाँ देखिने त्यो सुन्दर पोखरीसम्म पुग्न अझै कति लामो यात्रा गर्नु होला? अझ कति पर पुग्नु होला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell