PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

साना देशलाई डाटा दिन फेसबुक कन्जुस, ठूला देशलाई धेरै विवरण



विधुर ढकाल

साना देशलाई डाटा दिन फेसबुक कन्जुस, ठूला देशलाई धेरै विवरण

काठमाडौं : नेपाल सरकारले गएको एक वर्षमा ७६ पटक प्रयोगकर्ताहरुको विवरण उपलब्ध गराउन भन्दै फेसबुकसँग आग्रह गरेको छ। ७६ पटक फेसबुकलाई पत्राचार गरी १ सय १० वटा फेसबुक एकाउन्ट सम्बन्धि विवरण माग गरेको हो। 

तर, फेसबुकले नेपाल सरकारको आग्रहलाई सरदरमा आधासमेत स्वीकार नगर्ने गरेको तथ्यांकले देखाएको छ। फेसबुकले सार्वजनिक गरेको फेसबुक ट्रान्सपरेन्सी रिपोर्टमा सन् २०१७ मा नेपालले ११० वटा फेसबुक एकाउन्ट सम्बन्धी जानकारी माग गरेको उल्लेख छ। जसमध्ये फेसबुककै तथ्यांकले करिब ४४ प्रतिशतको हाराहारीमा डाटाहरु नेपाल सरकारलाई दिइएको उल्लेख छ। 

फेसबुककै तथ्यांकले उसले शक्ति राष्ट्रहरुलाई प्रयोगकर्ताहरुको विवरण धेरै उपलब्ध गराउने गरेको र साना राष्ट्रलाई कानुनी प्रयोजनका लागि आवश्यक डाटा समेत उपलब्ध नगराउने गरेको देखाएको छ। 

नेपाल सरकारले सन् २०१७ को जुलाई देखि डिसेम्बरसम्म ४३ पटक कानुनी प्रक्रिया र ४ पटक आकस्मिक रुपमा गरी ४७ पटक पत्राचार गरेर ६७ वटा एकाउन्टसम्बन्धी विवरण माग गरेको थियो। जसमध्ये फेसबुकले त्यस्ता आग्रह मध्ये ३८ प्रतिशतबाट मात्र डाटा उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। 

यो पनि पढ्नुस् :

फेसबुकलाई किन ‘ट्याक्स फ्रि बिजनेस’को छुट? डिजिटल इकोनोमीलाई करको दायरामा ल्याउन पछाडि पर्दैछ सरकार


त्यस्तै, २०१७ को जनवरी देखि जुनसम्म नेपालले २७ पटक कानुनी प्रक्रिया र २ पटक आकस्मिक गरी २९ पटक गरी ४३ वटा फेसबुक एकाउन्टको विवरण माग गरेको थियो। जसमध्ये ५२ प्रतिशत आग्रहलाई स्वीकार गरेको तथ्यांकले देखाएको छ। 

फेसबुकले सन् २०१३ देखि विश्वभरका देशहरुका विभिन्न सरकारी निकायहरुले माग गरेको तथ्यांकको विवरण सम्बन्धि जानकारी ट्रान्सपरेन्सी रिपोर्टमा प्रकाशित गर्दै आएको छ। 

नेपालले २०१६ मा २७ वटा  फेसबुक एकाउन्टको विवरण उपलब्ध गराउन माग गरेको थियो। त्यस्तै २०१५ मा १ वटा एकाउन्टको विवरण उपलब्ध गराउन आग्रह गरे पनि सोको विवरण फेसबुकले उपलब्ध नगराएको फेसबुककै तथ्यांकमा उल्लेख छ। 

२०१४ मा नेपालबाट ६ वटा फेसबुक एकाउन्टको विवरण माग गरिएको भए पनि कुनै पनि विवरण उपलब्ध गराइएन्। त्यस्तै २०१३ मा ६ वटा एकाउन्टको विवरण उपलब्ध गराउन २० प्रतिशत मात्र विवरण उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। 

फेसबुकले आफ्नो वार्षिक ट्रान्सपरेन्सी रिपोर्टमा संसारका विभिन्न देशका सरकारी निकायले माग गरेको विवरणसम्बन्धी तथ्यांकसमेत सार्वजनिक गर्दै आएको छ । कम्पनीले सन् २०१३ देखि वार्षिकरुपमा यस्तो रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।
 

ट्वीटरसँग ३ वटा एकाउन्टको विवरण माग

यसैबीच सन् २०१७ मा नेपालले ट्वीटरसँग ३ वटा ट्वीटर एकाउन्टको विवरण माग गरेको छ। जसमध्ये ३३ प्रतिशतको मात्र डाटा उपलब्ध गराइएको ट्वीटरले सार्वजनिक गरेको ट्रान्सपरेन्सी रिपोर्टमा उल्लेख छ। 

त्यस्तै नेपाल सरकारका विभिन्न निकायबाट ८ वटा एकाउन्ट बन्द गराउनका लागि ट्वीटरसँग आग्रह गरेको समेत रिपोर्टमा उल्लेख छ। ट्वीटरले सन् २०१२ देखि यो रिपोर्ट सार्वजनिक गर्न थालेको थियो। नेपालको सरकारी निकायबाट यसअघिका वर्षमा ट्वीटरसँग त्यस्तो विवरण माग नगरेको र ट्वीटर एकाउन्ट बन्द गर्न समेत आग्रह नभएको रिपोर्टमा उल्लेख छ। 
 

सबैभन्दा धेरै डाटा माग्ने अमेरिका 

फेसबुकसँग सबैभन्दा बढी डाटा माग्ने देश अमेरिका रहेको तथ्यांकमा उल्लेख छ। रिपोर्टमा अमेरिकाले सन् २०१७ को जुलाई देखि डिसेम्बर सम्ममा ५३ हजार ६२५ एकाउन्टको विवरण माग गरेको उल्लेख छ। त्यसमध्ये फेसबुकले अमेरिकालाई ८५ प्रतिशत डाटा उपलब्ध गराएको तथ्यांकले देखाएको छ। 

त्यस्तै भारतले सोही अवधिमा १७ हजार २६२ एकाउन्टको डाटा उपलब्ध गराउन आग्रह गरेको उल्लेख छ। जसमध्ये उसले फेसबुकबाट ५३ प्रतिशत डाटा प्राप्त गरेको उल्लेख छ। 

त्यस्तै युकेले सोही अवधिमा ९ हजार ७१९ एकाउन्टको विवरण माग गरेकोमा ९२ प्रतिशत डाटा उपलब्ध गराएको फेसबुकले जनाएको छ। 
त्यस्तै जर्मनीले ६ हजार ४९३ एकाउन्टको विवरण माग गरेकोमा ६० प्रतिशत डाटा प्राप्त गरेको छ। ब्राजिलले ६ हजार १०८ एकाउन्ट विवरण माग गरेको ६६ प्रतिशत डाटा प्राप्त गरेको उल्लेख छ। 

त्यसतै फ्रान्सले ४ हजार ९०० एकाउन्टको डाटा माग गरेकोमा ७० प्रतिशत डाटा फेसबुकले फ्रान्सलाई उपलब्ध गराएको उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell