PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अदालतको नजरमा एसएसपी दिवेश लोहनीका तीन गल्ती जसले उनलाई थुनामा पुर्‍यायो



सविन ढकाल

अदालतको नजरमा एसएसपी दिवेश लोहनीका तीन गल्ती जसले उनलाई थुनामा पुर्‍यायो

काठमाडौं : ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरे भए पनि सबैभन्दा बद्नामी खेपिरहेको छ, नेपाल प्रहरी संगठन। 

पूर्व डिआइजीदेखि बहालवाला एसएसपीसम्मलाई जिल्ला अदालत मोरङको आदेश अनुसार पुर्पक्षका लागि थुनामा राखिएको छ। १० दिन लामो बहसपछि अदालतले मंगलवार २८ जनालाई थुनामा राख्न आदेश दिएको हो।

थुनामा रहेका प्रहरीमध्ये सबैभन्दा बढी चर्चा एसएसपी दिवेश लोहनीकै छ। गत असारमा मात्र उनी एसएसपीमा बढुवा भएका हुन्। २५ जनामध्ये ७७ दशमलव ९३ अंकसहित २१ ‌औं नम्बरमा लोहनी बढुवा भएका थिए। त्यस लगत्तै, केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत लोहनीलाई महानगरीय अपराध महाशाखाको जिम्मेवारी दिइएको थियो। महाशाखा आएको केही समयमा नै लोहनीको टिमले ८८ केजी सुन बरामद गरेर बधाईको श्रेय लिएको थियो। तर, हराएको ३३ किलो सुन प्रकरणमा भने उनी नराम्ररी तानिए।  

एसएसपी लोहनीलाई अदालतले शंकास्पद भूमिका खेलको भन्दै थुनामा पठाएको छ। लोहनीका तीन गल्ती केके थिए?

एक 

अदालतले १० दिनको थुनछेक बहसपछि एसएसपी लोहनीले गतल मनासयले काम गरेको देखिएको अदालतको आदेशमा उल्लेख छ। ‘सनम शाक्यको हत्या भएको जानकारी भएपछि सम्बन्धित इलाका प्रहरीलाई घटनाको जानकारी नगराई दोषीलाई तुरुन्तै पक्राउ पर्नु गराउनु पर्ने कानुनी कर्तव्य रहेकोमा एसएसपी लोहनीले सो कार्य नगरी आफ्ना प्रहरी अधिकृतलाई खटाएको देखिन्छ,’ आदेशमा भनिएको छ, ‘त्यसरी खटाउँदा आफुले माथिल्लो तहबाट निर्देशन लिएको भन्ने निजको भनाइतर्फ विचार गर्दा माथिल्लो निकायबाट पनि गैरकानुनी कार्य गर्न निजलाई निर्देशन भएको भन्ने संझन पनि मिल्दैन।‘ 

अदालतले एक जिम्मेवारी प्रहरी अधिकृतले कुनै तरहले पनि कानुन विपरित कार्य गर्ने गराउन नमिल्ने हुँदा उनको सो कार्य विश्वासप्रदक नदेखिएको जनाएको छ।
 

दुई

त्यस्तै, अदालतले प्रजित केसी र बालकृष्ण सञ्जेलले गोरसँग फोन सम्पर्क गरी केस मिलाउने सन्दर्भमा वार्ता गर्दै धरानमा मृतकको लास मगाएको र लास घुमाउँदै मोरङ पुर्यालउँदा गोरे फरार भएको विषयलाई शंकास्पद रुपमा लिएको छ। 

‘चालक टेकराज मल्ल ठकुरीसँग निज प्रहरीको धरानमा भेट भई सो ठाँउबाट लास विभिन्न ठाँउमा घुमाउदै इटहरी लगिएको र पुनः इटहरीबाट विराटनगर लगेर मात्र लास बरामद गरेको देखाइ जिल्ला प्रहरी कार्यालय मोरङलाई बुझाएको देखिन्छ,’ अदालतले आदेशमा उल्लेख गरेको छ, ‘यसरी उक्त लास विभिन्न ठाँउमा घुमाइरहेको समयमा गोरे समेतका मुख्य अभियक्तहरुले भाग्ने उम्कने मौका पाएको देखिन्छ भने उर्लावारीको लास धरान इटहरी हुँदै मोरङ ल्याउनु पर्ने त्यस्तो के गम्भीर परिस्थित परेको हो भन्ने कुरा मिसिलबाट खुल्दैन।‘
 

तीन

अपराधी पक्राउ गर्न रकमको बार्गेनिङ गरिरहेको भन्ने समेत सई बालकृष्ण संञ्जेल र डिएसपी प्रजित केसीको बयानबाट देखिएको छ। अदालतको दृष्टिमा उनीहरुको भनाइ बमोजिम न त मुख्य अभियुक्तहरु पक्राउ परे, न त उनीहरुले कानुन अनुकुलको कार्य गरेको देखियो। ‘अझै लास बुझाउँदा जिल्ला प्रहरी कार्यालय मोरङमा पेश गरेको प्रतिवेदनमा आफूहरुलाई जानकारी भएको मुख्य अभियुक्त गोरे नामसम्म उल्लेख नहुनुबाट डिएसपी प्रजित केसी, बालकृष्ण संञ्जेल र निजलाई खटाउने दिवेश लोहनीको कार्य एवम् कानुन बमोजिमको कार्य मात्र सकिएन,’ अदालतले गरेको विश्लेषणमा उल्लेख छ।

अदालतमा बुझाइको अभियोगपत्र सुन तस्करीका मुख्य नाइके दावी गरिएका गोरेसँग सई बालकृष्ण सञ्जेलदेखि पूर्व डिआइजी गोविन्द निरौलासम्मको प्रत्यक्ष सम्पर्क रहेको उल्लेख गरिएको छ। अदालतको थुनछेक बहसपछि यिनै प्रश्नसहित प्रहरीहरुलाई थुनुवाको लागि पठाएको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell