PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काठमाडौँको 'प्लस टु' पुस्तामा कलिलो उमेरमै गर्भपतनको डरलाग्दो ट्रेन्ड



सागर बुढाथोकी

काठमाडौँको 'प्लस टु' पुस्तामा कलिलो उमेरमै गर्भपतनको डरलाग्दो ट्रेन्ड

'गर्भ बसेन। अनेक उपचार गर्दा पनि पार लागेन'

२७ वर्षीय एक विवाहित युवती स्त्रीरोग विशेषज्ञ डाक्टर करुणा श्रेष्ठलाई उनको क्लिनिकमा आफ्नो समस्या सुनाउँदै थिइन्।  

उपचार गर्नुअघि डा. श्रेष्ठले 'केस हिस्ट्री' बुझ्ने प्रयास गरिन्। गर्भ नबसेर हैरान भएकी ती युवतीको कुरापछि उनले निष्कर्ष निकालिन् — कम उमेरमै अत्यधिक 'इमरजेन्सी कन्ट्रासेप्टिभ पिल्स' (इसीपी)  को सेवन र पटक-पटक गर्भपतन।

ती युवतीको पाठेघरमा संक्रमण थियो। गर्भपतनको औषधि सेवनको कारणले मोटोपन बढ्दै थियो भने बच्चा नभएको कारण पारिवारिक र सामाजिक दबाब। अस्पताल धाउँदा खर्च बढ्दै थियो भने सामाजिक दबाबका कारण मानसिक रुपमा विक्षिप्त हुँदै गएकी थिइन्। यी सबैको कारण एउटै थियो—कम उमेरमै गर्भपतन। 

डा. श्रेष्ठले सन्तान जन्माउने वैकल्पिक उपाय बताइदिएकी थिइन्। केही वर्ष धैर्य गरे सन्तान हुन सक्ने सम्भावनाहरु पनि थिए। तमाम बाध्यताको कारण उनले धैर्य गुमाइन्। श्रेष्ठको क्लिनिकमा खबर आयो, ती युवती अब रहिनन्। उनले आत्महत्या गरिन्। तर, घटना मिडियाको नजरमा परेन।
यस्ता 'अनएक्सपेक्टेड' केसहरुको सूची लामो भएको बताउँछिन उनी। भन्छिन्, 'गर्भपतनको डरलाग्दो असर भित्रभित्रै फैलिएको छ। यस्तै घटना बढ्दै गए महिलाहरुको भविष्य जोखिममा हुन्छ।'

अब गर्भपतनको तथ्यांक एक पटक हेरौँ।

आर्थिक वर्ष २०७४/७५ को चैत महिनासम्ममा स्वास्थ्य मन्त्रालय अन्तर्गत काठमाडौँ जिल्ला जनस्वास्थ्य कार्यालयमा भएको रेकर्ड अनुसार कूल गर्भपतनमध्ये २५ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरीहरु हुन्।  

आर्थिक वर्ष २०७३/७४ मा २४ प्रतिशत  २० वर्षभन्दा कम उमेरका किशोरी थिए। त्योभन्दा अघिल्लो वर्ष (२०७२/७३) को तथ्यांक त झन् कहालिलाग्दो छ। कूल संख्याको ३० प्रतिशतभन्दा बढी २० वर्षभन्दा कम उमेरका किशोरी थिए। 

२०७१/७२ मा पनि कूल संख्याको २५ प्रतिशत गर्भपतन २० वर्षभन्दा कम उमेरका किशोरीको भएको थियो। 

२० वर्ष नपुगी बिहे गर्नु नेपालको कानुन अनुसार दण्डनीय अपराध हो। तर, २० वर्ष नपुगी गर्भपतन गराउने किशोरीहरुको संख्या चार वर्षको ट्रेन्ड एनालाइसिस गर्दा कूल संख्याको एक चौथाई छ। 

गर्भपतन महिलाको अधिकारको विषय हो। कानुनले समेत १२ हप्तासम्म अनिच्छित गर्भ बसे पतन गर्ने अधिकार दिएको छ। कानुनकै भाषामा भन्ने हो २० वर्ष भन्दा कम उमेरमा बिहे गर्नु अपराध हो। स्वास्थ्य मन्त्रालयले पनि २० वर्ष भन्दा कम उमेरकालाई किशोरीको दर्जामा राख्ने गरेको छ। 

औषधिभन्दा अपरेसन गरेर बढी गर्भपतन

सामान्यतया ९ हप्ताभन्दा बढी भएको गर्भलाई अपरेसन गरी पतन गराउने गरिन्छ। त्यस्तै ९ दिनभन्दा कमको गर्भलाई औषधि खुवाएर। स्वास्थ्यको दृष्टिकोणले औषधि खुवाएर गरिने गर्भपतन सुरक्षित हो। तर,यहाँ कूल गर्भपतनको ६३ प्रतिशत भन्दा बढी गर्भपतन अपरेसन गरेर भएको देखिन्छ। चिकित्सकहरुको अनुसार यो अत्यन्तै गम्भीर स्वास्थ्य समस्या हो। यसको सामाजिक पाटो त झनै खतरा छ।

यो वर्ष १३ हजार ५७ जनाले गर्भपतन गराएकामा ८ हजार १८३ जनाले अपरेसन गरी गर्भपतन गराएका छन्। 

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेका अनुसार गर्भपतन गराउनेको संख्या तथ्यांकमा देखिए भन्दा बढी छ। प्रायः किशोरीहरु आफैँ फार्मेसीबाट अवैधानिक औषधि किनेर खाने भएकाले त्यो संख्या तथ्यांकमा देखिदैन। भन्छन्, 'पिसाब जाँच गर्दा प्रेग्नेन्सी पोजिटिभ देखियो भने आफै औषधि किनेर खान्छन्। ती औषधिले काम नगरेको खण्डमा मात्र स्वास्थ्य संस्था आउँछन्।'

गर्भ बसे नबसेको थाहा पाउने प्रेग्नेन्सी किट औषधी पसलहरुमा निकै सस्तोमा किन्न पाइन्छ। 

घट्नु पर्ने किन बढ्यो?

सरकारी तथ्यांक हेर्दा १५ देखि ४९ वर्षसम्मका ४२ प्रतिशत महिलाले परिवार नियोजनका विभिन्न साधन प्रयोग गरिरहेका छन्। सूचिकृत संस्था बाहेक अन्य संस्थाको रेकर्ड हेर्दा परिवार नियोजनको साधन प्रयोग गर्नेहरु बढ्छन्। यसो हुँदा गर्भपतन घट्नु पर्ने हो तर त्यसको ठीक उल्टो २० वर्ष भन्दा कम उमेरका किशोरीहरुले गर्भपतन गरेको तथ्यांकले देखाउँछ।

'मतलब, २० वर्ष मुनिका गर्भपतन गर्ने अविवाहित हुन् त?' 

तथ्यांक अधिकृत बिजुक्छे २० वर्षभन्दा कम उमेरमा गर्भपतन गराउने अधिकांश किशोरीहरू ‘प्लस टु’ पढ्ने रहेको बताउँछन्। उनका अनुसार गर्भपतन गराउन आउनेले परिचय नखुलाई समेत गर्भपतन गर्न पाउँछन्। तैपनि उनीहरुले भर्ने फर्मबाट तथ्यांक संकलन गर्न मद्दत पुग्छ। भन्छन्,' हामीले भराउने फर्ममा शिक्षा पनि उल्लेख गरिएको छ। गर्भपतन गराउने २० वर्षभन्दा कम उमेरका अधिकांश किशोरीले कक्षा १२ अध्ययनरत भनेर लेखेका छन्।'

गर्भपतनको 'कनेक्सन' गर्भनिरोधक चक्कीसँग

बिजुक्छे गर्भपतनको दर बढ्नुको अर्को कारण दिन्छन्, 'आकस्मिक गर्भनिरोधक चक्की।'

उनका अनुसार यौन सम्पर्कपछि युवतीहरुले खाने गर्भनिरोधक चक्कीले काम नगर्दा उनीहरु झुक्किन्छन र गर्भपतन गर्न बाध्य हुन्छन्। भने,  'अहिले बजारमा धेरै किसिमको गर्भनिरोधक चक्की पाइन्छ जसले काम गर्ने कुनै ग्यारेण्टी नै हुन्न।'

आकस्मिक गर्भनिरोधक चक्की उपयोग गर्दा शतप्रतिशत गर्भ रोक्ने ग्यारेन्टी हुन्न। विश्व स्वास्थ्य संगठनको अनुसन्धानअनुसार 'इमरजेन्सी कन्ट्रासेप्टिभ पिल्स' (इसीपी)को प्रभावकारिता ५२ देखि ९६ प्रतिशतसम्म मात्रै हो।

विशेष गरी ७२ घण्टासम्म यसले राम्रोसँग काम गर्ने र त्यसपछि यसै भन्न नसकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ। इसीपीको शतप्रतिशत ग्यारेन्टी नभएको र गुणस्तरिय नभएकाले पनि गर्भपतन बढ्दो छ।

सहरी क्षेत्रमा रहेका अधिकांश महिलाले आफ्नो प्रजनन् उमेरभरमा सरदर ४ पटक गर्भपतन गराउने र पहिलो गर्भपतन २० वर्षभन्दा कम उमेरमै हुने बताउँदै बिजुक्छे भन्छन्, 'यसले के संकेत गर्छ भने अविवाहित हुँदा पनि गर्भपतन हुने गर्छ।'

स्त्री रोग विशेषज्ञ डा. श्रेष्ठ २० वर्षभन्दा कम उमेरको गर्भपतन अत्यन्तै डरलाग्दो रहेको बताउँछिन्। यो तथ्यांकले महिलाहरुको स्वास्थ्य डेन्जर जोनमा रहेको संकेत गरेको उनको कथन छ । भन्छिन्, ' इसीपी प्रयोग गर्नेहरुको स्वास्थ्यमा पनि गर्भपतन गर्ने जत्तिकै समस्या देखिन्छ। भलै त्यो तथ्यांक गर्भपतनमा उल्लेख हुँदैन।'




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell