PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

ऋचा र अर्पण ‘एक्स्ट्रा’ बन्ने ध्यानमा चिप्लिएको ‘सुनकेशरी'


गोविन्दराज नेपाल

ऋचा र अर्पण ‘एक्स्ट्रा’ बन्ने ध्यानमा चिप्लिएको ‘सुनकेशरी'

फिल्म 'सुनकेशरी' प्रचार प्रसारको क्रममा अभिनेत्री तथा निर्माता ऋचा शर्माले पटकपटक भनेकी थिइन्- 'सेतो सारी लगाउँदैमा दर्शक डराउँदैनन्।' बन्दै आएका नेपाली फिल्महरूभन्दा फरक विधा र विषयको फिल्ममा पक्कै केही फरक प्रयोग होला भन्ने थियो। फिल्म शुक्रबारबाट प्रदर्शनमा आयो तर सुनकेशरी पनि हरर फिल्म बारे रहँदै आएका परम्परागत मान्यतहरुबाट माथि उठ्न सकेको छैन। फिल्ममा सेतो सारी लगाएर त तर्साइँदैन तर सेतो नाइट गाउनमा भूतहरू घुम्छन्। ढोका र झ्याल आफै खुल्ने, बन्द हुने हुन्छ। सामानहरू ढल्छन् र आफै यता उता गर्छन्। 

सुनकेशरी (ऋचा शर्मा) ब्रेकअपको पीडा भुलाउन पुगेको होटलमा देखिने दृश्य हो यो। निर्माणाधीन होटलमा होटलमा कामदार यादव (रवीन्द्र झा) मात्र हुन्छ। केही दिनपछि भने अर्को एकजोडी पनि आफ्नो हनिमुनको लागि त्यहीँ आउँछन्। त्यहाँ रहेका सबै केही अदृश्य शक्तिको सिकार हुन्छन्। सिकार भए लगत्तै फिल्म सकिन्छ। न पात्रले संघर्ष गर्छन्, न दर्शकले हरर फिल्मबाट गर्ने अपेक्षा पूरा हुन्छ। ती पात्रहरू बीचको सम्बन्ध र घरभित्रको रहस्य वरिपरि फिल्म घुम्छ। कथा समग्रमा यति हो। 

प्रस्तुतिमा निकै कमजोर छ 'सुनकेशरी'। हरर जेनराको भनिए पनि दर्शकलाई तर्साइ राख्न नसक्नु, डर पैदा गराउन नसक्नु कमजोरी नै हो।   
निर्देशन र पटकथा लेखनमा मेहनत नगर्नुले अर्पण थापाको कमजोरी झल्क्याउँछ। मस्तिष्कमा तयार विषय र कथाको सतही प्रस्तुति गराएका छन् उनले। निर्देशकले हरर जेनराको फिल्म भनेपछि दर्शक तर्साउन आवश्यक ठाने। तर दर्शकको संवेदनासँग घटना पात्रहरूलाई जोड्न आवश्यक ठानेनन्। ६ वर्ष लामो प्रेम टुट्नुलाई सुनकेशरी पात्रको डार्क सर्कल र संवादमार्फत् जानकारी दिइन्छ। अस्ट्रेलियामा लुकेर बसेको यादव पात्रको पीडा र बाध्यता मजाक मजाकमा उडाइन्छ। दर्शक कथा अगाडि बढोस् भन्ने सोच्छन् तर बज्छ रोम्यान्टिक गीत। घटनाको गहिराइमा पुग्नु अघि कि त टेबलमा राखेको सामान खस्छ, कि अलिक डर लाग्दो संगीत बज्छ वा ढोका ड्याम्म थुनिन्छ। 

दर्शकलाई स्क्रिनमा ध्यानाकर्षण गराउन रवीन्द्र झाले भने महत्त्वपूर्ण भूमिका खेलेका छन्। त्यो पनि स्थापित चरित्रका कारण नभई केही चटपटे संवाद र अभिनयका कारण। उनले बेलाबेलामा दर्शकलाई हँसाई राख्छन्। र यो हरर फिल्म हो भन्ने बिर्साइ दिन्छन्। 

फिल्म हेर्दै गर्दा दर्शक हाँस्ने अर्को बहाना बन्छ कलाकार सन्नी ढकालको लवज। नेपाली र अङ्ग्रेजी भाषा मिसाएर बोल्नु मात्र होइन उनको अभिनय पनि निकै अस्वभाविक लाग्छ। संवाद कण्ठ गरेर सुनाए जस्तो। 

पोस्टरहरुमा देखिएकी ऋचा शर्मा हेर्न जान चाहनु हुन्छ भने त्यो पनि पुरा हुँदैन। प्रचारका लागि सार्वजनिक ती पोस्टरहरुकी ऋचा देखिएसँगै फिल्म सकिन्छ। 

न कुनै पात्रको पृष्ठभूमि प्रस्ट हुन्छ न घटनाको नै। न कुनै द्वन्द्व स्थापित हुन्छ न पात्रको संघर्ष। 'फरक विधा' भनेर प्रचार गरिए पनि साहित्य संरचना, पात्र स्थापना, द्वन्द्व निर्माणमा केही नयाँपन छैन। हरर फिल्म सुनकेशरीले दर्शकमा डरको भावना प्रवाह गर्दैन।  

सुरुवाती सिनले दर्शकमा पैदा गर्ने कौतुहुलता, भूत बनेका पात्रहरूको मेकअप, संगीत, पार्श्व धुन र सिनेम्याटोग्राफी फिल्मका बलिया पक्ष हुन्। केही ठाउँमा डबिङको समस्या प्रस्ट देखिएपनि अभिनयमा ऋचा शर्मा, रवीन्द्र झाले निराश बनाउँदैनन्। नव कलाकारहरू लौरेन लांफबर्गले राम्रो काम गरेकी छिन्। दुई बालकलाकारहरु मुख्य पात्र हुन्, स्क्रिनमा थोरै स्पेस पाएपनि उनीहरूको प्रस्तुति तारिफयोग्य छ। 



ऋचा र अर्पण ‘एक्स्ट्रा’ बन्ने ध्यानमा चिप्लिएको ‘सुनकेशरी' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट