PahiloPost

Jun 19, 2018 | ५ असार २०७५

चलिरहेको फर्मूलाबाट पर : हरि


गोविन्दराज नेपाल/पहिलोपोस्ट

चलिरहेको फर्मूलाबाट पर : हरि
नमस्ते दर्शकवृन्द, 

यो रामहरिका पनाति, कृष्णहरिका नाति, शिवहरीका छोरो विष्णुहरी (विपिन कार्की) को कथा हो।

ज्योतिषको आज्ञा अनुसार उसलाई हरि भनिन्छ। हरि, आमा पार्वती (सुनिता श्रेष्ठ) को आज्ञाकारी छोरा हो। अफिसमा शालिन र मिहेनती म्यानेजर। प्रणामी धर्म मान्ने उसको घरमा माछामासु, लसुनप्याज केही पाक्दैन। पाक्दैन त्यसैले खाँदैन। खान मन भने नभएको होइन। 

पेशाले फाइनान्सको म्यानेजर ऊ घरबाटै खाजा बोकेर जान्छ। मथ्थु बुवा शिवहरिका कारण घरमा भएको कलह र अभाव उसले देखेको हुन्छ। त्यसैले रक्सीबाट पनि टाढा बसेको छ। 

शारीरिक कसरत, योगा, पुरानो मोटरसाइकल, कार्यालय, घरबाट अफिससम्मको बाटोमा पर्ने मन्दिरहरु नछुटाई दर्शन गर्नु उसको दैनिकी हो। तर एकदिन हरिको टाउकोमा चराले बिस्ट्याउँछ र उसको सरल सहज जीवनमा अन्यौल र गडबड शूरु हुन्छ। चराले बिस्ट्याएकै कारण तनाव सिर्जना भएको उसको आफ्नै विश्वास हो। अन्यौलसँगकै कथा अघि बढ्छ। र व्यवहारले शान्त र सालिन उ आकाश (कमलमणि नेपाल) र उनकी पत्नी (लक्ष्मी बर्देवा)को अपराधिक गतिविधिको जालमा पर्छ। 

***

यी सबै कथाहरु केन्द्रीय पात्र 'हरि' स्वय‌ंले न्यारेट गर्छ। परम्परागत फिल्म न्यारेटिभको तरिकाबाट पर रहेर गरिएको न्यारेसन नै फिल्म ‘हरि’को विशेषता हो। 

हरिमा मुख्य पात्रले दर्शकलाई 'दर्शकवृन्द' सम्बोधन गरेर कथा भन्छ। सररियालिस्टिक न्यारेटिभ संरचनाको प्रयोग भएको फिल्ममा कति दृश्य र संवादहरु 'एब्सर्ड' लाग्छन्। जस्तै: प्रणामी भनिएको हरिले बारमा रक्सी, मासु र युवतीहरुसँग बिताएको समयको दृश्य लामो लाग्छ तर केन्द्रीय द्वन्द्वमा उक्त दृश्यले अर्थ राख्छ। 

त्यस्तै कथा न्यारेट गर्दा हरि पात्रले भन्छ- लसुन प्याज खादिनँ किनकी हामी प्रणामी हौं। तर जब पात्र आफ्नो पहिचानको खोजीमा लाग्छ तब उसले साबिकभन्दा ठूलो लसुनको पोटी खाएको देखाइन्छ। 

मुख्य पात्रको मनोविज्ञान उसको सपना र सपनापछिको अर्धचेत अवस्थामार्फत बुझाइन्छ। जहाँ प्रयोग दृश्य, ध्वनी र संवादहरु पात्रभित्रको द्वन्द्वमा केन्द्रित रहन्छ। 

*** 
धार्मिक गुरुको आज्ञामा हरिले हरियो रङको लुगा लगाउँदैन, अङ्क ७ बाट पर बस्छ, अन्धविश्वास, आमाको भक्तिभावमा साथ दिन्छ, सपनामा देखेको भैंसीलाई यमराजको दूतको संज्ञा दिन्छ। तर जब उ आफ्नो पहिचानको खोजीमा लाग्छ तब संघर्ष गर्छ। त्यही संघर्षले फिल्मको द्वन्द्व स्थापना गर्छ। 

चारवटा पुस्ताको पुरानो नाम, अन्धविश्वासी सोच बोकेर हुर्किएको हरिलाई आफैलाई चिन्न जिन्दगीको ३० वर्ष लाग्छ। त्यस पश्च्यात आफ्नो नियमित जीवनशैलीको संरचना भत्काएर अघि बढ्छ। 

निर्देशकहरु प्रतिक गुरुङ र सफल केसी पात्रको मनोविज्ञान र घटनाहरुलाई केन्द्रीय द्वन्द्वसँग जोडेर प्रस्तुत गर्नमा सार्थक छन्।

***

कलात्मक शैली प्रयोग गरिएको फिल्ममा विपिन कार्कीले अभिनयको जादु देखाएका छन्। साधुसहित पाँच फरक चरित्र निभाएका उनले हरिका लागि गरेको मिहेनत देखिन्छ। उनले दर्शकलाई न्यारेसनमात्र होइन हाउभाउ र फेसियल एक्सप्रेसनले पनि आकर्षित तुल्याइ रहन्छन्। हरेक फिल्ममा फरक चरित्र बिकास र कुशलतापूर्वक ती चरित्र निभाउनुले नै चिनिएका उनले आफूलाई हरि पात्र कै रुपमा स्थापित गर्न सफल छन्। 

कथा पात्रले भने पनि फिल्म सुन्नका लागि होइन हेर्नका लागि हो भन्ने यथार्थलाई निर्देशक र कलाकार दुबै पक्षले न्याय गरेका छन्। कथ्य संवादसँगै दृश्य बग्छ। 

प्राविधिक पाटोमा गरिएको कामले प्रश्न गर्ने ठाउँ दिएको छैन। जसमध्य फ्रेमिङ, ध्वनि, सेटिङ र कलर कम्पोजिसन उत्कृष्ट लाग्छन्। फिल्ममा प्रयोग सारङ्गीको धुनले पार्श्व ध्वनिलाई थप मजबुत बनाएको छ।

मुख्य पात्रको मनोवैज्ञानिक द्वन्द्वलाई गम्भिर्यता पूर्वक देखाइ राख्दा फिल्मले बीच बीचमा हँसाई राख्न छोड्दैन। निर्देशकले चलाखीका साथ शारीरिक द्वन्द्वको पाटो पनि जोडेका छन्। जसले मनोवैज्ञानिक द्वन्द्वसँग सम्बन्ध राख्छ। 

***
फिल्ममा प्रेम, कमेडी, सस्पेन्स सबै छ। तर, गीत, चुट्किला, तडकभडक फाइटसहितको फिल्म हेरिरहेका दर्शकको लागि हरिको कथा भनाइ धिमा लाग्न सक्छ। चलिरहेको फर्मुलामा नबनेकाले फिल्मले सबैलाई मनोरञ्जन नदेला। कलात्मक फिल्म हेर्न चाहनेका लागि र विपिन कार्कीका फ्यानका लागि पूरा टिमले प्राण दिएको थप एक फिल्म।
 


चलिरहेको फर्मूलाबाट पर : हरि को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट