PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सतह र चलाख चोर : दुई कथा



पहिलोपोस्ट

सतह र चलाख चोर : दुई कथा

  • लिलाराज खतिवडा -

सतह

कुनै समयको कुरा हो। घनघोर जंगलको काखमा एउटा जोगी चिटिक्क कुटी बनाएर बसेको थियो। मानव बस्तीभन्दा केही पर अवस्थित कुटी निकै शान्त पनि थियो। कुटी बनेदेखि नै जोगीले आँगनमा एउटा अखण्ड धूनी पनि चेतन गरेको थियो। बेलाबेला गाउँलेहरु त्यहाँ पुग्थे। जोगीसँग गाँजा, भाङ, धतुरो अनि अन्य प्रसाद खान्थे। भजन गाउँथे। अनि प्रफुल्ल मुद्रामा फर्किन्थे। 

एक दिन जोगी धूनीमा कन्दमूल पोलेर खाँदै थियो। अचानक उसको अगाडि भ्याट्ट एउटा सुगा खस्यो। सुगाको देब्रे पखेटो रक्ताम्य थियो। भुइँमा खसेपछि सुगा भ्याट्भ्याट् गर्न थाल्यो। जोगीलाई कुरा बुझ्न बेर लागेन कि सुगा कुनै शिकारीको प्रहारले घायल भएर भुँइमा झरेको थियो। 

जोगी सुस्तरी सुगाको छेउमा गयो र उसलाईपकड्न खोज्यो। तर सुगा भ्याट्भ्याट् गर्दै ऊबाट टाढा हुन खोज्यो। सुगा क्याँकक्याँक गरेर कराइरहेको पनि थियो। तर, जोगीले एकै झट्कामा सुगालाई च्याप्प अँठ्यायो र उसको घाउ नियाल्न थाल्यो। सुगा भने जोगीको हातबाट फुत्किने असफल चेष्टा गरिरहेको थियो।

जोगीले उसको घाउ नियालेर भन्यो, “मान्छे चिन् सुगा। म शिकारी होइन। जगत कल्याण चाहने जोगी हुँ। म त तेरो घाउमा औषधि लगाइदिन्छु।”

अनि जोगीले एकै हातले आफ्नो राखनधरनबाट केही बेसार झिक्यो। बेसारमा थोरै खाने तेल पनि मिसायो र लेप बनाएर स्नेहपूर्वक सुगाको घाउमा लगाइदियो। एकछिन भ्याट्भ्याट् गरेर सुगा शान्त भयो।

जोगीले सुगालाई एउटा पिँजडामा हालिदियो। र, आफ्नो काममा जुट्यो। काममा जानुअघि उसले सुगालाई केही चारो दिँदै भन्यो, “घाउ निको नहुन्जेल यो पिँजडा नै तेरो घर हो। म काम सकेर आउँछु। अनि गफ गरौंला।”

जोगी दाउरा चिर्न थाल्यो। सुगाले आराम गर्यो। केही बेरपछि जोगी फर्कियो। धूनी तेज गर्यो अनि भोजन बनाउने तरखर गर्न थाल्यो।
उसले पुलुक्क सुगा तर्फ हेर्यो। सुगा चुपचाप आँखा मुँदेर पिँजडाभित्र बसिरहेको थियो। 

जोगीले पिँजडाछेउमा गएर सुगालाई केही चारो हाल्दै भन्यो, “हेर सुगा, म तँलाई केही सिकाउँछु। अब त म बूढो पनि भइसकेँ। शरीर कतिखेर छोड्नु पर्ने हो केही ठेगान छैन। तेरो घाउ निको भएपछि तँ आजाद हुनेछस्। यो क्षेत्र शिकारीहरुको प्रिय स्थान हो। उनीहरु यहाँ आउँछन्। चारा हाल्छन्। झुक्किएर पनि चारा टिप्न नजानू। नत्र उनीहरुले तँलाई जालमा पार्छन्। अनि घर लगेर काटेर खान्छन्।”

दिनहरु आफ्नै तरिकाले बित्दै गए। जोगी हरेक दिन सुगालाई माथिकै जस्तो अर्ती दिने गर्थ्यो। घाउ निको भएदेखि उसले केही दिन यता सुगालाई पिँजडाबाट स्वतन्त्र पनि गरिदिएको थियो। तर, स्वतन्त्र भएर पनि सुगा कतै गएको थिएन। ऊ जोगीसँगै कुटी वरिपरि डुलेर समय ब्यतित गरिरहेको थियो। बाहिरी घाउ बिसेक भएता पनि सायद उसको भित्री दखल ठिक नभएकाले होला, ऊ त्यत्ति लामो उड्न भने सकिरहेको थिएन। 

अब त ऊ जोगीसँग बात मार्ने पनि भइसकेको थियो। जोगीले सिकाएका कुरा र अर्ती उपदेश ऊ खरर भन्ने भइसकेको थियो। 

दुई महिना बिते। 

केही दिन यता जोगी ओछ्यान परेको थियो। तर पनि ऊ सुगालाई हरेक दिन उही पुरानै अर्ती दिने गर्दथ्यो। सुगा पनि उसले भनेका कुराहरु नाँके स्वरमा दोहोर्याउने गर्दथ्यो।

जोगीको हेरचाह गर्न केही गाउँले आएका थिए। सुगाले बोलेका कुरा सुनेर गाउँलेहरु छक्क परे।

एक रात गाउँलेहरुकै काखमा जोगीले शरीर छाड्यो। भोलिपल्ट अरु पनि गाउँलेहरु भेला भएर जोगीको सतगत गरे। जोगीको समाधी उसकै इच्छाअनुरुप कुटीको आँगनमा नै बनाइयो।

कुटीमा ताल्चा ठोकेर गाउँलेहरु फर्किए। कुटी सुनसान भयो। 

अर्को दिन सुगाले जोगीलाई खुब खोज्यो। ‘गोपी कृष्ण काऊ’ भन्दै सुगा कुटी वरिपरि उडेर थाकेको थिएन। अब ऊ पूर्णरुपमा ठीक भइसकेको थियो। आजकल ऊ लामोलामो उडान भर्न पनि थालेको थियो। तर, जति उडे पनि पुनः कुटीमा नै फर्किने गर्दथ्यो। यता कुटीमा जोगीलाई नभेट्दा सुगा केही तनावग्रस्त पनि देखिन्थ्यो।

आँगनमा अकस्मात एउटा शिकारी देखा पर्यो। उसले त्यहाँ जाल बिछ्यायो। अनि चारा फ्याँकेर नजिकैको झाडीमा गएर लुक्यो। 

कुटी वरिपरी भुर्रभुर्र गरिरहेको सुगाले चारो देख्यो। समय नगुमाइ भुरुर्र उडेर ऊ चारो टिप्न गयो। केही बेर उसले दङ्ग पर्दै चारो टिप्यो। तर...
ठीक त्यसै बेला शिकारीको जालले उसलाई छोप्यो। जालभित्र ऊ फड्फड् गर्न थाल्यो। अबेर नगरी शिकारीले सुगालाई नियन्त्रणमा लियो र भन्यो, “भरे बेलुकाको मेरो रक्सीको सितन होस्, तँ।”

अनि ऊ जाल पोको पारेर घर फर्कियो। सुगालाई उसले आफ्नो हातले च्याप्प अँठ्याएको थियो। 

सुगा भने आफ्नै नाँके स्वरमा बोलिरहेको थियो, “हेर सुगा, तैंले यहाँ हरपल सचेत सहनू। शिकारी आएर चारा फ्याँक्न सक्छ। तैंले चारो टिप्न नजानू। गइस् भने शिकारीले तँलाई जालमा पार्नेछ। समातेर घर लग्ने छ। अनि काटेर खाने छ।”

सुगाको आवाज सुनेर शिकारी पनि छक्क परिरहेको थियो।

नोट : यस्तै कथा मैले बिपश्यनाको बीस दिने शिविरमा आचार्य सत्यनारायण गोयन्काको मुखारबृन्दबाट सुनेको थिएँ। दुनियाँमा मान्छेहरुको हालत पनि त्यो सुगाको भन्दा कम छैन। मान्छे जे सोच्छ वा बोल्छ वा गर्छ, उसको चेतना त्यो भन्दा हजारौं प्रकाश वर्ष सुदूर छ। मान्छे यो सुगा जस्तै चेतनाको सतहमा बाँचिरहेको छ। उसले शब्द त सिक्यो। तर, शब्दको मर्मलाई आत्मैबाट अनुभूत गर्न सकेन।
 

चलाख चोर

एउटा कहिल्यै पक्राउ नपरेको चोर थियो। उसको चोरी पेशाका बारेमा कसैलाई पनि थाहा थिएन। ऊ बडा कुशल पाराले चोरी गर्ने गर्थ्यो। कुनै माल हान्नुअघि ऊ निकै मेहनत गरेर अनुसन्धान पनि गर्ने गर्थ्यो। आफूबाट पार लाग्ने भए मात्रै ऊ मध्यरातमा हात लम्क्याउँथ्यो। नत्र चुपै बस्थ्यो।

हेर्दाहेर्दै उसले अथाह सम्पत्ति थुपार्यो। अनि बिहे गर्न केटी पनि खोज्न थाल्यो। एउटी उच्च घरानाकी सुन्दर कन्या उसको भागमा परी। बडो धुमधामसँग बिहे भयो।

उसले आफ्नो चोरी पेशाबारे दुलहीलाई भनेन। हात्तीका देखाउने दाँत भने झैं उसले बजारमा एउटा पसल खोलेको थियो। बिहेपछि उसले त्यो पसल पनि बेच्यो र दुलहीलाई लिएर एउटा ठूलो शहरमा गएर नयाँ जिन्दगीको उपक्रममा लाग्यो।

हेर्दाहेर्दै उसको एउटा छोरो पनि जन्मियो। उसले शहरमा एउटा ज्वेलरी पसल खोलेको थियो। दुलहीलाई पसलमा राखेर ऊ दिनभरी शहर डुल्ने गर्थ्यो। अब बिस्तारै शहरमा पनि उसले रातिराति हात लम्क्याउन थाल्यो। ऊ आफैँ गरगहनाको ब्यापार गर्ने भएको हुँदा उसलाई बहुमूल्य सामान हान्न सजिलो पनि भएको थियो। 

वर्षदिन बित्दा नबित्दै उसले चार वटा स्थानमा निकै हिरा–जवाहरात हात मार्यो। ऊ एक मास्टरमाइन्ड चोर जो थियो। कतै पक्राउ परेन। उसलाई लाग्थ्यो, पक्राउ नपर्नु नै उसको चोरीको रहस्य र खासियत् पनि हो।

जस्तै ताल्चा पनि ऊ एकै झट्कामा खोलिदिन्थ्यो। चोरी गर्ने स्थानमा भएका मान्छेहरुलाई, जो जस्तो हालतमा छ त्यस्तैमा, ऊ सम्मोहन गरिदिन्थ्यो। अब प्रायः रातमा मान्छेहरु त सुतेकै हुन्छन्। ऊ कुनै मौन मन्त्रको सहाराले मान्छेहरुको निद्रा अरु गहिरो बनाइदिन्थ्यो। अनि आरामसँग चोरी गरेर फर्किने गर्थ्यो। उसका अनुसार, चोरी गर्नुपूर्व ऊ क्षेत्रबन्ध पनि गर्ने गर्थ्यो। जस अन्तर्गत ऊ चोरी गर्नुपर्ने स्थानलाई कुनै गुह्य मन्त्रले बाँध्न सिपालु पनि थियो। 

लौ, यो त खान्दानी चोर हो जस्तो छ। ठीक भन्नु भयो। उसका बाबु पनि एक महाचोर नै थिए। महाचोर यसकारण कि उनी पनि आफ्नो जीवनकालमा कहिल्यै पक्राऊ परेनन्।

ऊ जवान भएपछि उसका बाबुले उसलाई पनि रातिराति बोरा बोकाएर आफ्नो पछिपछि लिएर हिँड्न थालेका थिए। बाबुबाट उसले चोरीशास्त्र लगभग कण्ठै पारेको थियो।

तर, उसले आफ्नो सुपुत्रलाई चोरविध्या नसिकाउने नै निर्णय गर्यो। अनि छोरो पाँच वर्षको भएपछि उसलाई होस्टेल हालिदियो।
दिनहरु बित्दै गए।

ज्वेलरी पसल राम्रै चलेको थियो। रातिराति उसको गुप्त धन्दा पनि औंशीपूर्णेमा चलेकै थियो। ऊ घिसिपिटी माल हान्दैन थियो। राम्रो अनुसन्धान गरेर मात्रै ऊ बहुमूल्य वस्तुहरुमा आफ्नो बाजदृष्टि उराल्थ्यो।

छोरो जवान भयो। उच्च शिक्षाका लागि उसले छोरालाई विदेश पठायो। छ वर्षपछि छोरो डाक्टरी पढेर फर्कियो।

यता छोराको सफलता र आगमनले चोर महाशय पनि अपार हर्षले विभोर थियो। अब आमा चाहिँ उचित कन्या खोजेर छोरालाई जोडा बाँधिदिने तरखरमा लागिन्।

शहरको एउटा साहूले केही बहुमूल्य हिरा झिकाएको थियो। हाम्रो मुख्य पात्रले यो कुराको सुइँको पायो। सारा कुराको अनुसन्धान र रेकी गरेर एक रात उसले हिरा हान्ने निर्णय गर्यो।

मध्यरातमा ऊ चुपचाप उठ्यो र खुट्टामा बुटजुत्ता कस्न थाल्यो। अनि छालाको एउटा सानो झोला भिरेर बाहिरियो। झोलामा केही औजार थिए।
बाहिरिन मूलढोका खोल्दै गर्दा अचानक,

“बुबा ?कहाँ जान लाग्नुभएको ? म पनि जान्छु नि,” छोराको आवाज सुनेर ऊ नराम्रोसँग झस्कियो।

“म... मलाई निद्रा लागेन रात्रिशयरका लागि हिँडेको। तँ सुत्, आउनु पर्दैन।” उसले छोरालाई आदेशात्मक लवजमा भन्यो।

“हुन्छ बुबा,”छोराले ढिट गरेन। 

छोरो कम्बल ओढेर सुतेपछि ऊ बाहिरियो र सडकमा लामालामा पाइला चाल्न थाल्यो।

हान्नु पर्ने घरको पर्खाल नाघ्न आँट्दा नसोचेको कुरा भयो। कसैले च्याप्प उसको हात समात्यो। फर्किएर मुक्का हान्न खोज्दा रोक्नु पर्यो किनभने सामुन्ने उसकै छोरो खडा थियो।

“तँ यहाँ किन नि?,” उसले सोध्यो।

“म पनि जान्छु,” छोराले भन्यो।

“कहाँ?,” बाबुले सोध्यो।

“हजुरसँग चोरी गर्न,” छोराले भन्यो।

“के भन्छ यो ?,” बाबु नराम्रोसँग झस्कियो।

“आमाले मलाई सबै भनिसक्नु भयो। हजुरले जति गोप्य राखे पनि उहाँलाई थाहा रहेछ। आज म पनि हजुरसँग गएरै छाड्छु।”

“खतरा हुन्छ। नजा।”

“चोरी गर्न म पनि सिक्छु।”

“एकदम खतरा हुन्छ। अहिल्यै भन्दिया छु। तँ तेरो डाक्टरी पेशा नै सम्हाल।”

“होइन, म गएरै छाड्छु,”छोराले आफ्नो ढिट कायम राख्यो।

बहसको बेला थिएन।

थप केही नबोली बाबुचाहिँले फुत्त पर्खाल नाघ्यो। छोराले पनि त्यसै गर्यो। छोरो अलिक डराएको पनि थियो।

भित्र घुसेर बाबु सरासर एउटा भवन छेउमा पुग्यो। ढोकामा बाहिरबाट ताल्चा ठोकिएको थियो। झोलाबाट एउटा हथौडा झिकेर उसले झ्याम्म ताल्चामा हान्यो। छोराको सातो पुत्लो उड्ला जस्तै भयो। बाबुले यस्तरी हथौडा प्रहार गरेको थियो कि लाग्थ्यो त्यो उसको आफ्नै घर हो।
“बुबा, अलिक बिस्तारै,” छोराले सास दबाएर मात्रै भन्यो।

“मलाई नसिका। डर लागे, फर्किए हुन्छ,” बाबुले भारी आवाजमा भन्यो र घर्याक्क ढोका उघार्यो। उसको चालढाल यति अभ्यस्त थियो कि यस्तो लाग्थ्यो ऊ आफ्नै घरको ढोका उघारिरहेको छ।

छोरोचाहिँको होशोहवाश उडेको थियो। उसलाई चिटचिट पसिना पनि आइरहेको थियो। तै पनि ऊ बाबुको पछिपछि लाग्यो।

भित्र अर्को कोठाको ढोकेताल्चा पनि बाबुले त्यसैगरी फुटाल्यो। अनि अझैभित्रको सेफ पनि उसले एकै झट्कामा फोड्यो।

छोरालाई सनन्न भयो। चक्कर लागेर ढलुँला कि भनेर ऊ सम्हालिन थाल्यो। बाबुले सेफबाट एउटा थैली झिक्यो र जाँच गर्यो। अनि थैली आफ्नो खल्तीमा घुसार्यो।

ठीक त्यसैबेला केही मान्छे ‘चोरचोर’ भनेर कराउँदै आइलागे।

बिजुलीको गतिमा बाबुले छोरो चाहिँलाई ती मान्छेहरुतर्फ हुत्यायो। र, आफू पनि ‘चोरचोर’ भन्दै झ्यालबाट फाल हालेर भाग्यो। 

ती मान्छेहरुले छोरालाई समाते। छोरो कहालियो। तर, अचानक छोरा चाहिँमा पनि कहाँबाट एउटा अथाह शक्ति बिष्फोट हुन पुग्यो। उसले एकै झट्कामा ती मान्छेहरुको पन्जाबाट आफूलाई फुत्कायो। र, झ्यालबाट उसैगरी फाल हालेर कुलेलम ठोक्यो। 

मान्छेहरुले उसलाई खेदे। तर, पर्खाल नाघेर पलभरमा नै ऊ अँध्यारोमा अलप हुन पुग्यो। मान्छेहरु अध्याँरोमा अन्तै छाडिए।

चितुवाले जस्तो दगुरेर ऊ घर पुग्यो। 

बाबु भने उपरखुट्टी लगाएर कफीसँग बिस्कुट खाइरहेको थियो।

दुवैका आँखा जुधे। छोराको अनुहार पहेँलिएको थियो।

छोराले लगभग एकैसासमा भन्यो, “मलाई दुष्मनको पञ्जामा किन हुत्याउनु भयो बुबा? तपाईं यति निर्दयी हुनुहोला भनेर मैले चिताएको पनि थिइँन।”

बाबुले एकछिन गढेर छोराको चेहरामा हेर्यो र भन्यो, “मैले तँलाई पहिल्यै चेतावनी दिएको थिएँ, खतरा हुन्छ भनेर। तैँले नै जिद्दि गरिस्। खैर, तँ ज्यूँदै यहाँ आइपुगिस्, यो नै काफी छ। बाँकी जे भयो, सब बिर्सिदे। जोखिम नमोली चोरी सम्भव हुँदैन। यो पेशै यस्तो हो। तँ ज्यूँदै घर आइपुगिस्, अब किन पुरानो कुरामा उल्झिरहने? कफी?”

बिजुलीको हाइ भोल्टेज जस्ता बाबुका बातहरु सुनेर छोराले मुख अमिलो बनायो। 

भनिन्छ, त्यस दिनदेखि बाबुचाहिँले चोरी कार्यबाट सन्यास लिएको थियो। र, छोराले पनि चोरी पेशा बेठीक भएको निष्कर्ष निकालेर डाक्टरी गर्न थालेको थियो।

नोट : ओशोको प्रवचन आधारित भएर यो कथा पुनर्लेखन गरिएको हो। साहित्य–उडानको भरपूर फाइदा उठाउँदै यसमाकेही नाटकीय रुपान्तरण पनि गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell