PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शनिबारबाट अन्तिम मल्ल राजाको नियती ‘रणहार’



पहिलोपोस्ट

शनिबारबाट अन्तिम मल्ल राजाको नियती ‘रणहार’

काठमाडौं: अन्तिम मल्ल राजाको भोगाइ मार्फत् काठमाडौं उपत्यकाको एउटा कालखण्डलाई चित्रण गरेर मुलुकको पुनर्लेखित इतिहास  ‘रणहार’ वर्णन गर्नेभएको छ।

नेपालयले प्रकाशन गरेको किताबको मुख्यपात्र हुन् भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल। रणजीत मल्लकै पालामा पृथ्वीनारायण शाहले उपत्यकाकै उतिबेलाको सबैभन्दा शक्तिशाली र बैभवशाली राज्य भक्तपुरमा कब्जा जमाएका थिए। भक्तपुर हातमा लिएपछि नै गोरखाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो।

पुस्तक इतिहासका अध्येता योगेश राजले तयार पारेका हुन् ।

उति बेला उपत्यकाका तीनवटा राज्यमध्ये पनि सबैभन्दा महत्वपूर्ण भक्तपुरमा झण्डै आधा शताब्दी शासन गरेका रणजीत मल्लले सन् १७६९ मा पृथ्वीनारायण शाहका सैन्य र चलाखीपूर्ण कदमहरुबाट राज्य गुमाएका थिए। पुस्तक त्यही ऐतिहासिक परिघटनामा केन्द्रित रहेको छ।

अठारौं शताब्दी सिंगो भारतीय उपमहाद्वीपकै लागि उथलपुथलको समय थियो । लगभग सम्पूर्ण जसो क्षेत्रमा इस्ट इण्डिया कम्पनीले धमाधम कब्जा जमाइरहेको थियो। त्यहि बेला यता हिमालयको मुनी रहेका ससाना पर्वते राजा रजौटाहरु पनि आ–आफ्ना प्रभुत्व जोगाउने र बढाउन लागिपरेका थिए। त्यो बेला नेपालखाल्डोका तीनवटै राज्य आकर्षणका केन्द्र रहेका थिए ।

पुस्तकले तत्कालीन राज्यका शासक र नागरिक कसरी आफूलाई एउटै मूल हाँगोबाट छुट्टिएको ठान्थे र एकै बोली बोल्थे भन्ने चर्चा पनि गरेको छ। आपसमा लड्ने, भब्य मन्दिर र प्रासाद बनाउन प्रतिस्पर्धा गर्ने अनि मर्दापर्दा सुखदुःखमा सामेल पनि हुने उनीहरु नै फेरि सत्ता, भूमि, ग्रह, नक्षत्र र पूँजी हडप्नका निम्ति अन्तस्कलहमा पनि अल्झिरहने विवरण पुस्तकमा वर्णित छ।

जतिबेला रणजीत मल्ल ब्यूँझिए त्यतिन्जेल धेरै ढिला भइसकेको थियो। गुमेको राज्य त अब फर्कँदैन थियो। तर, जीवनको अर्थ पहिल्याउन भने अझै केही समय उनीसँग थियो। त्यस्तो बेलामा उनले के गरे ? पुस्तकले त्यसैको सेरोफेरोमा आफुलाई केन्द्रित गरेको छ।

रणजीतले जय र पराजयलाई आफू भएरै गुज्रिनदिए। रणजीतको त्यो जीत थियो वा हार भन्ने निश्कर्षमा पुग्न पाठकहरुलाई मद्दत गर्नु नै पुस्तकको मुख्य उद्देश्य हो।

पुस्तकमा प्रयोग भएको भाषा यसको अर्को आकर्षण रहेको छ। यसको भाषाले पाठकलाई तत्कालिन भक्तपुर विचरणको यथार्थ नजिकको काल्पनिक अनुभूति गराउँछ। पुस्तक शनिबारदेखि उपलब्ध छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell