PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५

आफ्नै कथा, आफैँ कास्ट : एउटा प्रेमिल घटनाको फिल्मी रुप

आफ्नै कथा, आफैँ कास्ट : एउटा प्रेमिल घटनाको फिल्मी रुप

रीना मोक्तान/पहिलोपोस्ट


पोखराको एउटा पौडी पोखरी। कविताले पहिलोपटक त्यहीँ उमेशलाई देखिन्। 'फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन' भने झैं पहिलो लुक मै कविता उमेशदेखि प्रभावित भइन्। 

आफूलाई केटा झै ठान्ने कविता त्यतिखेर १९ वर्षकी थिइन्। जुन दिन उनले उमेशलाई देखिन् त्यसैदिनबाट उनलाई अनुभूति भयो उनी – किशोरी हुन्। 'स्विमिङ पुलमा उमेशलाई देख्दा मैले केटी स्वभाव महसुस गरेँ,’ पहिलो नजरको बयान गरिन्, ‘म लजाएँ।'  

विस्तारै कविता र उमेशको भेट बाक्लिन थाल्यो। प्रेम सम्बन्धको शुरुवात पनि। पढ्नका लागि पोखरा पुगेका थिए उमेश। 

घटना १९ वर्षअघिको। पोखरामा मानिस नै कम थिए। धेरैजसो केटा साथीसँग घुलमिल हुने बानी भएकाले कवितालाई उमेशसँग पोखराका बाटोमा देख्नेले सामान्य नै सोच्थे। तर, पोखराका चलेका डेटिङ स्पटमा यी दुईलाई देखेपछि शंका गर्नेहरु बढे। कुरो घरसम्मै पुग्न थाल्यो। 

आफ्ना बाबु र आमा डिभोर्स भएर छुट्टिएकाले सानैदेखि काकासँग बस्दै आएका थिइन् कविता। काकासँग उनलाई डर लाग्थ्यो किनकि उनकै लालनपालनमा हुर्किरहेकी जो थिइन्। 

त्यतिखेर उनीहरु भेट्ने आधार चिठ्ठी या टेलिफोन थियो। 

घन्टौं कुरेर एक अर्कालाई फोनमा भेट्थे। सुरुवाती दिन सम्झिँदै भन्छिन्, 'हाम्रो लभ पर्दा मोबाइल त्यति प्रयोगमा थिएन। त्यतिखेर उमेश कलेज मै बस्नुहुन्थ्यो।‘

कलेजमा नै फोन गरेर बोलाएपछि कम्तिमा १० मिनेट कुर्नुपर्थ्यो। त्यसपछि तारले जोड्थ्यो यी दुईलाई। 

'अहिलेजस्तो मोबाइल कहाँ पाउनु? टेलिफोनमा कुरा गरेर महेन्द्र पुलमा भेट्ने भनेपछि कुरेर बस्नु पर्थ्यो।' 


पहिलो भेटको आठ महिनामा उनीहरु भागेर बिहे गर्ने निर्णयमा पुगे।

उमेश जातले क्षेत्री। थर, थापा। अनि कविता गुरुङ। अन्तरजातीय प्रेमलाई घरले स्वीकार्ने कुरै थिएन। 

एकदिन उमेशसँगको प्रेम सम्बन्धबारे काकालाई थाहा भयो। कविताले भागेर विवाह गर्ने निर्णय लिइन्। 

'१८ वर्ष अगाडिको कुरा हो। घरमा उमेश र मेरे लभ परेको थाहा पाउनु भयो। काकाले गाली गर्नुहोला भन्ने डरले मैले नै उमेशलाई भागेर बिहे गरौं भनें। उसले मलाई पोखराबाट लुभु लग्यो। उसको घर,' कविताले जीवनको मोडलाई खुलाइन्।

उमेशले किनिदिएको कुर्तामा कविता उमेशसँग भागेकी थिइन्। 

कविताले भागेर विवाह गरौं भन्नासाथ उमेश तयार भएको सम्झिँदा आज पनि कवितालाई अनौठो लाग्छ। 

दुवैमा आफ्नो अन्तरजातीय प्रेम भागेपछि मात्र सफल हुने सोच थियो। इन्जिनियरिङ गर्दै गरेका उमेशले कलेजका साथीसँग पैसा मागेर कवितालाई भगाएका थिए। 

'परिवारको माया छुट्टै थियो। उमेशले मलाई यत्ति धेरै प्रेम गर्थ्यो कि उसको मायाका लागि मैले काको घर छोड्ने हिम्मत गरेँ,' सुनाइन्।

त्यतिखेर  भागेर जाने जोडीहरु दार्जिलिङ विभिन्न ठाउँमा घुमेपछि मात्र घर जाने फेसन नै थियो। तर, उमेशले कवितालाई सोझै लग्यो घर। 

'उमेश घरको जेठो छोरा। कहाँबाट गुरुङसेनी लिएर आयो भनेर शुरुमा बुवा आमालाई चिन्ता पनि भएको थियो,' भनिन्, ‘फरक जातकी छोरी ‘घरकी बुहारी’ हुँदा चिन्तित हुनुहुन्थ्यो। म गएको पहिलो दिनमै उमेशकी आमा रुनुभयो।‘ 

जेठी बुहारी नै फरक जातको भएकाले कति महिनासम्म त पानी थाप्न धारामा जान दिएन परिवारले। बुहारी भनेर घरमा भित्र्याइसके पनि समाजले के भन्ला भन्ने त्रासमा थियो परिवार। 

'प्राय जस्तो मलाई बाहिर ननिस्क भन्नुहुन्थ्यो। कुल देवतालाई छुन दिनुहुन्थेन। छिमेकीको भान्सामा छिर्न दिनु हुन्थेन,' उनले सुनाइन्।
 
भागेर गएको दुई महिनापछि उनको औपचारिक बिहे भयो – क्षेत्री परम्परा अनुसार। त्यसपछि पक्का बुहारी भइन्। तै पनि समाज अहिलेजस्तो खुकुलो थिएन।

'धारामा पानी थाप्ना जाँदा कतिले न’छो भन्थे। सबै सहन्थेँ। पोखरा बजारमा हुर्केको मलाई गाउँमा सामान्य बन्न गाह्रो भयो,' पोखराको घरानाबाट काँठमा भित्रिँदाको समय सुनाइन्।

बिवाहपछि उमेश बाँकी पढाइ सिध्याउन पोखरा फर्के। कविता यतै रहिन्। उमेश पोखरा गएपछि कविता एक्लै भएकी थिइन्। नयाँ घर नयाँ परिवारसँग रमाउन सिक्दै गइन्। 

तीन महिनापछि पोखराबाट फर्के उमेश। लगत्तै नर्वे उडे – पढ्नकै लागि। 

'जसको लागि काकाको घर छोडेर आएँ। विवाह भएको केही महिनामै उनैले छोडेर गयो,’ रसाएको आँखाबाट आँशु टप्किन रोक्दै भनिन्, ‘उसलाई पढ्नु थियो। कमाउनु पनि।'

अहिले पनि उमेश नर्वे जाँदाको क्षण सोच्दा उनको मन भारी हुन्छ। 

'दिन त सजिलै कट्थ्यो तर रात रोएरै बित्थे,’ सुनाइन्, ‘प्राय रातहरु उमेशलाई याद गरेर रूँदै बित्ने गर्थ्यो। केही समयपछि चिठीबाट कुरा हुन थाल्यो।'

नर्वेबाट उमेशले पठाएको चिठ्ठी हुलाकीले घरसम्मै ल्याउँथे। कविताका लागि ती चिठ्ठी नै उमेशको माया जोड्ने आधार थिए। 

'कहिलेकाहीँ आमाहरुले चिठ्ठी पढेर अलपत्रै राखिदिनुहुन्थ्यो। म फेरि मिलाएर कोठामा चिठ्ठी राख्थेँ उमेशको याद आउँदा पढ्न सकुँ भनेर। 
फोन गर्न महँगो पर्थ्यो त्यतिखेर। आफ्नोमा फोन थिएन। छिमेकको घरमा उमेशले फोन गर्थे। कुरा हुन्यो। 

तर, कहिलेकाहीँ फोन आएको खबर दिन पनि झ्याउ मान्थे छिकेकी। धेरै बोल्दा पैसा धेरै काट्थ्यो। परिवार पनि कुरा गर्न लाइनमा हुन्थेँ। दु:खसुखको कुरा गर्ने समय नै हुन्थेन उनलाई। दुई वर्ष त्यसरी नै बित्यो।

उमेशलाई जसले नर्वेमा सघाइरहेका थिए उनीहरुले नै कवितालाई पनि बोलाए – पढ्नका लागि। उनीहरुले उमेशलाई छोरा झै व्यवहार गर्थे। नर्वेका लागि भिसा अप्लाई गरिन्। तर, सोचेजस्तो भएन। लाग्थ्यो, 'उमेशलाई भेट्न नपाई मर्ने हो कि?' 

भिसा त लाग्यो। तर पनि तनाव घटेन। 'घरबाट माला टीका लगाएर एरपोर्ट पुग्दा फ्लाइट क्यान्सिल भयो,‘ भनिन्, ‘तीन दिन होटल बस्नुपर्दा उमेशलाई भेट्न नपाउने डरले सताइरह्यो।‘ 

नर्वे पुगे पनि यहाँजस्तो जीवन थिएन। तै पनि उमेश र उनी एकै देशभित्र थिए।

‘खुशीका कुराहरुले गर्दा पनि होला अहिले दु:खको कुराहरु बिर्सिसकेँ,' उनले भनिन्।

नर्वे पुगेको तीन महिनामा उनी प्रेग्नेट भइन्। बच्चा जन्माउने निर्णयमा पुगे थापा दम्पती।

नर्वेमा भए पनि पढ्नका लागि यी दुई छुट्टिनु पर्यो । उमेश र कविता बस्ने दुरी पोखरा र काठमाडौं जत्तिकै थियो।

'ठूलो पेट लिएर पढ्न जान्थेँ, होस्टल बस्थेँ,' हाँस्दै सुनाइन्।

छोरो जन्मियो नर्वेमै।

बाबु पाइसकेपछि पनि उमेश पढाइमा व्यस्त।

इलेक्ट्रिक इन्जिनियरिङमा मास्टर्स सकेर झन् धेरै काममा तल्लिन हुन थाले। 

‘मैले पनि ४ महिना बेकरी पढेँ र क्यान्टिनमा काम गर्न थालेँ,’ उनले भनिन्, ‘अहिले बाबु एलियस १४ वर्षको भइसक्यो। अहिले मात्र हो उमेश र मैले धेरै समय बिताएको।'

अहिले उमेश कविताको माइततिर पनि प्यारा भइसके। गुरुङ परिवारको मिलनसार ज्वाँइ। त्यसो त जात मात्र फरक हो उमेशको। हेर्दा ठ्याम्मै गुरुङ जस्तै देखिन्छन्। उमेश र कविताको परिवारबीच अहिले निकै राम्रो सम्बन्ध छ।

कविता र उमेशको यहाँसम्मको घटनाक्रमका अझ महत्वपूर्ण ट्विस्ट र टर्निङहरु छन्। त्यसैले यो जोडीको प्रेममा आधारित फिल्म बनेको छ 'बोबी'। 

भागेर काठमाडौं पुग्दाको प्रतिक्रिया उनले हामीसँग पनि लुकाएकी छिन्। भनिन्, 'यो त सबैले फिल्ममा नै हेर्नुपर्ने हुन्छ। फिल्मको मुख्य भाग पनि हो त्यसैले नभनौं।'

मिलन चाम्सले उनीहरु दुईको प्रेमलाई पर्दामा उतारेका छन्। 

रोचक के छ भने उनीहरुकै प्रेम कथामा बनेको फिल्ममा उमेश र कविताले नै अभिनय गरेका छन्। 

फिल्मबारे भनिन् -'मिलन दाइसँग युरोपमा भेट भएको थियो। फिल्म बन्ने कुरा भयो। मेलै आफ्नो कथा सुनाएँ।'

फिल्म बनाउने कुरामा उमेश पनि सकरात्मक देखिए। तर, उनले अभिनय गर्न भने नकारेका थिए सुरुमै। पछि कविताले उनलाई मनाइन्। फिल्म बन्यो। 

फिल्मको नर्वे सो भइसक्यो। उनीहरुले फिल्मबाट सकारात्मक प्रतिक्रिया पनि बटुलेका छन्। फिल्मका लागि उमेशले ९ केजी तौल घटाएका थिए। 

'फिल्ममा मेरो भोगाई केन्द्रित छ। यदि, उमेशको भोगाई राख्नु पर्‍यो भने सिक्वेल बनाउनुपर्छ,’ कविताले भनिन्।


ट्रेन्डिङ पोस्ट