PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

विकट मुगुका किशोरीहरु तयारीमा छन् एउटा 'अर्को विश्वकप'को लागि


स्वेच्छा राउत/पहिलोपोस्ट

विकट मुगुका किशोरीहरु तयारीमा छन् एउटा 'अर्को विश्वकप'को लागि
८ घण्टा पैदल अनि २ दिनभन्दा बढी समय गाडीमा यात्रा गरेर मुगु, रोबाकी रोशनी कामी काठमाडौं आइपुगिन्। फूटबल खेल्न, आमाले नयाँ वर्षमा किनिदिएको नयाँ जुत्ता लगाएर गोल हान्ने धोकोसहित।  उनीजस्तै मुगुका विभिन्न गाउँका १५ वर्ष मुनिका १७ किशोरी काठमाडौं आएका छन्- लुगा, आमाबाले दिएको बाटो खर्च र चाउचाउ र बिस्कुटको पोको बोकेर।

अर्को हप्तादेखि रसियामा विश्वकप फुटबल हुँदैछ। नेपालको विश्वकपमा सहभागिता अहिलेका लागि कल्पनामात्रै हो। तर एउटा अर्को विश्वकपमा सहभागी हुन देशको दुर्गम कुनाबाट राजधानीमा 'गर्ल्स फूटबल टिम' आएको छ। सपना बोकेर। सपना- 'सुनकली' बन्नु अर्थात् हिमालयकी अर्की मेस्सी बन्नु। 

काठमाडौं आइपुगेपछि टिमलाई पहिलोपटक उनीहरुको प्रशिक्षण हुने ठाउँ देखाउन लगियो। ललितपुरमा रहेको एन्फा फूटबल ग्राउन्ड। 
ठूलो हरियो चौर। चौरको दुई छेउमा टाँगिएको गोलपोस्ट। कुनै टुर्नामेन्ट भइरहेको हुँदो हो त सम्भवत: वरपरका दर्शकदिर्घा पनि भरिएका हुन्थे। हल्ला हुन्थ्यो। खेल नभएकाले शान्त देखिन्थ्यो ग्राउन्ड।
 
त्यहाँ पुगेपछि रोशनीको नयाँ जुत्ता लगाएर खेल्ने रहर तुहियो। किनकी टोलीले जुत्‍ता खोलेर मात्र ग्राउन्डमा प्रवेश पायो। तर, रोशनी निराश होइन फुरुङ्ग हुँदै सुनाउँछिन्, 'हामी ढुङ्गा र माटोमा खेलेर सिक्या थिम्। काठमाडौंको ठूलो हरियो चौर देख्दा त विदेश पुगिसक्या झैँ भयो।'
 
'हरियो देखेर दुबो भन्ठान्या प्लास्टिक पो रैछ। खाली जुत्ता नलाई कुद्‍दा पैताला पोल्यो।' उनले त चौरको दुबो तानेर नै हेरिन्। 'शुरुमा देख्दा त अर्कै जातको चाइनिज दुबो ठान्या थिम्। तर ओच्छ्याउन्या रैछ', एन्फाको ग्राउन्ड देख्दाको अनुभव सुनाउँछिन् सँगै बसेकी सुनमती बुढा।



*** 

यता रसियामा यस पटकको विश्वकप उचाल्ने टिमको खोजी हुँदै गर्दा उता स्पेनमा १ जुलाईदेखि ७ जुलाईसम्म ३४ देशका ६३० टिम डोनेस्टी कप खेलिरहेका हुनेछन्। यसैमा खेल्न मुगुका विभिन्न ठाउँबाट छानिएर आएका हुन् १८ किशोरी जसमध्ये धेरैले मुगुबाट नजिकको सहर नेपालगञ्ज पनि देखेका थिएनन्। काठमाडौं परको कुरा। स्पेन झन् कता हो कता टाढा। यिनको लागि एन्फाको चौर मात्र होइन काठमाडौंको भिड, ट्याक्सी, होस्टलको पानी नआउने धारो सबै नयाँ र अनौठा विषय थिए। लिएको लक्ष्य र देखेको सपना पनि नयाँ। 

उनीहरुलाई  फूटबल खेल्ने, स्पेन पुग्ने भरोसा दिएको भने भगवती मिसको साथले हो। भगवती मिस अर्थात् भगवती राना मगर। अखिल नेपाल फूटबल संघकी महिला कोच।
 
धरानकी उनी १९ वर्षकी थिइन् जब उनले फूटबल प्रशिक्षण शुरु गरिन्। जिल्ला फूटबल संघ सुनसरीले उनलाई २००४ बाट आधिकारिक प्रशिक्षक बनाएको हो।  

'महिला फूटबलको क्षेत्रमा केही आशा देखिएको थियो। सहभागिता पनि राम्रो तर धेरै साथीहरुले निरन्तरता दिनु भएन। आफूभन्दा पछि आएकाहरुलाई लिड गर्नका लागि कोही नहुनाले पनि छोटो समयमै कोच बन्नु पर्‍यो', उनी खेलाडीबाट प्रशिक्षक बन्दाको कारण सम्झन्छिन्।
 
सन् २००९ मा काठमाडौं आएर भने राष्ट्रिय टिमका लागि खेल्न थालिन्। र प्रशिक्षणलाई पनि निरन्तरता दिइन्। सन् २०१४ बाट भने एन्फाको आधिकारिक कोच बनिन् भगवती। 

धरान विमेन फूटबल क्लब सुनसरीबाट खेलेर र खेलाएर महिला फुटबल क्षेत्रमा निकै समय र मिहेनत दिएकी भगवतीले पूर्वका विभिन्न टिमलाई प्रशिक्षण दिएकी छिन्। टुर्नामेन्टको आयोजना साथै भारतमा हुने फ्रेन्ड्ली म्याचहरुमा सहभागिताका लागि उनले थुप्रै योगदान पुर्‍याइन्। भारतमा देखिएको माहोल बारे बोल्छिन्,'भारतमा फूटबलको बेग्लै चार्म छ। महिलाको टुर्नामेन्टमा पनि तीस हजार प्लस दर्शक हुन्छन्। नेपालमा महिला फूटबलको हकमा त्यो अवस्था बनेको छैन’, गुनासोसहित थप्छिन्,'लाग्थ्यो नेपालमा त खेलाडी, दर्शक केही छैनन्। तर त्यस्तो पनि होइन रहेछ।' 
गत महिना मुगु पुगेपछि रानाले बुझिन्- फूटबल, खेलाडी र दर्शक त जही तही रहेछन्। जसलाई हामी काठमाडौंमा बसेर देखेनौं।  

डोनेस्टी कपमा सहभागिता जनाउनका लागि सुनकलीको टिम पठाउन निर्देशक भोजराज भाटलाई प्रस्ताव आएको थियो। तर सुनकलीको टिम छिन्नभिन्न भइसक्यो। के गर्ने?

आयोजकले भन्यो, नयाँ टिम बनाउन सक्छौ?

भोजराजले नयाँ सुनकली बनाउने अठोट लिए र भगवतीलाई लिएर मुगु पुगे। मेस्सी, रोनाल्डो जस्ता खेलाडीहरुले व्यवसायिक फुटबल खेल्ने देश स्पेनमा हुने एउटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सुनकली जस्तै प्यासन भएका किशोरीहरुको टिमलाई फुटबल खेलाउने सपनाका साथ उनी मुगुको वाम गाउँमा आएका थिए। उनको टिम यहाँका किशोरीहरुलाई छनोट प्रतियोगितामा खेलाएर राम्रा खेलाडीहरु छानेर स्पेन लैजाने लक्ष्यका साथ झण्डै ६ घण्टा ठाडो उकालो ओरालो गरेर गमगढीबाट यहाँ आइपुगेको थियो। तर उनको स्वागत हैन, ‘जुत्ताको माला’ लगाउन तयार भएर बसेका थिए त्यहाँका केही व्यक्तिहरु।

जुन दिन छनौट प्रतियोगिता हुन लागेको थियो, त्यो दिन हिमपात भइदियो। प्रकृतिको कहर त थियो नै स्थानीय बासिन्दाले पनि अड्को थापे। आफ्नो पायक पर्ने मैदान नै हुनुपर्छ भन्ने जिद्दीदेखि पहिलेको सुनकली डकुमेन्ट्रीमा आफूले १० मिनेट बोलेकोमा १ मिनेटमात्र किन देखाइयो भन्नेसम्मका गुनासोका बीच प्रतियोगिता लगभग रद्द हुने स्थितिमा पुग्यो। 

मुगुबाट प्रतिनिधि सभाका लागि सांसद निर्वाचित गोपाल बमको मध्यस्थताका कारण मोसै दल्ने परिस्थिति आइपरेन। प्रतियोगिता हुने भयो। नेपालको सबैभन्दा गरिब अनि पिछडिएको भनिएको मुगु जिल्ला जहाँ एउटा पनि रंगशाला छैन, त्यहाँका १० महिला फूटबल टिमले सहभागिता जनाए।

झण्डै २७ सय मिटरको उचाइमा रहेको वाम गाउँको चौरमा भएको प्रतियोगिताबाट उनले छानिन् स्पेन जानका लागि १७ किशोरीहरु।  मैदान कस्तो? अलिकति भिरालो। बल दायाँतिर गयो भने सिधै आधा घण्टा तल ओर्लिएर ल्याउनुपर्ने।   

‘सुनकली हेरेको थिएँ। तर, के साँच्चै मुगुका किशोरीहरुमा फूटबलको यस्तै रौनक होला त? भन्ने प्रश्न उठेको थियो। त्यहाँको सहभागिता देखेर एउटा प्रश्नको त जवाफ पाएँ। तर अरु थुप्रै प्रश्न उब्ज्यो’, राना केही गम्भीर सुनिन्छिन्। 

राष्ट्रिय खेलाडीहरु खेल्ने एन्फाको चौरमा बलको पछिपछि कुदिरहेका किशोरीहरु तिर हेर्दै उनी थप्छिन्,’यी पुरा हुन सक्ने सपना देखेर आएकाहरु हुन्। म सक्दो साथ दिन चाहन्छु।‘ 

केही वर्ष अघिसम्म हुर्किएकी छोरीको विवाहको सपना देख्ने आमाबुवा अहिले छोरीले फूटबल खेलेको, देश विदेश घुमेको सपना देख्न थालेका छन्। ती सपनाको साक्षी बनेर काठमाडौं फर्केकी हुन् भगवती। पूर्व नेपालकी चेली पश्चिम नेपालमा फूटबलले पारेको सकारात्मक सामाजिक परिवर्तन देखेर दङ्ग परिन्। र आफूसँगै लिएर आइन् मुगुका खेलाडीहरु। 

‘यी नानीहरुलाई कोच गर्नु चुनौति हो। उनीहरुमा खेल्ने इच्छाशक्ति र आत्मविश्वास मात्र छ। छोटो समयमा धेरै कुरा सिकाउनु छ तर म गर्छु’- राना चाहन्छिन् रारा तालको जिल्लाबाट आएका यी किशोरीहरु राष्ट्रिय टिमको छनोटमा परुन्। 

अबको केही साता भगवतीले टिमलाई फूटबलका टेक्निकल कुरा सिकाउँदै छिन्। यो सब भइरहँदा उनका पुराना साथीहरु सम्झन्छिन् जो फूटबल बुझेर, सिकेर, खेलेर पनि निरन्तरता दिएनन्। फूटबल खेलेर पैसा कमाउने वातावरण छैन भन्ने बुझेर पढाई, करियर, विदेश र विवाहको बहाना बनाउन बाध्य भए। उसो त भगवती स्वयंमले पनि फूटबलसँगै ९ वर्ष अध्यापन गरेकी थिइन्।
 
उनीमा डर छ, आज मुगुबाट सपना लिएर आएकाहरुले पनि निरन्तरता दिने वातावरण बनेन भने?

‘एउटा गेमका लागि टिम बन्छ खेल्न सिक्छन्। त्यो सिकाइ त सधैंलाई रहन्छ तर अर्को टुर्नामेन्ट कहिले कहाँ हुन्छ टुङ्गो हुँदैन। अनि कसले कुरेर बस्न सक्छ?’, भगवती नेपालमा महिला फूटबलको अवस्थालाई लिएर असन्तुष्ट छिन्। महिला फूटबल एन्फा, प्रायोजक, मिडिया लगायतको आँखामा पर्न नसक्नुले उनलाई दु:खी बनाएको छ। ‘टुर्नामेन्टहरु आयोजना भइराखे न खेलाडी टिक्ने हो। खेलाडी टिके दर्शक र क्रेज यसै बढ्छ। तर यहाँ खेलेर बाच्ने बारे सोच्नु परको कुरा हौसला दिने खालका कार्य योजना पनि कमै छन्।’ 

 गत वर्ष त महिला फूटबलको कुनै पनि कार्यक्रम नै भएन- यो जानकारीले उनको कुरा पुष्टि गर्छ।  

‘फूटबल मात्र होइन नेपालमा कुनै पनि खेलमा आर्थिक र भौतिक रुपमा ढुक्क हुन सक्ने अवस्था छैन’, तर हुँदैन, बन्दैन भन्ने निराशावादको पक्षमा पनि उनी छैनन्। फूटबलमा राम्रो गर्ने महिलाले विभागीय टिममा जागिर पाएका छन्। नेशनल टिममा स्यालरीसहित ठाउँ दिइएको छ। केही वर्ष अघिको तुलनामा अहिलेमा भौतिक पूर्वाधार र लगानी बढेको छ। ‘यस्तै कुराहरुले मलाई सधैं महिला फूटबलप्रति आशावादी बनायो। आशा गर्नमा पनि खुशी छु। खुशी नभएको भए सायद आज एन्फाको मैदानमा हुँदिन थिएँ।

अहिले एन्फाको मैदानमा यी किशोरीहरु कुदेका छन्। साफ च्याम्पियनसिपका लागि छनोटको क्रम पनि जारी छ। यस्ता सानासाना कामसँगै भगवतीको उत्साह थपिएको छ। ‘यीनलाई हेरेर अरु छोरी मान्छे घरबाट बाहिर निस्किउन् भन्ने चाहन्छु। सुनकलीलाई देखेर मुगुका आमाबुवाले छोरीले फूटबल खेलेको हेर्न चाहे। मुगुका चेलीलाई देखेर शहरका आमाबुवाले छोरीलाई खेल्न पठाउने बनाउनु छ’, उनी आफ्नो इच्छा व्यक्त गर्छिन्।

फूटबललाई उनी महिला सशक्तिकरणको बलियो माध्यम मान्छिन्- आत्मविश्वास त बढ्छ नै साथै अनुशासनमा रहन सिकाउँछ यो खेलको नियमहरुले। 

*** 
आज कुर्ता र चप्पलको सट्टा जर्सी र स्पोर्टस् सुमा मैदान छिरेका छन् किशोरीहरु। उनीहरुको अघिपछि कुद्‍दै निर्देशन दिन्छिन् भगवती। उनी खुशी छिन् हरेक दिन दुई घण्टा एन्फाको ग्राउन्डमा मुगाली किशोरीहरुसँग बिताउन पाउँदा। फूटबल बाहेक योगा र डान्स क्लासमा पनि उनीहरुसँगै भइदिन्छिन् उनी। 'केही दिनमै परिवर्तन देखिदैछ। हामी खुशी छौं। उनीहरु नलजाइ बोल्न थालेका छन्, नधकाई अगाडि आउन र आफ्नो कुरा राख्न थालेका छन्।'

भन्छिन्,'फूटबल खुट्टाको मात्र नभएर आत्मविश्वासको खेल हो जसका लागि शारीरिक र मानसिक रुपमा फिट हुन आवश्यक छ। त्यही कुरालाई ध्यानमा राख्दै ग्राउन्ड भित्र र बाहिर कसरत गराइ रहेका हौं।' किशोरीहरुको व्यक्तित्व विकासमा फूटबलले पार्ने प्रभावले उनीहरुलाई खेल बाहिर पनि सहयोग पुर्‍याउने उनको विश्वास छ।

भन्छिन्,'सायद टुर्नामेन्टको लागि दिइएको तालिमले उहाँहरुलाई आफैलाई चिन्न, आफ्नो क्षमता बुझ्न पनि मद्दत पुर्‍याएको छ। सहर आउनु खेलेर फर्कनु मात्र सबै कुरा थिएन। जे लिएर फर्कदैछन् त्यसले उनीहरु सरहका धेरैजना भन्दा अगाडि बनाउला सायद।' तालिमसँगै उनीहरुको लजालु व्यवहार हटेर अगाडि आउन, नडराई बोल्न अथवा आवश्यक प्रस्तुति दिन सक्ने भएको उनको बुझाइ छ। 'अझै मिहेनत गर्नु छ अझै सिक्नु सिकाउनु छ। म ढुक्क छु उहाँहरुले जिते पनि हारे पनि यो सिकाइ खेर जाँदैन।'

विदेशमा गएर खेल्नका लागि त किशोरीहरुले मिहेनत गरेका छन् नै। साथै उनीहरुलाई नेपालको अन्डर १५ राष्ट्रिय महिला फूटबल टिममा सहभागी हुन योग्न बनाउने लक्ष्य लिएकी छिन् भगवतीले। उनी चाहन्छिन् त्यसको लागि हुने छनौट खेलमा उत्कृष्ट प्रस्तुत होउन्। र त्यो विकट गाउँबाट आएका किशोरीहरु मध्येका केहीलाई अन्डर १५ राष्ट्रिय टिममा राखेर पनि कोच गर्न पाऊँ।

'गोल त गर्न्या हो, जितेरै आउन्या हो,' आत्मविश्वास भरपूर छ 'टिम रारा'मा। अर्बौँ डलरको चमकदमक र ग्ल्यामर अनि प्रोफेसनल खेलाडीहरुको दबदबा रहने विश्वकप फुटबलको छायाँमा यो अर्को विश्वकप हुन गइरहेको छ जहाँ खेलाडीहरु पैसाका लागि हैन, प्यासनका लागि खेल्छन्। जोसित फुटबल छैन, मोजाका डल्लाहरु छन्। जहाँ मैदान छैन, भिरालो पाखा छ। जहाँ साँच्चिकै खेल भावना छ।

तर के उनीहरु जित्न सक्छन्? 

खेल जित्नका लागि मात्र त हुँदैनन् नि। टिम राराका म्यानेजर प्रकाश शाही भन्छन्, 'यी नानीहरुले त जितिसके। मुगुको विकट गाउँबाट स्पेनको मैदानमा प्रतिस्पर्धा गर्न सक्षम हुनु नै उनीहरुको जित हो।'

 स्पेनमा खेल्न जान लागेका किशोरीहरुको पासपोर्टमा रहेका फोटो। 

 


विकट मुगुका किशोरीहरु तयारीमा छन् एउटा 'अर्को विश्वकप'को लागि को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट