PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एक जीवन, दुई जन्म : दुर्घटनाग्रस्त विमानभित्र रहेर पनि जोगिएका विनोद



स्वेच्छा राउत

एक जीवन, दुई जन्म : दुर्घटनाग्रस्त विमानभित्र रहेर पनि जोगिएका विनोद

गएको फागुन २८ गते बिहानैदेखि घरायसी काममा व्यस्त थिइन् आर्या। ढोकाको घण्टी बज्ला भनेर चनाखो थिइन्। ‘म १२ बजे आइपुग्छु अनि सँगै खाना खाउँला’ पति विनोदराज पौडेलले भनेका थिए। कतिखेर आइपुग्लान् र ढोका खोलुँला भन्दै बसेकी उनले सुनिन् फोनको घण्टी। 
श्रीमान् भन्दा पहिले आयो एउटा अकल्पनीय खबर। खबर थियो -  बंगलादेशबाट काठमाडौं आउँदै गरेको युएस बंगला एयरको विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त।

त्यस दिन घरमा इन्टरनेट बन्द थियो, छोरा अनन्यको परीक्षाका कारण। त्यसैले सामाजिक सञ्जाल र अनलाइन मिडियामा फैलिएको दुर्घटनाको दृष्यबाट पर थिइन् उनी। 

‘अफिसमा फोन नउठ्ने, छिमेकी आफन्तहरु समाचार देखाउँदै आउने। सोच्नु न मेरो हालत के भयो होला?,' त्यो दिनलाई सम्झिइन् आर्याले। 
केही समयपछि विनोदराज पौडेललाई नर्भिक अस्पताल पुर्‍याइएको खबर आयो। धैर्यको सास फेरिन् र ट्याक्सी लिएर त्यतै लागिन्। बंगलादेश जाँदा खुशीसाथ विदा भएका श्रीमानको अनुहार झल्झली सम्झँदै अस्पताल पुगिन्। देखिन् - चोट, रगत र पाइपहरुले छेकिएको एउटा विभत्स अनुहार। 

‘चिउँडो देखेर ठम्याएँ, उहाँ नै हो भन्ने। उहाँको घुँडामा छुन पाएको याद छ,’ त्यस समयको दृश्य सम्झँदा उनको आँखामा बेचैनी झल्कन्छ अहिले पनि, 'तर, मैले आँसु देखाइनँ। मैले सासु, छोरा र छोरीलाई सम्हाल्नुपर्ने थियो।'  

उनको मन बलियो चाहिँ सिसाका टुक्रा, खरानी र रगतको आहलमा आफ्ना मानिस खोज्नेको साहस र आँसुले बनायो।

'धेरैले आफ्ना मान्छे गुमाए, शव पनि चिन्न गाह्रो हुने गरी। त्यसको तुलनामा मैले त केही पनि गुमाएको थिइनँ। बरु जोगाउनुपर्ने धेरै कुरा थिए,' आर्या बोल्दै गर्दा छेउमा रहेका विनोदको अनुहार उज्यालो देखिन्छ।

*** 
केहीबेर अघिसम्म अलिअलि बोलिरहेका विनोदको स्वास प्रस्वास अस्वाभाविक रुपमा बढ्न थाल्यो। उनलाई नर्भिक अस्पतालबाट ग्रान्डी अस्पताल रेफर गरियो। एम्बुलेन्समा विनोद, उनका दाजु र अस्पतालको टिम। छुट्टै गाडीमा आर्या। 

‘त्यही दिन निकै जाममा फँसियो। त्यो बेला त मैले केही दिन अघि देखेको सपना सम्झिएँ,’ उनले विस्तार लगाइन् -

माथिबाट खस्दै खस्दै आएको सेतो रङको ठूलो च्यादरले आफूलाई छोप्न लागेको थियो। डरले काँप्दै हेरिरहेकी थिइन् उनी। ग्रह शान्तिको पूजा गर्दा घरको छतमा हनुमानको फोटो अंकित झण्डा राखिएको थियो। च्यादर त्यहीँ झण्डाको डण्डीमा अल्झियो। उनी झल्यास्स बिउँझिइन्।
‘बिहानपखको सपना साँचो हुन्छ भन्थे। केही अशुभ हुने डरले गर्दा सपना सुनाएकी थिइन।

सपना संवादको केही दिनपछि श्रीमान विनोदराज पौडेल चडेको युएस बंगलाको विमान बंगलादेशबाट आउँदै थियो। तर, प्लेन ल्यान्ड हुँदाहुँदै दुर्घटनाग्रस्त भयो। आर्या आफूले देखेको सपना र यथार्थ घटना मेल खाएको सुनाउँछिन्। भन्छिन्, 'हुने कुरा भएर छाड्दो रहेछ। धन्न सपनाको त्यो सेतो च्यादरजस्तै उहाँ पनि अल्झिनु भयो। भाग्यले ठड्याएर राखिदिएको कुनै बलियो डण्डीमा।' 

*** 
दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। बाँचेका २० भाग्यमानी मध्ये एक हुन् विनोद। उनी पेशाले ट्राभल एजेन्ट हुन्। २५ वर्ष अघिदेखि ट्राभल एण्ड टुरिजम क्षेत्रमा काम गर्दै आएका उनले सन् २००५ देखि बोन ट्राभल्स एण्ड टुर्स सञ्चालन गर्दै आएका छन्। युएस बंगलाले नै एयरलाइन्सको टिकट बिक्री गर्नेहरुलाई अवार्ड वितरण गर्ने कार्यक्रममा उनलाई बोलाएको थियो। 

‘खुशीसाथ गएथेँ, कसरी फर्कें याद नै छैन,’ विनोद बोले। 

उनको फोक्सोमा इन्फेक्सन देखिएका कारण सास फेर्न सकिरहेका थिएनन्। झण्डै एक महिनाभन्दा बढी समय भेन्टिलेटरको आवश्यकता पर्यो। उनको करङ्को हड्डी भाँचिएका कारण फोक्सोमा असर गरेको हो। 

निकै क्रिटिकल शारीरिक र मानसिक स्थितिबाट बाहिरिँदै छन्। तङ्ग्रिदै छन्। शुभचिन्तक, आफन्त, साथीभाइ भेट्न आउने क्रम जारी छ। प्रायको प्रश्न हुन्छ -  अहिले कस्तो छ? 

'अहिले मलाई हिँड्नका लागि वाकरको सहायता चाहिन्छ। त्यसबाहेक अरु औषधी छैन,' उनी आफ्नो स्वास्थ्य अवस्थाबारे हाँसी हाँसी ब्रिफ गर्छन्।

भेट्न आउने धेरैले प्लेन दुर्घटना हुनुअघिको अवस्था बारे सोध्छन्। क्र्यास हुँदैछ भन्ने थाहा थियो कि थिएन? यात्रुहरु आत्तिएका थिए होलान नि? तपाईँहरुलाई केही जानकारी गराइयो कि नाईं? कसको याद आएको थियो? 

दुर्भाग्य, उनलाई केही याद छैन।

'घटना फागुन २८ गते घट्यो, मलाई २५ गते यताको केही याद छैन,' आफू नै आश्चर्यमा रहेको भावमा उनी बोल्छन्। अहिले उनलाई पनि जान्न मन छ, आखिर कस्तो भयावह अवस्था थियो होला त्यो दुर्घटना? प्लेनबाट काठमाडौंको दृश्य देखिन थालेपछि कति हतारिएका थिए होलान् अवतरणका लागि? तर, उनलाई केही याद छैन।

नयाँ वर्ष चाहिँ विनोद पौडेलका लागि विशेष बनेर आयो। सधैंजस्तै निदाएर उठे। आफू सुतिरहेको कोठाको भित्तामा 'सिंगापुर' लेखेको बोर्ड देखेपछि उनको मनमा पनि कौतुहुलता जाग्यो - म कुन होटलमा छु? किन आएँ होला भन्ने पनि भयो। 

उनी जहाँ थिए त्यो अस्पताल हो अनि आफू घाइते हुँ भन्ने अलिकति पनि महसुस नगरेको बताउँछन् उनी। 'त्यो दिन त म होसमा आएको रहेछु। मलाई निकै गहिरो निद्राबाट बिउँझिए सरह भएको थियो। नयाँ वर्ष मेरो नयाँ जीवनको पहिलो दिन बनेको रहेछ,' उनले सुनाए। 

वैशाख १ गते अघि पनि उनी होसमा नभएका होइनन्- वरपरकासँग गफिएकै हुन्। तर के गरे, के भयो केही सम्झन सक्दैनन् अहिले।
श्रीमती आर्याका अनुसार औषधीको डोजले गर्दा उनको स्मरण शक्तिमा असर गरेको डाक्टरले बताएका छन्। डोज कम हुँदै गर्दा उनी पूर्ण होसमा आए। 

होस आएपछि पहिलो कल आमा भीमकुमारीलाई गरे। 

‘आमा यति बलियो र आशावादी सुनिनु भयो कि ममा आत्मविश्वासले छोप्यो,’ उनी गर्वका साथ सुनाउँछन्, ’उताको नर्स, डाक्टरले नै भनेका थिए - तपाईं यति चाँडो ठीक हुनुहोला जस्तो लागेकै थिएन। विल पावर गज्जब रहेछ।‘  

उनलाई यस्तै कुराहरुले ऊर्जा दियो। त्यसपछि अस्पतालको बेडबाट आफ्नाहरुलाई फोन गर्ने, शुभचिन्तकहरुलाई धन्यवाद भन्न, युट्युब र नेपाली मिडिया फलो गर्ने दैनिकी बन्यो।

शुरुमा त मानसिक असरको डरले उनलाई घटना बारे केही भनिएको थिएन। आफू केले गर्दा अस्पतालमा छु थाहा पाउन समाचार नै पढ्नु पर्‍यो। 

‘जब कान्तिपुरमा आफ्नै समाचारमा पढेँ, आत्तिएको थिएँ,’ उनले भने। त्यसपछि पुलुक्क श्रीमती आर्यातिर हेरे। उनको हात समाउँदै पीडा र खुशी मिश्रित भावमा आर्याले थपिन्, 'मैले त पहिले नै भनेकी थिएँ, सबै कुरा ठीक हुन्छ भनेर। मलाई कहिले पनि लागेकै थिएन हजुर मबाट टाढा गइसिन्छ भन्ने। धन्न सबैकुरा ठीक भयो।' 

एक अर्कालाई हेरेर दुवै मुस्कुराए।

*** 
पौडेलको उपचाररत डाक्टर विनोद बिजुक्छेले उनी ठीक भइसकेको बताए। ‘उहाँ शारीरिक रुपमा ठीक भइसक्नुभयो। २ हप्ताको थेरापीपछि आफै हिँडेर घर जानुहुन्छ।‘ 

बिजुक्छेका अनुसार उनको करङ्मा देखिएको फ्याक्चरहरु ठीक भइसकेको छ। भने, ’हाल हाम्रो थेरापिस्टहरुले उहाँको ज्वाइन्ट मोसन र मसल स्ट्रेन्थ प्राक्टिस गराउँदै हुनुहुन्छ।‘

केही दिन, घटना र अवस्था उनको सम्झनामा नआउनुलाई चाहिँ पोस्ट एक्सिडेन्ट ट्रमाको रुपमा व्याख्या गर्छन् डाक्टर। भन्छन्, ’ठूलो दुर्घटनाका कारण ब्रेनमा परेको असरले गर्दा त्यस्तो भएको हो। नर्मल जीवनमा फर्किएपछि बिस्तारै याद आउँछ।‘ 

*** 
विनोद अहिले बाँची रहेको जीवनलाई आफ्नो दोस्रो जीवनको रुपमा व्याख्या गर्छन्। विमान दुर्घटनामा निकै कमले पुन: संसार हेर्न पाउँछन्, पाउने ‘लक्की’हरु मध्ये आफू एउटा हुन पाएकोमा खुशी छन्। 

‘सबैले मेरो कर्मको फल हो भन्छन्। अब झन् असल कर्ममा फोकस्ड हुनुपर्छ भन्ने बुझेको छु,’ उनले लिएको नयाँ लक्ष्य सुनाए। 

विनोदको स्थायी घर मकवानपुरको हटिया हो। त्यहाँ उनले १५ जना विद्यार्थीको शैक्षिक शुल्कको जिम्मेवारी लिँदै आएका छन्। काठमाडौंमा पनि एक जनाको शैक्षिक जिम्मेवारी लिएका उनी सेवा र सकेको सहयोगलाई नै धर्मको रुपमा व्याख्या गर्छन्। 

‘मैले सहयोग गर्दै आएका भाइ बहिनी र केही ट्रेकर्सहरुलाई निकै सम्झिएँ। सायद आफूसँग जोडिएका यस्तै धेरैको कामनाले पनि मलाई हौसला दियो,’ उनले भने। 

उनका लागि ब्रत बस्नेहरु, साइ बाबाको प्रसाद लिएर आउनेहरु, आफू सिंगापुरबाट फर्कदा अस्पतालमा लागेको भिडको अनुहार सबै सम्झन्छन् उनी। ती सबको साथले आफूमा आत्मशक्ति र सकारात्मक ऊर्जा थपेको बताउँछन्। 

नर्भिकबाट ग्रान्डीमा रेफर भएका उनको ९ दिन उपचार भयो, त्यसपछि थप उपचारका लागि लगियो सिंगापुर। झन्डै दुई महिना सिंगापुरमा उपचार भयो। त्यसपछि उनी नेपाल फिर्ता भएका हुन्।  

गम्भीर कुराहरुकै बीचमा केही ‍रमाइलो प्रसङ्ग निकाल्छन् उनी। 

‘जीवनमा पहिलोपटक प्लेन चड्दा आत्तिएँ’, निकै रमाइलो सुनिन्छ उनको बोली। भने, ‘सिंगापुरबाट नेपाल फर्कदा पशुपतिनाथ पुकारेको बाहेक केही याद छैन।‘

ग्रान्डीदेखि सिंगापुरसम्मको सबै खर्च युएस बंगला विमान कम्पनीले नै बेहोरेको छ उनको। सिंगापुरबाट काठमाडौं आउनुअघि उनले डक्टरलाई भनेका थिए – प्लेन चढ्न डर लाग्छ। त्यसैले सिंगापुरको अस्पतालबाट डाक्टर नै पठाइयो काठमाडौंसम्म।  

फेरि फलोअपका लागि आउँदो २० तारिख सिंगापुर नै जाँदैछन् उनी। भन्छन्, ‘भवितब्य कुन बेला पर्छ थाहा नहुने रहेछ। अब त मिल्ने भए सिंगापुरसम्मै बसमा जान्थें।’ 

यति भन्नासाथ खुब हाँसे उनी।

विनोदराज पौडेल एक व्यवसायीको जीवन बाँचिरहेका थिए। प्रायः काम तौलिएर गर्थे। उनी बंगलादेश जानुको पछाडि पनि यस्तै कारण थियो। ‘क्यानडा र बंगलादेशको लागि एकैपटक अफर थियो। तर, क्यानडा आउँदो जुनमा जाने मौका भएकाले नगएको ठाउँ रोजेको थिएँ। फरक ठाउँ ट्राभल गरेको देखिन्छ भनेर,’ सुनाए।

एकपटक जन्मिएर दुईवटा जीवन बाँच्न पाएकाले अब हर क्षण खुशी हुन् र खुशी बनाउन खर्चने उनको कथन छ। 

‘समयको भर हुन्न रहेछ। एउटा कमजोर समयको शिकार बन्दाबन्दै बलियो भाग्यले जोगायो। अब आफूले जोगाउन सक्ने कुराहरुमा ध्यान दिन्छु,’ मुस्काउँदै उनले सुनाए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell