PahiloPost

Jun 19, 2018 | ५ असार २०७५

पुलिसलाई हराउँदै एपीएफ फाइनलमा, आर्मीसँग उपाधि भिडन्त


पहिलोपोस्ट /पहिलोपोस्ट

पुलिसलाई हराउँदै एपीएफ फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

काठमाडौं : एक्सेल्सिया कलेज प्रधानमन्त्री कप वान डे राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन्।

शनिवार भएको दोस्रो सेमिफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिसलाई डिएल मेथड अनुसार ९ रनले हराउँदै एपीएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो। शुक्रवार भएको पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश ५ लाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो।

गत वर्ष फाइनल पुग्दै आर्मीसँग संयुक्त रुपमा च्याम्पियन बनेको पुलिस भने यस पटक फाइनल पुग्न असफल भयव।

अब एपीएफ र आर्मीबीच उपाधिका लागि आइतवार टियू मैदान कीर्तिपुरमा फाइनल खेल हुनेछ।

टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले ४८.५ ओभरमा अलआउट हुँदै २०८ रन बनाएको थियो। एपीएफका लागि अनिल साहले ४५, पृथु बास्कोटाले ४०, रोहित पौडेलले ३२, प्रदीप ऐरीले २४, सुवास खकुरेलले २१ रन बनाए।

पुलिसका दीपेन्द्रसिंह ऐरीले ३, ललित राजबंशीले २ तथा आरिफ शेख र सुशील कंडेलले १/१ विकेट लिए। 

एपीएफले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा १४.४ ओभरमा २ विकेटको क्षतिमा पुलिसले ५९ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो। करिब डेढ घण्टा ढिला गरी पुनः सुरु गरिएको खेल २८ ओभरमा छोट्याइयो भने पुलिसले १४१ रनको नयाँ लक्ष्य पायो।

तर, पुलिसले निर्धारित २८ ओभरमा ९ विकेट गुमाएर १३१ रनमात्र बनाउन सकेपछि एपीएफको ९ रनको रोमाञ्चक जित हासिल गरेको हो।

पुलिसका लागि सातौं नम्बरमा ब्याटिङमा गरेका कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए। यस्तै ओपनर सुनील धमलाले २४ तथा दिलिप नाथले १६ रन बनाए। दिपेन्द्र सिंह ऐरीले १४, कप्तान मञ्जित श्रेष्ठले ११ तथा सिद्धान्त लोहनीले १० रन बनाउनुबाहेक बाँकी खेलाडीले भने दोहोरो अंकको रन छुन सकेनन्।

बलिङतर्फ एपीएफका अमरसिंह राउटेलालाले ३, कप्तान बसन्त रेग्मीले २ तथा कमलसिंह ऐरी तथा करण केसीले १–१ विकेट लिए। टाउटेला खेलको म्यान अफ द म्याच चुनिए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा भएको प्रतियोगिताको उपाधि विजेताले नगद २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउनेछन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार पुरस्कार पाउनेछन्।  प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय क्लब गरी १० टिमको सहभागिता थियो।



पुलिसलाई हराउँदै एपीएफ फाइनलमा, आर्मीसँग उपाधि भिडन्त को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट