PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

सोलुखुम्बुमा जनप्रतिनिधिकै गुनासो 'स्वास्थ्य बीमा गरियो, सेवा पाइएन'


पहिलोपोस्ट /पहिलोपोस्ट

सोलुखुम्बुमा जनप्रतिनिधिकै गुनासो 'स्वास्थ्य बीमा गरियो, सेवा पाइएन'

सल्लेरीः सोलुखुम्बुमा स्वास्थ्य बीमा गरे पनि सेवा नपाएको बिमितले गुनासो गरेका छन्। जिल्लामा स्वास्थ्य बीमा गराएबापत नियमअनुसार पाउनुपर्ने औषधि नपाएको उनीहरुको गुनासो छ। सेवा नपाउनेमा सर्वसाधारणदेखि जनप्रतिनिधिसमेत रहेका छन्।

सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले आफैँले स्वास्थ्य बीमाको शुभारम्भ गरेको भए पनि सेवा नपाएको बताए। उनले भने, “स्वास्थ्य बीमाको म आफैँले शुभारम्भ गरेँ, एक दिन बिरामी भएर अस्पताल जाँदा औषधि नै पाइनँ”, शेर्पाले भने, “यस्तो हुँदा साह्रै दुःख लाग्यो।”

सोलुदूधकुण्ड नगरपालिका–७ निवासी गोम्बु शेर्पाले पनि स्वास्थ्य बीमा गराए पनि अस्पतालमा औषधि नपाएको बताए। शेर्पाले भने, “बिरामी हुँदा रु ५० हजार बराबरको उपचार सेवा पाइन्छ भन्थे तर एक रुपैयाँको पनि पाइनँ ।” अस्पतालमा निःशुल्क पाइने औषधि नपाएको भन्दै उनले सम्बन्धित निकायलाई सुधारका लागि आग्रह गरे।

यता स्वास्थ्य बीमा बोर्ड काठमाडौँमार्फत सोलुखुम्बुका दर्ता अधिकारी प्रदीप बस्नेतले आफूहरुले औषधि खरीदका लागि अस्पताललाई भुक्तानी दिएको भए पनि खरीदमा ढिलाइ हुँदा समस्या भएको बताए। चार महिनाअगाडि नै औषधि खरीदका लागि पेश्कीबापत भुक्तानी दिएको भए पनि जिल्ला स्वास्थ्य कार्यालयले औषधि खरिद नगरेको उनको भनाइ छ।

यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डाक्टर मिङमार छिरिङ शेर्पाले स्वास्थ्य बीमाको औषधि केही दिन भित्रैमा जिल्ला आइसक्ने बताए। डाक्टर शेर्पाले चार/पाँच दिन भित्रैमा जिल्लामा स्वास्थ्य बीमा बापतका सबै प्रकारका औषधि उपलब्ध हुने जानकारी दिए।

बीमा बापतको औषधि खरीदका लागि रु पाँच लाख ऋण लिएर औषधि खरीद प्रक्रिया अगाडि बढाएको भए पनि केन्द्रीय कार्यालयको प्रमुख परिवर्तन भएकाले औषधि खरीदमा ढिलाइ भएको उनले स्वीकार गरे। अहिलेसम्म जिल्लामा करीब तीन हजार २०० जनाले स्वास्थ्य बीमा गराएका छन्। २०७४ साल असोज २५ गतेबाट सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो। रासस



सोलुखुम्बुमा जनप्रतिनिधिकै गुनासो 'स्वास्थ्य बीमा गरियो, सेवा पाइएन' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट