PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


प्रतिपक्षी दलको आरोपः कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संघको नक्कल


पहिलोपोस्ट

प्रतिपक्षी दलको आरोपः कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संघको नक्कल

सुर्खेतः नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको नीति तथा कार्यक्रम संघीय सरकारको नक्कल सिवाय फरक नभएको बताएका छन्।

कर्णाली प्रदेश सरकारले शनिबार प्रस्तुत गरेका आव २०७५/०७६ नीति तथा कार्यक्रमलाई उनले संघीय सरकारको नक्कल मात्र नभई कथाको पाना जस्तो भएको संज्ञा दिए।

“प्रस्तुत नीति तथा कार्यक्रम सुनियो, बुझियो, सबै हँचुवाका तालमा ल्याइएको छ, यसमा सरकारको आफ्नो योजना देखिएन” उनले भने  “नीति तथा कार्यक्रमले कर्णालीको भूगोल र मौलिकतालाई समेट्न सकिएको छैन, नत त्यसलाई कार्यान्वयन गर्ने कुनै संयन्त्र छ, निकै ठूला सपना बाँडिएको छ।”

प्रदेश सरकारले अर्थतन्त्र बलियो बनाउनका लागि राजश्व उठाउने संरचना पनि तयार नगरेको उल्लेख गर्दै नेता शाहीले पखेटा नभएको नीति तथा कार्यक्रम विकासभन्दा वितरणमुखी हुने देखिएको बताए।

प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठले पनि सरकारको नीति तथा कार्यक्रमले सस्तो लोकप्रियतालाई मलजल गरेको टिप्पणी गरे।

बढी महत्वाकांक्षी भएकाले सरकारको नीति तथा कार्यक्रमबाट कर्णालीको तत्कालीन गरिबी अन्त्य गर्न नसक्ने बताउँदै उहाँले बिगतको संस्कारलाई नै प्रदेश सरकारले अंगालेको आरोप लगाए।

सत्तापक्षका प्रदेशसभा सदस्य धर्मराज रेग्मीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको उद्देश्य, परिकल्पना र विकासप्रतिको प्रतिबद्धता ठीकै भएको बताए।

यद्यपि यसको प्राथमिकता निर्धारण हुन नसक्दा यो वास्तविकताभन्दा अलि टाढा रहेको जस्तो देखिएको बताए। उनले भने, “क्षेत्रीय सन्तुलन कायम गर्न सडक, जलविद्युत्, कर्णाली पर्यटन हव, प्रादेशिक विमानस्थल र प्रादेशिक स्वास्थ्य संरचना निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिइनुपर्छ।”

सत्तापक्षकै अर्का सदस्य कौशिला खत्रीले नीति तथा कार्यक्रम तत्कालीनभन्दा पनि दीर्घकालीन आवश्यकता पूरा गर्ने बताइन्।

सारमा कर्णाली प्रदेशको नीति तथा कार्यक्रमले सर्वाङ्गीण वर्ग, क्षेत्र र पक्षलाई समेट्न खोजे पनि सीमान्तकृत, अल्पसंख्यक वर्गलाई छुन नसकेको र अझै महिलामैत्री बन्न नसकेको उनको प्रतिक्रिया छ। रासस



प्रतिपक्षी दलको आरोपः कर्णाली प्रदेशको नीति तथा कार्यक्रम संघको नक्कल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट