PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

कांग्रेस एकताको सन्देश दिन 'हातमा हात मिलाएर उठ्न' आग्रह गर्दा युवा नेता नै नउठेपछि...


नेत्र तामाङ

कांग्रेस एकताको सन्देश दिन 'हातमा हात मिलाएर उठ्न' आग्रह गर्दा युवा नेता नै नउठेपछि...

काठमाडौं: नेपाली कांग्रेसभित्र चरम रुपमा देखिएको बेमेल आज आयोजित एक कार्यक्रममा पनि प्रदर्शन भएको छ। पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राजधानीको बत्तीसपुतलीमा आयोजना गरेको कार्यक्रममा मञ्चमा थिए वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिहं केसी, नवीन्द्रराज जोशी, गगन थापा र प्रदीप पौडेल।

'अबको कांग्रेस र युवा विद्यार्थीको भूमिका विषयक अन्तरक्रिया' कार्यक्रमको अन्तमा वरिष्ठ नेता पौडेलको मन्तव्यअघि उद्घोषकले पार्टी एकताको सन्देश दिन मञ्चमा आसिन सबै नेतालाई हातमा हात जोडेर उठ्न आग्रह गरे। पौडेल प्रमुख अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए।

उद्घोषकको आग्रहपछि कार्यक्रममा उपस्थित सबैजना उठे। मञ्चमा आसिन नेताहरु पनि उठे। तर, नेताहरुले भने हातमा हात जोड्न आनाकानी गरेर नमस्कार गरी बस्न खोजे। त्यसपछि उद्घोषकले पुन आग्रह गरे-कृपया हातमा हात समाएर हातलाई माथि उठाउनुहोला।

त्यसपछि अर्जुननरसिंह केसीले रामचन्द्र पौडेलको हात समाए। त्यसैगरी पौडेलले प्रकाशमानको हात र प्रकाशमानले सिटौलाको हात समाउँदै हात माथि उठाए। 

केसीको ठीक दाहिनेपट्टि नवीन्द्रराज जोशी थिए। उनी बसिसकेकाले केसीले हात दिए पनि नसमाइ बसे। यता गगन थापा र प्रदीप पौडेल मुसुमुसु हाँस्दै बसिरहेका थिए।

उनीहरु नउठेपछि नेविसंघका कार्यकार्ताले पार्टीका नेताहरुले एकताको सन्देश नदिएको भन्दै खिन्नता व्यक्त गरेका थिए। पछिल्लो समय पार्टी एक हुनुपर्ने भन्दै भातृ संगठनहरुले विभिन्न ठाउँमा कार्यक्रम गर्दै आएको छ। यद्यपि, ती कार्यक्रमहरुमा अआफ्ना खेमाका नेताहरुलाई मात्र निम्तो दिने गरेको छ।

पौडेल, सिंह र सिटौला पक्षको कार्यक्रममा सभापति शेरबहादुर देउवा सहभागी हुँदैनन् भने देउवा पक्षको कार्यक्रममा यी तीनै नेता।

कार्यक्रम आयोजक काठमाडौं नेविसंघका अध्यक्ष मनोज वैद्य नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले पक्षधर भएकाले देउवाको उपस्थिति कार्यक्रममा भएन। नेविसंघका अध्यक्ष नैनसिंह महर देउवा पक्षका हुन्। काफ्लेलाई भने पौडेल, प्रकाशमानको साथ रहेको छ।



कांग्रेस एकताको सन्देश दिन 'हातमा हात मिलाएर उठ्न' आग्रह गर्दा युवा नेता नै नउठेपछि... को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट