PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोरियाको सपनाले कठघरातिर पुग्नेका कथा



सविन ढकाल

कोरियाको सपनाले कठघरातिर पुग्नेका कथा

काठमाडौं : पाँचथरबाट चार महिना अगाडिमात्र धनकुमार राई काठमाडौं आएका हुन्। सपनाको शहर काठमाडौंमा उनी पनि सपना नै साँचेर आएका थिए, अलि फरक रुपमा। त्यही सपना पूरा गर्न उनी रातदिन मेहनत गर्न थाले। 

धनकुमारको एउटै सपना थियो - कोरियन भाषा पढेर रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा पास गर्नु। उनी केही रकम बुझाएर भ्याली इन्सिच्युटमा भर्ना भए। चार महिनाको मेहनतपछि उनी परीक्षाको लागि तयार पनि भए।

मेहनतको फल नजिकिने समय आउँदै थियो। गत शनिवार उनी इपिएसको परीक्षा दिन कालोपुलमा रहेको जेभियर इन्टरनेसनल कलेज पुगे। परीक्षा दिन हल भित्र छिरे। परीक्षाको प्रश्नपत्र हात पर्योप। लेख्न थाले। तर, परीक्षा सुरु भएको केही समयमा नै उनी प्रहरीको नियन्त्रणमा परे। 

उनले गरेको मेहनत त आफ्ना लागि होइन रहेछ। आफ्नै दाजुको लागि नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेको अभियोगमा उनी समातिए। 

राईले भने, 'दाइको लागि परीक्षा दिन आएको थिएँ। दाइभन्दा कोरियन भाषा मैले धेरै जान्ने भएकाले पास गराउन परीक्षा दिएको हुँ।'

राई अहिले प्रहरी हिरासतमा छन्। उनका दाजु भने इलाममा शिक्षण पेशा गरेर बसिरहेका छन्। उनले भने, 'दाइ लोकसेवाको पनि तयारी गरिरहनु भएको छ। नेपालमा अवसर र रोजगारी नै छैन। अनि के गर्नु त?'

२८ वर्षीय टीका लिम्बुको पनि कथा उस्तै छ। आफ्नै भिनाजुको परीक्षा दिँदै गर्दा उनी पनि पक्राउ परे। भिनाजुले परीक्षा पास नगर्ने क्षमता थिएन। कोरियामा राम्रो आम्दानी भएकाले दिदी र भिनाजुको भविष्य सपार्न खोज्दा उनले आफ्नै चरित्रमा दाग लगाए। उनले भने, 'भिनाजुको भविष्य राम्रो होला भनेर परीक्षा दिन आएको आफैँ फसियो।'

प्रहरी हिरासतमा रहेका धेरैको कथा यस्तै छ। कोही दाइको, कोही भाइ, कोही भिनाजुको परीक्षा दिन आएका थिए। पारुहाङ राईले पनि पाँच महिनादेखि दाजुकै लागि मेहनत गरेर पढे। अन्तत उनी पनि प्रहरी फन्दामा नै परे। दाइलाई पास गराएर पछि आफू पनि जाने योजना थियो। ‘दुवै जना जान पाए राम्रो होला भन्ने लागेर हो,' राईले सुनाए।

डिग्री पढ्दै गरेका जगदेव कृषि पेशामा छन्। उनले केही समय अगाडि कोरियन भाषा समेत पढेका थिए। उनी भाषामा निपूर्ण नै थिए। गाउँकै एक जना भाइले परीक्षा दिएर पास भए केही पैसा दिने लोभ देखाए। पैसाको लोभमा उनी गाउँले भाइको परीक्षा दिन काठमाडौं आए। तर, उनले कसैको आँखा छल्न सकेनन्। उनी, पनि प्रहरी हिरासतमा पुगे। 'पैसाको आशमा नक्कली परीक्षार्थी हुँदा फन्दामा परेँ,’ उनले सुनाए।

महानगरीय प्रहरी परिसर काठमाडौँले १ सय ८४ जनालाई पक्राउ गरेको छ यिनीहरुजस्तै नक्कली परीक्षार्थीलाई। नातागोताको परीक्षा दिनेदेखि रकम लिएर परीक्षा दिनेसम्म समातिएको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। उनले भने, '८ लाख रुपैयाँसम्म तिरेर परीक्षा दिन लगाएको भेटियो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell