PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कस्तो छ सलमानको बहुप्रतिक्षित फिल्म रेस ३?



पहिलोपोस्ट

कस्तो छ सलमानको बहुप्रतिक्षित फिल्म रेस ३?

काठमाडौं : सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्सले भोलि शनिबार काठमाडौंमा मात्रै ३२ सो राखेको छ सलमान खानको फिल्म रेस ३ का लागि।
 
तीनवटा स्क्रिन रहेको बिग मुभिजले इद लक्षित गरेर रिलिज भएको फिल्मका लागि १३ सो राखेको छ। क्युज सिनेमाजले सबै सो रेसकै लागि दिएर बाँकी फिल्मलाई रेसबाहिर पुर्‍याएको छ। एफक्युले १५ सो रेसका लागि छुट्याएको छ थ्रीडीसहित।

सबैभन्दा धेरै बिजनेस गर्ने मल्टिप्लेक्सहरुमा फिल्म रेसले बाँकी सबै फिल्मलाई पाखा लगाएको छ। बलिउडका दबङ ब्रान्ड सलमान खानको क्रेजकै कारण यो फिल्मले ठूलै कारोबार गर्ने अपेक्षा पनि गरिएको छ। कमाउनु फिल्म सफल भएको ठहर गर्ने सिक्काको एउटा पाटोमात्रै हो। अर्को पाटो हो, फिल्म राम्रो हुनु। 
 

रेस ३ कस्तो फिल्म हो त?

बक्स अफिस र प्रमोसनकै आधारमा भन्ने हो भने यो सफल फिल्म हो। त्यसमा सलमान खानको ब्रान्ड थप्ने हो भने सुपर सक्सेस यसका लागि ठूलो कुरा होइन। तर, समीक्षकको दृष्टिकोणलाई आधार मान्ने हो भने सलमान खानको बहुप्रतिक्षित रेस ३ एउटा कमजोर फिल्म हुनसक्छ।

बलिउडमा सलमान खान यस्तो ब्रान्ड हुन् जसका कारण फिल्म चल्छ। फिल्म राम्रो हुनु वा नहुनु त्यसपछिको विषय। नेपाली मल्टिप्लेक्सहरुले यो फिल्मलाई जसरी ठाउँ दिएका छन् त्यसले पनि बयान गर्छ सलमानको क्रेज। तर, रेस ३ माथि बलिउडका समीक्षकहरु त्यति उदार देखिएनन् जति सलमान खानका फिल्ममा यसअघि हुने गर्थे।

कर्पोरेट फिल्मलाई प्राय काँध थाप्ने बलिउड हङ्गामाले रेस ३ लाई २ स्टार दिएको छ। बलिउड हङ्गामाले सलमान खानको फिल्मलाई यति कम स्तर दिनु आफैँमा अनौठो विषय हो। रेस र रेस २ को दाँजो यो फिल्म नरहेको बलिउड हंगामाले जनाएको छ। रेस ३ मा सैफअलि खान छैनन् न त निर्देशक अब्बास मस्तान नै। यिनीहरुकै अनुपस्थितिले फिल्म कमजोर भएको समीक्षामा उल्लेख छ। फिल्ममा मनोरञ्जन भ्यालु गुमेको छ। समीक्षामा फिल्मका वितरकहरु डुब्नेसमेत भनिएको छ।

बलिउड हङ्गामालेसमेत २ स्टार दिएको फिल्मलाई हिन्दुस्तान टाइम्सले कति स्टार देला? तपाईँले सहि अनुमान गर्नुभयो। हिन्दुस्तान टाइम्सले रेमो डे’सुजा निर्देशित फिल्मलाई पाँचमा १ स्टारमात्र दिएको छ। ‘रेस ३ मा त्यस्तो गरिएको छ जुन फिल्म पढिरहेका विद्यार्थीहरुलाई नगर्न सिकाइन्छ,’ रिभ्युमा भनिएको छ।

टाइम्स अफ इन्डियाले फिल्मलाई २.५ स्टार दिएको छ। ‘फिल्ममा सबै कुरा छ – कार क्र्यास, बिस्फोट, कम्ब्याट, क्याट फाइट, ड्राइभिङ स्टान्ट,’ रिभ्युमा लेखिएको छ, ‘हो फिल्ममा धेरै धुँवा र आगो छ तर यथार्थ धार छैन न कथामा न पर्फर्मेन्समा।’

इन्डियन एक्सप्रेसले पनि लो रेटिङ गरेको छ फिल्मलाई। १.५ स्टार पाएको फिल्मलाई ‘दिक्क लाग्दो’ भनेको छ। ‘फिल्ममा केही छैन सिवाय धेरै कार क्र्यास, बिस्फोट र स्टन्टको पुनरावृतिबाहेक,’ समीक्षामा लेखिएको छ। 

सलमान खानको फिल्म रिभ्युले चल्ने होइन। तर, ट्रेस एनलिस्टका रुपमा रहँदै आएको बलिउड हंगामाले फिल्मका बितरकले घाटा बेहोर्न पर्ने बताएको छ। मास अडियन्सबीच फिल्म चल्न पनि सक्छ तर सलमानको क्रेजलाई यसअघिको टाइगर जिन्दा है जति कायम भने गर्न नसक्ने ठहर सबै समीक्षामा देखिन्छ। समीक्षामा जे भए पनि सलमानका डाइ हर्ट फ्यान फलोइङ यति छ कि फिल्म झुर हुँदाहुँदै पनि पैसा बटुल्न पछि पर्दैन। तर, के यसपाला पनि त्यो क्रम जारी रहला? त्यसको लागि विकेन्डमात्र होइन, त्यसपछिको ट्रेन्ड रिपोर्ट हेर्नै पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell