PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

'थुक निलिस्? नयाँ लुगा छैन' : नाजिरका स्मृतिमा रोजाका दिन


स्वेच्छा राउत/पहिलोपोस्ट

'थुक निलिस्? नयाँ लुगा छैन' : नाजिरका स्मृतिमा रोजाका दिन
काठमाडौ : 'तैँले थुक निलिस्? अब तेरो रोजा सक्यो। तेरो कामना पूरा हुँदैन,' दाजुले यस्तो भन्नासाथ उनी आतिन्थे। र, हत्तपत्त थुक ननिलेको तर्क गर्थे। तर थुक त निलिएकै थियो। अरुका अगाडि ढाकछोप गरे पनि आफूलाई त थाहा थियो।

उनलाई लाग्थ्यो – 'बरु घरमै बसेको भए बुबाले थुक ननिल्न सम्झाइरहनु हुन्थ्यो। त्यत्रो दिन भोकै बसेर गरेको कामना योपटक पनि पूरा नहुने भयो। यसपटक पनि नयाँ लुगा नपाइने भो।'

उनी अर्थात नाजिर हुसेन। नेपाली फिल्मका उम्दा कलाकार।


बाल्यकालको रमाजान र अहिलेबीच आकाश पातलको अन्तर भइसक्यो। अहिले चाहेर पनि उनी एक महिना भोको शरीर लिएर काम गर्न सक्दैनन्। 

'रोजा बस्नुको मज्जा बेग्लै छ। धर्मप्रतिको विश्वास बेग्लै। तर शरीरले नै नसक्ने भएपछि अवस्था फरक हुँदो रहेछ,' परिवारसँगैको रोजा सम्झँदै नाजिर भन्छन्, 'परिवारको सबैसँगै भोकै बस्नु, सँगै पकाएर खानु सबै रमाइलो लाग्थ्यो। एक्लै त कहाँ रमाउन सकिँदो रहेछ र?'  यसपटक उनी नाटक 'दी अग्ली डकलिङ' लिएर पोखरा पुगेका छन्। त्यहाँ उनी रोजा बसिरहेका छन् नै स्कुले विद्यार्थीलाई नाटक पनि देखाइरहेका छन्।

उनी परिवारसँग बसेर तीन वर्षको अन्तरालमा गत वर्ष इद मनाए। 'घरमा गएर इद मनाउन पाउनु भनेको त रोजाका पुराना दिनहरु सम्झिएर खुशी हुनु हो,' उनले भने।

नाजिरले आफ्नो पुराना दिनहरुको सम्झना नोस्टाल्जिक हुँदै सेयर गरे।

'एक महिनाभर रोजा बसेर गरेको कामना अल्लाह मालिकले अवश्य पूरा गर्नुहुन्छ,' यही विश्वासका कारण भोकले आन्द्रा ख्याप्प बनाउँदासम्म पनि मुखमा आएको थुक फालिदिन्थे हुसेन। उनी रोजा महिनाभर दाइ दिदीहरुको लहलहैमा गोठालो जानुको मज्जा सम्झन्छन्। नाजिर आमाको गाली खाएरै बस्तु चराउन जान्थे। गोठालो साथीहरुको भिडमा गफ गर्दा गर्दै घाँटी चलको देखे उनको दाइले भन्थे, 'थुक निलिस् अब अल्लाह मालिकले तेरो कुरा सुन्दैनन्।‘ 



नाजिर डराउँथे। उनलाई लाग्थ्यो, 'रोजामा नखाई गरेको कामना पूरा हुन्छ। लाग्थ्यो मैले झुक्किएर निलेको थुकले गर्दा रोजा बिग्रिएको हो,' नाजिरले आफू डराउनुको कारण सम्झिए।  

हरेक वर्ष रोजामा बा-आमाले स्कूलको नयाँ ड्रेस किनिदिन्थे। त्यसैले उनीसँग स्कूलको ड्रेसको कहिल्यै अभाव भएन। तर उनलाई रहर थियो ड्रेस बाहेकको नयाँ लुगा लगाउने। उनी रोजा भर भोक सहेर नयाँ लुगाकै आश गर्थे। 
भोको बसेर मात्र कहाँ हुन्थ्यो र? 

'ए उठ उठ नमाज पढ्न जाने बेला भयो,' हरेक बिहान यसै गरी बुबा कराएपछि उठ्थे नाजिर हुसेन र उनको दाजु। ४/५ बजेनै जुरुक्क उठ्ने, नित्यकर्म सक्काउने र बाबाको पछिपछि लाग्ने। बाराको स्याउलेबाट सिमरासम्म। नाजिरको गाउँमा ५/६ घर मात्र मुस्लिम परिवारको थियो। र, उनको छिमेकी गाउँ बेरीमा अर्को ५/६ मुस्लिम परिवार। सबै परिवारका सदस्यहरु एक झुण्ड बन्थे र सिमरामा रहेको मस्जिदसम्म जान्थे। नमाज पढ्न। गाडी थिएन, पैदलै।

नमाज पढेर फर्कने, स्कूल जाने, घर फर्कने र बेलुकी घाम नअस्ताएसम्म मुखमा पानी पनि हाल्न नहुने नियमको उनले सधै भद्र पालना गरे। भन्छन्, 'घरमा रहुन्जेल बाबाले सम्झाइरहनुहुन्थ्यो केही खाएको त छैनस् नि? स्कूलमा दाइले। त्यसैले पनि धेरै रोजामा थुक समेत ननिली अल्लाह मालिकसँग के के मागेँ के के।' 

बिहान- बेलुका दत्युनले दाँत माझेर सुरु हुने दिन। घाम अस्ताएपछि अदुवा र नुन खाएर रोजा तोड्ने चलन। बीचको समय पूरै निराहर। 
निराश त तब हुन्थे जब रोजामा पाइने नयाँ लुगाको झोलामा स्कूलको सर्ट र पाइन्टको कपडा देख्थे। 'दाइले जिस्काउँदै भन्नुहुन्थ्यो, देखिस् तैंले थुक निलेर तेरो कुरा मालिकले नसुनेको। तर, मलाई जति जिस्काए पनि उसले पनि त्यही स्कूलको ड्रेस नै पाउथ्यो,' यति सुनाउदा उनी केही जिते सरह खुशी देखिए। 

अल्लाहले आफ्नो कुरा नसुनेपनि उनलाई रोजाको समय घर परिवार र आफन्तमा हुने रौनक निकै मनपर्थ्यो।

'मिहेनत गरेर घर चलाउने परिवारको लागि सबैजना एकै ठाउँ बसेर सुख, दु:खका कुरा गर्ने मौका बिरलै मिल्थ्यो।' 

उनी सम्झन्छन् परिवारको सबै सदस्य मिलेर रोजामा घरको कुना कुना सफा गरेको, सुर्य अस्ताएपछि र अस्ताउनु अघिका लागि पकाइएको तरुवा, करी, बरी, बिर्यानी र मासुका अनेक परिकार। नाजिरलाई लाग्थ्यो रोजा नखानको लागि होइन, दिन भर पर्खिएर रातमा मिठामिठा परिकार खानको लागि हो। 
'

हरेक वर्ष नयाँ जिन्स पाइन्ट र टिसर्ट नपाएपछि उनी निराश भएका थिए। उनलाई भोको बसेर केही पाइन्छ भन्ने लाग्न छोडेको थियो। 
कक्षा पाँचमा पढ्दाको एक घटना। रोजाको समय थियो। एकदिन उनी स्कूल गएका थिए। रोजाको समय घर गएर पनि केही खान नपाइने भएकाले उनी टिफिन टाइममा पनि स्कूलमै बसे। उनलाई भोकले यसरी सताएको थियो कि उनी खेल्न जान समेत आँट गरेनन्। कक्षामा हिन्दु साथी थियो शतेन्द्र तिवारी। उसले खाजा ल्याएको थियो। दुई रुपैंयाको मुरई र एक रुपैंयाको पकौडा। 
'मिल्ने साथी थियो मैले फकाएर भने, म पनि तँसँगै खाजा खान्छु कसैलाई नभन् न है?' 

तिवारीलाई पनि सायद साथीको माया लाग्यो। बाल्यकालको सम्झन लायक क्षणहरुमा उनी यो घटनालाई पनि मान्छन्। भोक मेट्दै गर्दाको सन्तुष्टि र बाबाको गाली खाने डर एकैसाथ अनुभूति गरेका थिए उनले। 

तर, सबै साथीहरु शतेन्द्रजस्ता कहाँ थिए र? अल्पसङ्ख्यक मुस्लिम समुदाय भएको गाउँमा हिन्दु साथी धेरै थिए उनका। उनलाई चित्त दुख्थ्यो जब स्कूलमासँगै बस्ने साथीहरु भन्थे, 'तँ मुस्लिम होस् हाम्रो घरभित्र नपस्दे है।' नाजिर केही बोल्न सक्दैनथे। उनी मुस्लिम नै थिए। र, साथीको घरभित्र पस्न नपाउने नियम आफूले परिवर्तन गर्न सक्दैनथे। अझ धेरै त मुस्लिम समुदायकै साथीहरुको बचनले दुखाउँथ्यो। भन्थे, 'तँ त पहाडीया मुस्लिम होस्।' 

यहाँ पनि उनको हकमा चुप लाग्नुको बिकल्प हुँदैन थियो। किनकि उनलाई थाहा थियो उनकी आमा मिना बेगम मुस्लिम होइनन्। 
सामाजिक अवस्था त उस्तै नै थियो। चाहेर पनि परिवर्तन गर्न नसकिने। हरेक धर्मको मान्यता फरक थियो। ती मान्यताहरुको सूचीमा उनले मुस्लिम भएकै कारण हिन्दु साथीको घरमा छिर्न नपाउनु एक। तर, उनको परिवारले भने सधैं धार्मिक सद्भाव र सम्मानको पाठ पढायो। किनकि बुबा मोहम्मद इसाख हुसेन मुस्लिम भए पनि आमा मिना बेगम हिन्दु। भने, 'त्यसो हुँदा पनि मेरो बाबाले मम्मीलाई धर्म परिवर्तन गर्न लगाउनु भएन। र मम्मीले पनि कहिल्यै रोजा बस्दिन भन्नु भएन।' 



जादुगर हुन् हुसेनका बुबा एमडिआइ हुसेन। त्यसअघि नेपाल पुलिसको जागिरे। उनको काठमाडौं पोस्टिङ भएको थियो। त्यसै बेला सामाखुसीमा आफू डेरा गरेर बसेको घर नजिकै देखिएकी युवतीसँग उनको प्रेम बस्यो र उनीहरुले विवाह गरे। ती युवती थिइन् मीना। 'मेरो मम्मीले दशैं तिहार पनि मनाउनु हुन्थ्यो र रमाजान पनि। त्यसैले मलाई धर्मबीचको फरक कहिल्यै महसुस नै भएन।' 

नाजिर अहिले धर्मलाई सकारात्मक काम र विश्वासको रुपमा व्याख्या गर्छन्। भन्छन्, 'धर्म एउटै हुन्छ अपनाउने तरिका फरक हो। त्यसैलाई धर्मलाई आधार बनाएर विभेद बढाउनु हुन्छ जस्तो लाग्दैन।'

उनी बाल्यकालमा लहलहैमा लागेर नयाँ लुगा पाउने आशामा रोजा बस्थे। तर अहिले कमाउँछन् राम्रै। 'काम गर्न शरीर स्वस्थ चाहिन्छ र स्वस्थ रहन खाना,' उनले सुनाए। सँगै उनी यो पनि संकेत गर्न बिर्सदैनन् कि अल्लाह मालिकप्रतिको उनको विश्वास अलिकति पनि डगमगाएको छैन। ( १२ असार २०७४ मा पहिलो पटक प्रकाशित)



'थुक निलिस्? नयाँ लुगा छैन' : नाजिरका स्मृतिमा रोजाका दिन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट